पथरीशनिश्चरे । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष खड्गप्रसाद ओलीले ५ वर्ष भित्रमा मुलुकको सुकुम्वासी समस्याको स्थायी समाधान गर्ने बताएका छन ।

बुधबार बिहान मोरङको पथरीशनिश्चरेमा पार्टीले आयोजना गरेको भेटघाटमा उनले यो कुरा बताईरहँदा ३४ साल देखि सुकुम्बासी समस्या भोग्दै आएका सुकुम्बासीले ओलीलाई भने भेट्न पाएन्न । सुकुम्बासी संघर्ष समिति पथरीशनिश्चरे नगर समितिले प्रधानमन्त्री ओलीलाई तत्काल समस्याको स्थायी समाधान खोज्न माग गर्दै प्रदर्शन गरेका छन् । सुकुम्वासीका अभियन्ता मौसम लिम्बूको नेतृत्वमा हातमा प्लेकार्ड र ज्ञापनपत्र लिएर निस्किएका युवाहरूले प्रधानमन्त्रीलाई ४० वर्ष देखिको समस्या राख्न खोज्दा प्रहरीले हस्तक्षेप गरेको थियो ।प्लेकार्डमा ‘जोत भोग तथा भोग चलनको आधारमा धनीपूर्जा वितरण गर , समपूर्ण सुकुम्बासीहरू एक जुट हौं लगायतका प्लेकाड लेखिएको थियो । मोरङको पथरीशनिश्चरे १ मा नेकपा पथरीशनिश्चरे नगरसमितिद्वारा आयोजित बधाई ,शुभकामना तथा वृहत कार्यकर्ता भेला कार्यक्रममा ओलीले कार्यकर्तालाई सम्बोधन गर्दै । सुकुम्बासी समस्या राष्ट्रिय समस्या भएकोले यसको दिगो समाधान यही सरकारले गर्ने बताए ।कृषि उत्पादन बढाउन किसानलाई तालिम दिनुपर्ने उल्लेख गर्दै उनले माध्यमिक शिक्षा अनिवार्य र निशुल्क बनाउन सरकार दृढ संकल्पित रहेको बताए । लोपोन्मुख,गरिव र पछाडि परेका सबै जात जातिका लागि उच्च शिक्षा निशुल्क हुनेमा जोड दिँदै प्रधानमन्त्री ओलीले भने–‘न्यूनतम मापदण्ड पुरा गर्नुप¥यो, मेहनत गरेर प्रतिस्र्धामा आउन सक्नुप¥यो ।

प्रधानमन्त्री ओलीले भने – तपाईहरूले छानेका निर्वाचित जनप्रतिनिधिहरूबाट विचलित हुनु पर्दैन् । उनले केही समय पर्खन आग्रह गर्दै आफू जादूको छडि नभएको प्रष्ट पारे । पृथ्वीमा पानीको सतह घटेकोले भएका पानीका स्रोतलाई समयमा नै रिचार्ज गर्नु पर्नेमा जोड दिँदै उनले पृथ्वीलाई सुख्खा हुन बाट जोगाउनु पर्ने उल्लेख गरे ।

लोकतन्त्र ठगी खाने ब्यवस्था नभएको भन्दै मुलुकको विकास र समृद्धि आफ्नो सङ्कल्प भएको बताए । साना तिना समस्या सुनाउन प्रधानमन्त्रीलाई कुर्नु नपर्ने बताउँदै उनले गाउँपालिका र नगरपालिकालाई सुनाए त्यहीँबाट हामीले जानकारी पाउने उल्लेख गरे । सरकार जनता कै हो , जनता कै काम गर्न हामी सरकारमा गएका हौं, सरकारले भ्रष्टाचार गर्दैन तर, भ्रष्टाचार गर्नेलाई मुख हेरेर छोड्दैन, उनको भनाई थियो । ओलीको अधिकांस भाषणमा उखान टुक्का भएकाले भाषणमा कार्यकर्ताको हाँसोले सभा गन्जयमान भएको थियो ।

कार्यक्रममा उर्जामन्त्री वर्षमान पुनले हिजो राजनीतिक संक्रमणले मुलुकले विकास पाउन नसकेको बताए । दुईवटा कम्युनिष्ट पार्टी मिलेर शसक्त पार्टी निर्माण भएको उल्लेख गर्दै मन्त्री पुनले यो सरकारले नेपाली जनताका समस्याको स्थायी समाधान गर्ने बताए ।

कानून, न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालले पथरीशनिश्चरे नगरपालिकाको वार्ड नं. १० मा रहेको १०८ विगाहा जग्गामा सांस्कृतिक संग्राहालय बनाउने सरकारको कार्यक्रम रहेको बताए ।मन्त्री भएपछि पहिलो पटक आफनो क्षेत्रमा आएका मन्त्री ढकालले डाँस र बक्राहा खोलाको कटान समस्या स्थायी रुपमा समाधानका लागि आफू क्रियाशील रहेको बताए । उनले भने–बिरोध र द्वन्द्वबाट समस्याको समाधान निस्कदैन् , समस्या समाधानका लागि नागरिक सुझाव लिन सरकार तयार छ ।

प्रदेश नं. १ का मुख्य मन्त्री शेरधन राईले नेपाली राजनीतिलाई समृद्धिको अभियानमा डो¥याउन नेकपाले नेतृत्व गरिरहेको बताए । उनले अबको एजेण्डा विरोध ,द्वन्द्व र अराजकता नभई बिकास मात्र भएको बताए । नेकपाका पथरीशनिश्चरे संयोजक मोहनकुमार तुम्वापोको सभापतित्वमा भएको वृहत कार्यकर्ता भेलामा पथरीशनिश्चरे नगरपालिकाका नगरप्रमुख दिलिपकुमार राईले प्रधानमन्ँत्रीलाई ज्ञापन पत्र बुझाएका थिए ।

तपाईको प्रतिक्रिया