संखुवासभाको खाँदबारी नगरपालिका ९ तुम्लिङटार क्षेत्रमा सिंचाई गर्नका लागि सुरु गरिएको अरुण नदिबाट लिफ्टिङ सिंचाई योजनाको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । अरुण नदीको पानी लिफ्टिङ प्रणालीबाट तुम्लिङटार ल्याउने काम सम्पन्न हुन लागेको उपभोक्ता समितिले जनाएको छ ।
दुई महिनाअघि सुरु गरिएको आयोजनाको हालसम्म ईनार निर्माण, तुम्लिङटारमा ट्याङ्की निर्माण, पाईप जडान, पम्प सञ्चालन गर्न सोलार जडान लगायतका काम सम्पन्न भईसकेको छ । अरुण नदिबाट तुम्लिङटार स्थीत पानी ट्याङ्कीसम्म ९ सय ५० मिटर पाईप जडान गरिएको र ट्याङ्कीमा पानीको सफल आपुर्ती परिक्षण समेत भईसकेको उपभोक्ता समितिका अध्यक्ष डेगराज बस्नेतले बताए ।

अरुण नदिको किनारमा विद्युत नपुगेको कारण २० किलोवाटको सौर्य उर्जा जडान गरि पानी तान्ने पम्प जडान गरिएको सोलार कम्पनीका प्राविधिक राजेन्द्र केशीले बताए । सामान्य प्रकाशबाट पनि बढी उर्जा निकाल्ने ‘भेरिएबल फ्रिक्वीन्सी ड्राईभ’ प्रविधी जडान गरिएकोले थोरै घाम लाग्दा पनि जडित सौर्य विद्युत प्रणालीले राम्रो विद्युत उत्पादन हुने पा्रविधीक केशीले बताए ।

करिब एक करोड रुपैयाँको लागतमा सिंचाई डिभिजन कार्यालय संखुवासभाद्वारा प्राप्त भएको यस आयोजनाबाट दुई सय रोपनी जमिन बाह्रै महिना सिंचित हुनेछ । दुई सय रोपनी क्षेत्रफल जमिनको लागि सय वटा धारा जडान गरिने उपभोक्ता समितिले जनाएको छ ।
हिउँद महिनामा सुख्खा रहने तुम्लिङटार क्षेत्रमा बाह्रै महिना सिंचाईको ब्यवस्था हुन लागेपछि स्थानीय कृषकहरु उत्साहित बनेका छन् ।

तपाईको प्रतिक्रिया