मदन अधिकारी/प्रकाशपुर सुनसरी जिल्लाको बराहक्षेत्र नगरपालिकाबाट विगत १ वर्षदेखि निरन्तर स्थानीय विकास, सु–शासन र जनचासोमा समर्पित रहँदै प्रकाशनमा आएको वराह खबर पत्रिकाले आफ्नो वार्षिक उत्सव कार्यक्रम सम्पन्न गरेको छ । नेपालकै प्राचिन हरिद्धारका नामले परिचित कुम्भनगरी चतरा स्थित श्री रामानन्द पीठको सभाहलमा सो कार्यक्रम सम्पन्न भएको हो । नेपाल पत्रकार महासंघ १ नं। प्रदेशका अध्यक्ष विक्रम लुइटेल प्रमुख अतिथि रहनु भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ सुनसरी जिल्ला अध्यक्ष अमर खड्का, बराहक्षेत्र नगरपालिका उप–मेयर कमला मगर, नेपाली कांग्रेसका संयोजक बाबु राम बिष्ट, आदर्श माध्यामिक विद्यालयका प्रानाध्यापक प्रह्लाद भट्ट– राई, महेन्द्र नगर प्रहरी प्रमुख जीवन तामाङ्, शसस्त्र प्रहरी चतरा इलाका प्रमुख द्रोण ढकाल, लगायत विशिष्ट अतिथि रहनु भएको थियो ।
कार्यक्रममा ५ फरक पृष्ठभूमीका व्यक्तित्वहरुलाई समेत सम्मान गरिएको थियो । २०१० साल देखि बराहक्षेत्रको गरिमालाई लेखन तथा साहित्यबाट राष्ट्रिय रुपमा परिचित गराउन अहोरात्र मेहनेत गर्नुहुने कुम्भ नगरीकै जिउँदो इतिहाँस कवि मान बज्राचार्य सम्मानित हुनेहरुमा सुनसरी जिल्लाकै प्रथम नायक तथा पूर्व राष्ट्रिय खेलाडी श्याम कट्वाल, विगत २३ वर्षदेखि पत्रकारीता क्षेत्रमा कलम चलाइ २०७० सालबाट सुनसरीको ग्रामिण इलाका साविक महेन्द्रनगरबाट कोशी सम्मान साप्ताहिक पत्रिकाको सम्पादक तथा प्रकाशकको रुपमा पत्रकारीता क्षेत्रमा कृयाशिल हिरण्य कार्की, नेपालकै होची भनि दावि गरिएकी सुनसरी जिल्ला प्रकाशपुर निवासी कल्पना कविरथ, नेपालकै एक मात्र एक हातले तालि बजाउने कलाकार तथा सम्मृद्ध बेलका साप्ताहिकका प्रकाशक भरत घिमिरे, सम्मानित हुनु भएको थियो ।
वराह खबर पत्रिकाका सम्पादक बिजय कुमार राउतको सभापतित्व रहेको सो कार्यक्रमको सञ्चालन सह–सम्पादक सन्तोष चौलागाइले गर्नु भएको थियो । कार्यक्रममा मन्तव्य राख्दै प्रमुख अतिथि लुइलेटले राज्यले पत्रकारहरु माथि हस्तक्षेप गरेको बताउनु भयो । पत्रकारले फोटो खिचाउनका लागि अनुमती लिनुपर्ने जस्तो व्यवस्था प्रजातान्त्रीक व्यवस्थामा शोभनीय नहुने उहाँले बताउनु भयो । यसका लागि समग्र पत्रकारहरु एकजुट भएर दवाव दिएको बताउदै लुइटेलले मुलुकी ऐनमा त्यस्तो कानुन अशोभनीय हुने तर्क गर्नु भयो । उहाँले वराह खबर यस्तो ग्रामिण इलाकामा पनि निरन्तर प्रकाशन हुनु निकै संघर्ष पूर्ण कार्य रहेको तर्क गर्नुभयो । स्थानीय निकायले पनि मोफसल बाट प्रकाशन हुने पत्रिकालाई टिकाइ राख्ने वातावरण तयार गर्नु पर्ने बताउनु भयो । उदयपुरको बेलका नगरपालिका, गाइघाट नगरपालिकाले स्थानीय सञ्चार माध्यमको स्थायित्वका लागी खेलेको भूमिकालाई बराहक्षेत्र नगरपालिकाले सिको गर्नु पर्ने लुइटेलको धारणा थियो ।
कार्यक्रममा मन्तव्य राख्दै सुनसरी जिल्ला पत्रकार महासंघ अध्यक्ष कमर खड्काले पत्रिका को निरन्तरताको कामना गर्नुभयो । उहाँले स्थानीय ग्रामिण भेगमा दैनिक पत्रिका निकाल्नु आफैमा चुनौतीपूर्ण रहेको बताउँनु भयो । खड्काले कुनै समय यस क्षेत्रमा समाचार लिन कहिले काहीँ पत्रकार आउने, आएपनि यथेष्ट जानकारी नहुने जस्ता समस्याले बराहक्षेत्र, बेलका सधै ओझेलमा परेको स्मरण गर्दै वराह खबर प्रकाशनमा आएपछी यहीँका पत्रकारले समाचार सम्प्रेषण गर्दा निर्विवादित, निष्पक्ष समाचार सम्प्रेषण भइरहेको बताउनु भयो ।
मन्तव्यकै क्रममा बराहक्षेत्र नगरपालिका उप–प्रमुख कमला मगरले पत्रिकालाई शुभकामना व्यक्त गर्नु भएको थियो । आफ्नो नगरपालिकामा नगरपालिका संगै स्थापना भएको वराह खबर र नगरपालिका दुवै अभ्यासको क्रममा रहेको बताउनु भयो । कतिपय नगरपालिकाको नजरमा नपरेका विषयवस्तु समेत पत्रिकाले समाजमा ल्याइ नगरपालिकाको ध्यानाकर्षण गराउनु सक्नु पत्रिकाको सबल पक्ष भएको मगरको तर्क थियो ।
बेलका नगरपालिकाको तर्फबाट मन्तव्य राख्दै नगरपालिकाका मुख्य सल्लाहाकार नारद निरौलाले आफ्नो, नगरपालिको तथा मेयरको तर्फबाट एकमुष्ट शुभकामना व्यक्त गर्नु भएको थियो । उहाँले बराहक्षेत्रबाट प्रकाशन भएर पनि बेलका नगरपालिकालाई समेत कर्मथलो बनाएर बेलका नगरपालिका सूचनाको क्षेत्रबाट पछी परिरहेको अवस्थामा नगरका समाचार सम्प्रेषण गरि धन्यवादको पात्र भएको धारणा राख्नु भएको थियो ।
मन्तव्य राख्दै नेपाली कांग्रेसका बराहक्षेत्र संयोजक तथा नेपाली कांग्रेस महासमिति सदस्य बाबु राम बिष्टले अहिलेको सरकारले पत्रकारीता क्षेत्रमा लगाएको हतकडी प्रति पत्रकारहरु सजक हुनुपर्ने बताउनु भयो । उहाँले बराहक्षेत्रबाट पहिलो पटक प्रकाशनमा आएको वराह खबर पत्रिकाको संरक्षणमा स्थानीय सरकार तथा सबै संघ संस्थाले टिकाउनका लागि आर्थिक भौतिक तथा नैतिक सहयोग गर्नु पर्ने धारणा समेत राख्नु भएको थियो । बिष्टले तानाशाही शैलीमा कम्मनिष्ट सरकारले ल्याएका कतिपय मुलुकी ऐन तथा अव्यवहारीक रुपमा बृद्धि गरेको कर निन्दनिय रहेको समेत धारणा राख्दै यसको नेपाली कांग्रेसले विरोध गर्ने बताउनु भयो ।
मन्तव्यकै क्रममा आदर्श माध्यामिक विद्यालयका प्रधाना– ध्यापक पह्लाद भट्टराइले पत्रिकाहरु गल्तीको, खल्तीको र चल्तीको हुने बताउनुभयो । जहिले पनि गल्तीमात्र भएको देख्ने र गल्ती मात्र देखाउने पत्रिकालाई गल्तीको, जहिले पनि कुनै समुदाय, सम्प्रदाय,दल विशेषको मात्र प्रशंसा गर्ने, गुणगान मात्र गाउने पत्रिका खल्तीको र समाजमा हुने गरेका तीता मीठा तथा यथार्थ जान– कारी दिइ समाजलाई सुचित गराउने पत्रिका चल्तीको भएको बताउदै भट्टराइले वराह खबर यस ग्रामिण इलाकाको चल्तीको पत्रिका रहेको धारणा राख्नभयो ।
कार्यक्रममा सुनसरीकै प्रथम नायक श्याम कट्वालले स्थापनाको १ वर्ष वित्दा वराह खबरले समुदायमा खेलेको रचनात्मक भूमिकालाई स्थानीयले बुज्नुपर्ने बताउनु भयो । एक हातले तालि बजाउने नेपालकै एक मात्र कलाकार भरत घिमिरेले वराह खबरको श्री वृद्धिमा सम्पूर्ण स्थानीयले आ–आफ्नो तर्फबाट भूमिका खेल्नुपर्ने बताउदै एक हातले तालि बजाएर सबैलाइ चकित बनाउनु भएका थिए ।
कार्यक्रममा विशेष समय लिएर मन्तव्य राख्दै वराह खबरले धार्मिक, पर्यटन, शिक्षा, साहित्य जस्ता सम्पुर्ण प्याकेजहरु रहेको हुँदा यो पत्रिका पठनीय बनेको तर्क गर्नु भएको थियो । युवाहरु विदेशिने परिपार्टी उच्च रहेको वर्तमान समयमा वराह खबर भने युवाहरुले नै चलाउनु उदाहरणीय कार्य रहेको उहाँले बताउनु भएको थियो ।
कार्यक्रममा चतराको स्थानीय दिपशिखा डान्स सेन्टरले नृत्य प्रस्तुत गरि प्रचण्ड गर्मीमा शितलता प्रदान गरेका थिए भने बाल कलाकार अरुण बराइलीले क्यारिकेचर तथा गीत गाएर कार्यक्रममा उर्जा थपेका थिए । सो कार्यक्रमलाई दिपशीखा डान्स सेन्टरले नृत्य, रामानन्द पिठले सभाहल, औलिया बाबा संरक्षण मञ्चले कुर्सी, प्रगती युवा समूहले साउण्ड सिस्टम तथा देवीथान टोल सुधार समूहले नडाहाले जेनेरेटर सहयोग गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया