याम माबोहाङ लिम्बू
इलाम । नगरपालिकाको समग्र विकासमा लगानी गर्ने उद्देश्यले इलाम नगरपालिकाले लगानी सम्मेलन गर्ने भएको छ । यहि महिना भित्र सम्पन्न गर्ने लगानी सम्मेलनका लागि मिति नतोकिए पनि तयारी तिब्र पारिएको छ । सम्मेलनले लगानी स्रोतको पहिचान गर्दै नगरको समग्र विकासमा सहयोग पुग्ने नगर प्रमुख महेश बस्नेतले बताए ।
नगर भित्रका कृषि, विभिन्न साना तथा ठूला उद्योग, घरेलु उद्योग, स्वास्थ्य, शिक्षा, औषधिजन्य क्षेत्र, जडिबुटि, विद्युतमा लगानीको स्रोत जुटाउँन सम्मेलनले सहयोग गर्ने बताइएको छ । सम्मेलनमा नगर भित्रका लगानीका क्षेत्रहरूको बारेमा लगानीकर्तालाई जानकारी समेत गराइने छ ।
सम्मेलन सम्पन्न गर्न नगर प्रमुख बस्नेतको संयोजकत्वमा एक समिति समेत गठन गरिएको छ । समितिको सह–संयोजकमा उप–प्रमुख सुशीला नेम्वाङ, कृष्ण शाह र अर्जुन भट्टराई रहेको समिति गठन गरिएको बताइएको छ । समितिको सदस्य सचिव नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत रहने छन् । लगानीलाई आकर्षण गर्न प्रदान गर्न सकिने सहुलियतको नीति बनाउन प्रमुख प्रशासकिय अधिकृतको संयोजकत्वमा विज्ञहरू सम्मिलित उपसमिति पनि गठन गरिएको छ ।
सम्मेलनको तयारी तिब्र भएपनि स्थानको टुङ्गो भने लागि नसकेको नगर प्रमुखको भनाई छ । कतिपयले इलाममै सम्मेलन गर्न सुझाएको प्रमुख बस्नेतले जानकारी दिए ।

तपाईको प्रतिक्रिया