काठमाडौं – पारिवारिक, आर्थिक, सामाजिक, मुलुकको शान्तिसँग जोडिएको कानुनलाई मुलुकी ऐन भनिन्छ । त्यही मुलुकी ऐन संशोधन भएर भदौ १ गतेदेखि लागू हुँदै छ । भदौ १ गतेदेखि लागू हुने प्रक्रियामा रहेको ऐन तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणाले १९१० सालमा निर्माण गरेको ‘मुलुकी ऐन’ लाई प्रतिस्थापन गरी यो संहिता ल्याइएको हो । राणाले बेलायतको भ्रमणपछि प्रचलित धर्म, परम्परा, प्रचलन र रीतिलाई आधार बनाएर मुलुकी ऐन तर्जुमा गरेका हुन् । लागू भएको १६५ वर्षपछि यो ऐनलाई प्रतिस्थापन गरिएको छ । यद्यपि यो ऐनलाई २०२० सालमा संशोधन गरिएको थियो ।महान्यायाधिवक्ताको कार्यालयका अनुसार मुलुकी देवानी र मुलुकी अपराध संहिता लागू गर्ने तयारी रहेको छ ।

महान्यायाधिवक्ताको कार्यालयले केही दिनअघि एक पत्रकार सम्मेलन गर्दै भदौ १ गतेदेखि लागू हुने मुलुकी देवानी (संहिता) २०७४, मुलुकी अपराध (संहिता) ऐन २०७४, मुलुकी फोजदारी कार्यविधि (संहिता) ऐन २०७४ लागू गर्ने तयारी पूरा भएको जानकारी दिएको थियो ।

मुलुकी अपराध (संहिता) ऐन २०७४ बाट पनि ऐन नराख्ने गरी संशोधन गर्न लागिएको छ । मुलुकी फौजदारी कार्यविधि (संहिता) ऐन २०७४ को सट्टामा मुलुकी फौजदारी कार्यविधि संहिता भन्ने शब्द राख्ने गरी ऐन संशोधन गर्न लागिएको छ ।

फौजदारी कसुरसम्बन्धी संहिताको व्यवस्था गर्न संविधानको धारा २९६ को उपधारा (१) बमोजिमको व्यवस्थापिका संसद्ले २०७४ असोज ३० गते मुलुकी अपराध संहिता ऐन समयानुकूल परिमार्जन गरी जारी गरेको हो ।

यो संहिता तीन भागमा विभाजित छ । पहिलो भागको ऐनमा सामान्य प्रावधान समेटेका छन् । त्यसैगरी, दोस्रो भागमा फौजदारी कसुरहरू र सजाय रहेका छन् भने तेस्रो भागमा गोपनीयता र प्रतिष्ठाविरुद्धको कसुर र सजाय समेटिएका छन् ।

मुलुकी ऐनमा भएका केही नयाँ संशोधनमा कस्तो अपराध गरे कस्तो सजाय भोग्नु पर्छ भन्ने विषयलाई यहाँ चर्चा गरिएको छ ।

बहुविवाह गरे पाँच वर्ष जेल

विवाहित पुरुषसँग जानीजानी महिलाले पनि विवाह गर्न नपाइने व्यवस्था गरिएको छ । १ भदौदेखि लागू हुने मुलुकी देवानी संहिता ऐन २०७४ को १७५ को दफा १ मा महिला र पुरुष दुवैको विवाह सम्बन्ध कायम नरहेको अवस्थामा मात्र विवाह हुन सक्ने व्यवस्था गरिएको छ ।

विवाहित पुरुषकी पत्नी कानुनबमोजिम अंशबन्डा गरेर भिन्न भएको अवस्थामा मात्र पुरुषले अर्को विवाह गर्न पाउने ऐनमा व्यवस्था गरिएको छ । अन्यथा बहुविवाह गर्ने पुरुष र विवाहित पुरुषसँग विवाह गर्ने महिलालाई १ देखि ५ वर्षसम्म कैद र १० देखि ५० हजार रुपैयाँसम्म जरिबाना हुने ऐनमा उल्लेख गरिएको छ ।

डाक्टरको लापबाहीले बिरामीको ज्यान गए ५ वर्ष कैद

अब डाक्टरको लापबाहीले बिरामीको मुत्यु भएको पुष्टि भएमा त्यस्ता डाक्टरलाई ३ वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिबानाको व्यवस्था गरिएको छ ।
परिच्छेद १९ को इलाजसम्बन्धी कसुरअन्तर्गत दफा २३१ मा चिकित्सकले बदनियतपूर्वक उपचार गर्दा बिरामीको मृत्यु भए वा अंगभंग भएमा सोहीअनुरूप कारबाही हुने उल्लेख गरिएको छ ।

यदि डाक्टरको लापबाहीले कसैको ज्यान गए वा अंगभंग भएमा वा कुनै क्षति पुगेमा लापरबाही गर्ने डाक्टरले पीडितलाई क्षतिपूर्तिसमेत दिनुपर्ने व्यवस्था गरिएको छ । हाल प्रचलनमा रहेको मुलुकी ऐन २०२० मा उपचारमा लापरबाही गरेमा क्षतिपूर्तिको व्यवस्था छैन ।

त्यसैगरी, मुलुकी ऐनमा भन्दा मुलुकी अपराध संहिता ऐनमा चिकित्सकको लापरबाहीका विषयमा स्पष्ट व्यवस्था र कारबाही कडा पारिएको छ । डाक्टरको लापरबाहीले बिरामीको मृत्यु भएमा पीडितले जहिलेसुकै पनि उजुरी गर्न सक्ने व्यवस्था गरी हदम्यादसमेत हटाइएको छ ।

२० वर्ष नपुगी बिहे गरे ३ वर्ष कैद

मुलुकी अपराध संहिताको परिच्छेद ११ को विवाहसम्बन्धी कसुरअन्तर्गत दफा १७३ मा विवाह गर्ने उमेर २० वर्ष तोकिएको छ । यदि २० वर्षअघि बिहे गरेमा वा गराएमा त्यस्तो विवाह बदर हुनेछ । अहिलेसम्म महिलाको उमेर १८ र पुरुषको उमेर २० वर्ष मानिँदै आएको थियो ।

बिहे गर्ने र गराउनेलाई ३ वर्षसम्म कैद र ३० हजारसम्म जरिबानाको व्यस्वथा ऐनमा उल्लेख गरिएको छ ।

दाइजो मागे कारबाही

मुलुकी ऐनको दफा १७४ को उपदफा १ मा सामान्य उपहार, भेटी, दक्षिणा वा शरीरमा लगाएको एकसरो गहनाबाहेक विवाहमा दुलाहा वा दुलली पक्षबाट कुनै पनि चल/अचल सम्पत्ति, दाइजो माग गर्न र लेनदेनको सर्त राखी विवाह गर्न नपाइने व्यवस्था गरिएको छ । यदि दाइजो मागेमा वा लेनदेनको सर्त राखेमा ३ वर्षसम्म कैद वा ३० हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुन सक्ने ऐनमा उल्लेख गरिएको छ ।

म्याद नाघेको औषधि बिक्री गरे १ वर्ष कैद

मुलुकी अपराध संहिताको दफा २३४ मा म्याद नाघेको औषधि बिक्री–वितरण गरेमा १ वर्ष कैद र १० हजार रुपैयाँसम्म जरिबानाको व्यवस्था राखिएको छ । यदि म्याद नाघेको औषधिले बिरामीलाई क्षति भएमा क्षतिपूर्ति दिनुपर्ने व्यवस्था छ ।

इलाजसम्बन्धी धेरैजसो कसुरमा उजुर गर्न पाउने हदम्याद पनि हटाइएको छ । डाक्टरको लापरबाहीले मृत्यु भएमा वा क्षति भएमा पीडित पक्षले जहिलेसुकै पनि उजुरी गर्न सक्नेछ ।

पशु करणी गरेमा सजाय दोब्बर

मुलुंकी अपराध ऐनको भाग २ को परिच्छेद २७ को परिच्छेदको दफा २ सय ९० मा गाईलाई करणी गरेमा २ वर्ष कैद र २० हजार जरिबानाको व्यवस्था गरिएको छ । गाईबाहेक अरू पशुको करणी गरेमा १ वर्ष कैद र १० हजार जरिबानाको व्यवस्था छ ।

पुरानो मुलुकी ऐनअनुसार पशु करणी गरेमा १ वर्ष कैद र ५ सय जरिबानाको व्यवस्था छ । गाईको करणी गरेमा २ वर्ष कैदको व्यवस्था पुरानो ऐनमा पनि छ ।

रातो पार्सपोट दुरुपयोग गरे ३ वर्ष कैद

राहदानीसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा राहदानीको दुरुपयोग गर्नेलाई ३ वर्ष कैद र पाँच लाखसम्म जरिबानाको प्रस्ताव राखिएको छ । विधेयकको दफा १६ मा नेपाल सरकारले निर्णयबमोजिम कूटनीतिक वा विशेष राहदानी प्राप्त पदाधिकारीले सरकारी कामको सिलसिलामा विदेश भ्रमण गर्दा मात्र त्यस्तो राहदानीको प्रयोग गनुपर्ने उल्लेख गरिएको छ ।

बाजी राखे कैद सजाय

नयाँ मुलुकी अपराध संहिताले बाजी राख्नेमाथि कडा सजायको व्यवस्था गरेको छ । जुवा खेल्ने र चिठ्ठा सञ्चालन गर्नेहरूले पनि जेल जानुपर्ने व्यवस्था ऐनमा उल्लेख गरिएको छ । परिच्छेद ५ को दफा १२५ मा उल्लेख गरेअनुसार पहिलोपटक जुवा खेल्ने र खेलाउनेलाई ३ महिनासम्म कैद वा ३० हजार रुपैयाँसम्म जरिबाना हुने उल्लेख गरिएको छ ।

त्यसैगरी, दोस्रोपटकदेखि जुवा खेल्ने वा खेलाउनेलाई एक वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिबाना लाग्नेछ । त्यसपछि पनि जुवा खेल्ने र खेलाउने गरेमा ३ वर्षसम्म कैद र १० हजार जरिबाना तोकिएको छ । जुवा खेल्ने मात्र नभई अरूले खेलेको ठाउँमा च्याखे थाप्नेलाई पनि जुवा खेलेकैसरह कारबाही हुने उल्लेख गरिएको छ ।

पत्नीलाई जबर्जस्ती गरे पतिलाई ५ वर्ष कैद

अब नयाँ मुलुकी ऐनमा उल्लेख भएअनुसार पत्नीलाई जबर्जस्ती गरेमा पतिलाई ५ वर्षसम्म कैद सजाय हुने भएको छ । मुलुकी संहिताको परिच्छेद १८ करणीसम्बन्धी कसुरको दफा २ सय १९ को उपदफा ५ मा यस्तो महिलाको मञ्जुरी नलिई करणी गरेमा र महिलाले उजुरी दिएमा कानुनअनुसार कारबाही भोग्नुपर्ने हुन्छ ।

नयाँ संहिताअनुसार सामूहिक जबर्जस्ती करणी गर्ने दोषीलाई २५ वर्षसम्म जेल सजाय नहुने व्यवस्था छ ।

जबर्जस्ती करणीका दोषीलाई हाल कार्यान्वयनमा रहेको मुलुकी ऐनको तुलनामा दोब्बर सजाय हुने व्यवस्था नयाँ संहिताले गरेको छ । बलात्कारमा संलग्नलाई ७ वर्षदेखि २० वर्षसम्मको जेल सजाय हुन्छ र सामूहिक रूपमा जबर्जस्ती करणी गरेमा अपराधीलाई थप पाँच वर्ष सजाय हुन्छ ।

ब्लफ कल गर्नेलाई २ वर्ष कैद

नयाँ मुलुकी संहिताको दफा २९९ मा ‘कसैले आफ्नो परिचय दिई वा नदिई कसैलाई छल्ने, धोका दिने, हैरानी पार्ने वा सताउने उद्देश्यले छलकपटपूर्ण टेलिफोन वा सन्देश प्रवाह गर्न गराउन हुँदैन’ उल्लेख गरिएको छ ।

यदि त्यस्तो कसुर गर्नेलाई २ वर्ष कैद र २० हजार जरिबाना वा दुवै सजाय हुने व्यवस्था छ ।

कार्टुन तथा अश्लील चलचित्र बनाउनेलाई कारबाही

मुलुकी अपराध (संहिता ) ऐनले गोपनीयताविरुद्धकोे कामलाई कसुर घोषणा गर्दै कडा कारबाहीको व्यवस्था गरिएको छ ।

नयाँ मुलुकी ऐनको परिच्छेद ४ को दफा १२१ मा शारीरिक कामोत्तेजना बढाउने वा काम वासनामा आशक्त गराउने वा अश्लील किताब, पर्चा, रेखाचित्र, चलचित्र, तस्बिर, मुद्रण गर्न वा प्रकाशित गर्न वा विद्युतीय सञ्चारमाध्यमबाट प्रचार–प्रसार गर्न बन्देज गरिएको उल्लेख गरिएको छ । यदि यस्तो कार्य गरेमा २ वर्षसम्म कैद र २० हजार रुपैयाँसम्म जरिबाना तोकिएको छ ।

धर्म परिवर्तन गराउनेलाई पाँच वर्ष कैद

मुलुकी अपराध संहिताको परिच्छेद ९ अन्तर्गत दफा १५८ मा धर्म परिवर्तन गराउनेलाई पाँच वर्ष जेल सजाय हुने व्यवस्था तोकिएको छ । यदि कसैले धर्मसम्बन्धी कसुरमा सहमतिविना वा विभिन्न प्रलोभनमा पारी धर्म परिवर्तन गराएमा पाँच वर्ष कैद र ५० हजार रुपैयाँसम्म जरिबाना हुने कानुनी व्यवस्था रहेको छ ।

धार्मिक स्थल वा पवित्र मानिएको स्थानलाई क्षति पुर्याउन नहुने र यस्तो कार्यमा संलग्न हुनेलाई ३ वर्षसम्म कैद र ३० हजार जरिबाना हुने कानुनी व्यवस्था रहेको छ ।

तपाईको प्रतिक्रिया