भक्तपुर, २७ साउन । विशेषगरी बौद्ध धर्मावलम्बीले धुमधामका साथ मनाउने एक महिने गुँला पर्व आजदेखि शुरु भएको छ । नेपाल संवतको गुँलाथ्व पारुदेखि ञलाथ्व पारुसम्म एक महिना मनाइने गुँला पर्वका अवसरमा विभिन्न परम्परागत बाजागाजाका साथ बौद्ध चैत्यहरूको परिक्रमा गरिन्छ ।

             पर्वको प्रमुख विशेषता न्याकुँ बाजा हो । यो बाजा राँगाको सिङबाट निर्माण गरिएको हुन्छ । गुँला पर्वको अवसरमा विशेषगरी नौबाजा बजाउने प्रचलन रहेको छ । पर्व विशेषगरी बौद्धमार्गीको पर्व भएता पनि अन्य धर्मावलम्बीसमेत सहभागी हुने गरेका छन् । पर्वमा बौद्धमार्गी विशेषगरी स्वयम्भू महाचैत्यको दैनिक परिक्रमा गर्नुका साथै बौद्ध, पाटनको पुल्चोकलगायत उपत्यकाका विभिन्न चैत्यको समेत परिक्रमा गर्ने गर्दछन् ।

             पछिल्लो समय विभिन्न मौलिक बाजागाजासहित गुँला पर्व मनाउने प्रचलनमा वृद्धि भएको छ । जसअनुसार धाः बाजा, बाँसुरी बाजा, धिमे बाजा, भुस्या बाजा बजाएर पनि चैत्यका साथै स्थानीय इष्टदेवता, गणेश, भीमसेन भैरवलगायतका देवी देवताको समेत परिक्रमा गर्ने प्रचलन बढेको पाइन्छ ।बौद्ध धर्मावलम्बी बाहेकका समुदायसमेत गुँला पर्वको अवसरमा चैत्यहरूको परिक्रमा गर्न जान थालेका छन् ।

तपाईको प्रतिक्रिया