वराहक्षेत्र नगरपालिकाको वडा नं. २ मा रहेको कौशिका सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष होम प्रसाद गौतमसंग सामुदायिक वनका बारेमा साथै वहाँको भावि योजनाका सम्बन्धमा  संगम बिष्टले गरेको कुराकानीको सम्पादित अंश

१. वराह खबरमा यहाँलाई स्वागत छ ।

– धन्यवाद ।

२. तपाईं वनको नवनिर्वाचित अध्यक्ष हुनुहुन्छ कसरी काम गरिरहनु भएको छ ?

– वनलाई नमुना वन बनाउने मेरो योजना छ । वनलाई संरक्षण गरि उपभोक्ताको हितका निमित्त काम गर्ने योजना बनाएको छु । सामुदायिक वनको संरक्षण गर्न जनचेतनामुलक कार्यक्रम संचालन गर्ने लक्ष्य रहेको छ । सामुदायिक वन समुदायको सम्पत्ति भएकाले दिर्घकालिन रुपमा संरक्षण गरि भावि पिडीको लागि संरक्षण गर्ने योजना बनाएको छु । सामुदायिक वनको संरक्षण गर्न गुरुयोजना बनाउने लक्ष्य छ ।

३. सामुदायिक वनले उपभोक्तालाई सन्तुष्ट बनाउन तपाईको योजना के छ ?

– पहिलो कुरो त म पनि सामुदायिक वनको उपभोक्ता हुँ । मलाई जति यस वनको माया छ यहाँका सबै उपभोक्ताहरुलाई त्यतिनै माया छ होला । सबैलाई समान रुपमा वनबाट पाइने सेवा सुविधाहरु प्रदान गर्ने योजना छ । यसका लागि मेरो कार्यसमितिका सबै सदस्यहरु सकारात्मक हुनुहुन्छ ।

४. तपाईंको बुझाइमा आखिर सामुदायिक वन के का लागि रहेछ ?

– सामुदायिक वन मानिसका लागि मात्र नभई हरेक जीवत रुपमा रहेका प्राणीको बासस्थल हो । नेपालको धनको रुपमा रहेको हरियो वनको संरक्षण सामुदायिक वनले नै गर्न सक्छ । ५. सामुदायिक वनको चुनौतिहरु के के रहेका छन् ? – सामुदायिक वनको चुनौतिहरु मध्ये अवैध चोरी पौठारी मुख्य समस्या हो । जसलाई समुदायले नै निर्मुल पार्नु पर्छ । वन डढेलो, खोला नियन्त्रण नहुनु आदी पनि सामुदायिक वनका चुनौति रहेका छन् ।

६. सामुदायिक वन अहिले स्थानीय तह कि केन्द्रबाट संचालन गर्ने कुरा उठि रहेको छ ?  तपाईंको विचारमा कुन सहज हो ?

– ठ्याक्के भन्नु पर्दा सामुदायिक वनलाई स्थानीय सरकारबाटै संचालन गर्दा ठीक होला । हाल स्थानीय तहद्वारा कार्य सम्पादन गर्न थालि सके पछाडी उपभोक्ताहरुको विश्वास पनि स्थानीय तहमा बढेको छ । त्यसकारण उपभोक्ताहरुलाई स्थानीय तह मातहतमै सामुदायिक वन रहे काम गर्न सजिलो हुन्छ ।

७. चोरी पैठारी रोक्न सामुदायिक समितिले के कस्तो काम गरि रहेको छ ?

– चोरी पौठारी रोक्न उपभोक्ता सचेत हुनु पर्दछ । हामीले गर्ने भनेको गस्ति पेट्रेलिङ् नै हो । हामीले सक्ने हामीबाट गर्दैछौँ र अन्य सुरक्षा संयन्त्रले गर्ने कामहरु पनि भइरहेका छन् । हाल सामुदायिक वनमा रहेका वन हेरालुहरुले हाम्रो तर्फबाट काम गरिरहेका छन् । वहाँहरुलाई सहज बनाउनका लागि हामी हाम्रो तर्फबाट काम गरिरहेका छौँ । वन हेरालुसंग झै झगडा गर्नेलाई म आफैँ सम्झाउन जान्छु । केही समय पछाडी जंगलमा उपभोक्ताहरु घाँस दाउरा जाने संख्या बढ्नासाथ अस्थायी रुपमा कर्मचारी नियुक्ति गर्ने योजना बनाएको छु ।

८. तपाई्रको कार्यकालमा सामुदायिक वनलाई कस्तो बनाउने योजना छ ?

– यस सामुदायिक वन २७०.३४ हेक्टर वन हस्तान्तरित क्षेत्रभित्र पर्दछ । यस वनमा ६५६ परिवार उपभोक्ता रहेका छन् । यस सामुदायिक वनभित्र रहेका छिमेकी सामुदायिक वन, इलाका वन, सेक्टर वन र जिल्ला वन कार्यालयसंग समन्वय गर्ने र सामुदायिक वनलाई नमुना वन बनाउने मेरो लक्ष्य छ । मेरो ४ बर्षे कार्यकालमा उदाहरणिय कार्य गर्ने र उदाहरणिय अध्यक्ष बनेर देखाउने मैले अठोट लिएको छु । अवैध रुपमा चोरी पैठारीको अन्त्य गर्ने खोला नियन्त्रण गर्ने जस्ता कामहरु मैले प्राथमिकताका साथ राखेको छु । मेरो अन्तिम लक्ष्य भनेकै उपभोक्ताहरुको इच्छा अनुसार काम गर्ने हो ।

९. तपाईंको विचारमा सामुदायिक वनभित्र किन विवाद उत्पन्न हुन्छन् ?

– मेरो विचारमा आर्थिक कारणले हुन सक्लान् । सामुदायिक वनभित्र चलखेल गर्न पाइन्छ भन्ने मान्छेहरु अध्यक्ष हुँदा त्यस्तो हुन सक्छ । आर्थिक हिसाब किताबको पूर्ण रुपमा लेखाजोखा भए त्यस्तो हुँदैन ।

१०. अन्त्यमा तपाईंले भन्नु पर्ने बाँकी रहेका कुराहरु केही छन् ?

– समग्रमा माथि सबै कुरा आइसकेका छन् । मलाई मत दिएर जिताउने आम उपभोक्ताहरुलाई म निरास बनाउँदिन सामुदायिक वनबाट आएका आम्दानीलाई म लक्षित वर्ग, सामुदायिक वन र उपभोक्ताहरुको हितमा खर्च गर्ने योजना बनाएको छु । र उपभोक्ताहरुले पनि सामुदायिक वनप्रति देखाउने दायित्वहरु पुरा गरिदिए सामुदायिक वनले उपभोक्ताहर प्रति आफ्नो कर्तव्य निर्वाह गर्न सक्छ ।

तपाईको प्रतिक्रिया