इलाम/ मेचि अञ्चलकै उत्कृष्ठ कहलिएको इलामको महेन्द्र रत्न बहुमुखी क्याम्पसमा त्रिभुवन विश्वविद्यालयले चालू शैक्षिक सत्रदेखि स्नातकोत्तर तह सेमेस्टर प्रणालीमा सञ्चालन गर्ने भएपछि एउटै पनि विद्यार्थी भर्ना हुन आएनन् । क्याम्पसमा एकैजना विद्यार्थी भर्ना नहुँदा स्नातकोत्तर तहको कक्षा सञ्चालनमा अन्योल बढेको छ ।
सेमेस्टर प्रणालीमा भर्ना भएपछि ८० प्रतिशत हाजिर पुग्नुपर्ने, कक्षा कृयाकलापको आधारमा मूल्याङ्कन गरिनेजस्ता नियमले विद्यार्थी भर्ना नभएका हुन । सम्बन्धित क्याम्पसले ४० प्रतिशत र डिनको कार्यालयले ६० प्रतिशत अङ्कको मूल्याङ्कन पद्धती सेमेस्टर प्रणालीमा छ । स्नातकोत्तर तहमा अध्ययन गर्ने बहुसंख्यक विद्यार्थी जागिर खाने, व्यापार गर्ने वा कुनै न कुनै पेशा व्यवासाय गर्ने भएकाले सेमेस्टरमा क्याम्पस विद्यार्थी बिहिन भएको हो । विश्व विद्यालयको डिन कार्यालयले प्रत्येक क्याम्पसलाई कम्तीमा १० विद्यार्थी भए मात्रै भर्ना लिन निर्देशन दिएपछि क्याम्पसमा पढ्ने विद्यार्थी नभएका हुन । विगत एक दशकदेखि स्नातकोत्तर कक्षा सञ्चालन गरिरहेको क्याम्पसले मानविकी संकायमा समाज शास्त्र, नेपाली र ग्रामीण विकास, शिक्षा संकायमा शैक्षिक योजना तथा व्यवस्थापन पढाई भइरहेको छ । यस वर्ष भने स्नातकोत्तर तहका कुनै पनि संकाय र विषयमा विद्यार्थी भर्ना नभएको क्याम्पस प्रशासनले जनाएको छ ।मेचि पहाडको पाँचथर क्याम्पसमा मात्रै सेमेस्टर प्रणालीमा पढ्ने विद्यार्थी भर्ना भएको बताइएको छ । सेमेष्टर प्रणालीमा विद्यार्थी शुन्य भएपछि विश्व विद्यालयको यस्तो पद्धतीले हुने खाने परिवारलाई मात्र फाइदा पुग्ने बताउँन थालेका छन् । समाज र परिवेश सुहाउँदो उच्च शिक्षा स्थानीय क्षेत्रमा कार्यान्वयन हुन पर्ने स्थानीय विद्यार्थी नेतृत्वको प्रतिकृया छ ।

तपाईको प्रतिक्रिया