प्रश्न चिन्ह
~हेम विश्वकर्मा
______________________________________
मैले
कुल्चिहिँड्नुपर्ने बाटो
र प्रश्न चिन्हको
आकार एउटै छ !

जोसँग जहिल्यै सिधा परेर हिँड्नुपर्छ!!

जिन्दगिलाई अथाह बाँच्नुपर्ने पहाडको छातीमा
मेरो पाइलाको डोब सुंघ्दै किन पछ्याउँछ यो बांगो बाटो
किन प्रत्येक टर्निङ्गमा राखिएको
बाँगो पारेर
राजमार्ग चिन्हहरु ?

अलि मास्तिर
किन फुल्छ गुरांसको बोट बांगिएर
किन बग्छ मेरो मन छङ्छङ: घुमाउरो भएर
पहाडमा

म उभिरहेको पछाडी
मेरै छायाको आकार पनि प्रश्नचिन्ह जस्तै छ ।

पटक पटक ठोक्किएर
मेरा आँखा तिम्रा आँखामा
परेलाहरु एकाएक बाङ्गिएका छन्।

हार्नेहरुको निधारमा मात्र किन भेटिन्छन्
चाउरिहरु बाँगिएका
जिजिविषाहरु ?

अलिकति के बांगो भयो कि सिराने
सपना पनि बांगो पो देखिँदोरहेछ
म बांगिदै गरेको देखेँ
संसार बांगिदै गरेको देखेँ ।।

सानी छोरीको अक्षर बांगिएको देख्छु,
आमाको बैँस पनि बाङ्गिएको देख्छु ।
श्रीमतीले अचेल बाँगो सिउँदो फुटाएर
र सिन्दुरको बांगै राजमार्ग बनाएको देख्छु

यस्ता प्रश्न चिन्हहरुको
थ्रीलर चितामाथि
आगोले बांगो टिङ्गो हुँदै डढाएपछी पनि
अस्तु बोकेर दौडने ‘द ग्रेट स्वर्ग ट्रेलपनि बांगै भएर हिँड्छन् ।।

२०७५/३/१२

तपाईको प्रतिक्रिया