इटहरी । जनप्रतिनिधि निर्वार्चित भएलगत्तै सार्वजनिक तथा ऐलानी जग्गा खोज्ने इटहरीको अभियान बीचमै अलपत्र परेको छ ।
इटहरीका सार्वजनिक तथा ऐलानी जग्गा के कति छ भन्ने तथ्याङ्कसमेत जनप्रतिनिधिले निकाल्न सकेका छैनन् । एक वर्षदेखि जग्गा खोज्ने अभियान छलफलमै सीमित बन्न पुगेको हो ।
नेकपाका नेता मदन चूडालले इटहरी उपमहानगरपालिकाको जग्गा खोज्ने अभियान प्रभावहीन बनेको आरोप लगाए । निर्वाचित जनप्रतिनिधिहरुले जग्गा खोज्ने अभियान भन्दै प्रचार गर्ने काम मात्रै गरेको उनको भनाइ छ । अतिक्रमित जग्गाहरू उपमहानगरपालिकाको स्वामित्वमा ल्याउनु पर्ने उनको माग छ । इटहरी उपमहानगरपालिकाले जग्गा खोज्ने अभियान किन र के कारणले रोकिएको हो भन्ने बारे जनतालाई जानकारी गराउनु पर्ने इटहरी–४ का व्यवसायी विक्रम थापाले बताए । इटहरीकै नेकपानिकट विद्यार्थी नेता जीबी गजलले पनि अनिवार्य रूपमा जग्गा खोजिनु पर्ने बताए ।
सरकारी सम्पत्तिको संरक्षण तथा सदुपयोग गर्ने उद्देश्यलेभन्दा पनि क्षणिक लोकप्रियताका लागि ऐलानी जग्गाको विषय उठान गरेको इटहरीका युवा अगुवा मिलन त्रितालको बुझाइ छ । अदृश्य शक्तिको दबावमा यो विषय त्यतिकै स्थगन हुन पुगेको उनको आरोप छ । ऐलानी जग्गाको पहिचान गरी यसको सदुपयोग गर्न स्थानीय सरकारले नापी गरी के कति ऐलानी जमिन छ, वास्तविक रूपमा पत्ता लगाई त्यसको सदुपयोग गर्न जरुरी रहेको उनले बताए ।
इटहरीको इटहरी–४ का स्थानीय विज्ञान राईले उपमहानगरपालिकाले जग्गा खोज्ने अभियानमा हेल्चेक्र्याइँ गरिरहेको आरोप लगाए । खेतीखोला सफा गर्ने अभियान चलाए पनि प्रदेश सांसद् सर्वध्वज साँवाको हाम्रो स्कुल भत्कने भएपछि अभियान रोकिएको उनको आरोप थियो । अभियान चलाएपछि बीचैमा रोकेर उपमहानगरपालिका भागेको भन्दै कानून सबैका लागि उत्तिकै बनाउन उनले आग्रह गरे । ऐलानी जग्गा, खोला, पैनी अतिक्रमणले इटहरी डुबान तथा सरकारी सम्पत्तिको दुरुपयोग भइरहेको भन्दै ऐलानी जग्गा खोज्न अभियान निरन्तर चल्नुपर्ने उनले बताए ।
इटहरीमा मेयर द्वारिकलाल चौधरीले भने जग्गा खोज्ने अभियान निरन्तर भइरहने दाबी गरे । ‘जग्गा खोज्न बनेको समितिले समयमै काम गर्न नसकेको कारण पुनः कार्यपालिकाको बैठक बसी समय थप गरेर जग्गा खोज्ने काम गर्र्छौ’ –मेयर चौधरीले भने । जग्गा नक्सा खोज्ने काम भइरहेको भन्दै ऐलानी जग्गाहरु उपमहानगरपालिकाको स्वामित्वमा ल्याएरै छाड्ने मेयर चौधरीको भनाइ थियो । मिचिएको जग्गाको पनि खोजी गर्न समितिको प्रतिवेदन आएपछि अगाडि बढ्ने उनको भनाइ थियो ।
इटहरी उपमहानगरपालिकाले २०७४ साल चैत्र २८ गते बनेको जग्गा खोज्ने समितिले अहिलेसम्म काम गर्न नसकेको समितिका संयोजक तथा इटहरी–१३ का वडाअध्यक्ष शिवनारायण चौधरीले बताए । उनले भने, ‘हामीले अहिलेसम्म केही काम गर्न सकेका छैनौं ।’ समितिमा इटहरी–५ का वडाध्यक्ष कल्याण कार्की, इटहरी–१७ का वडाध्यक्ष भगवानलाल साह, इटहरी–३ का वडाध्यक्ष बालकृष्ण विष्ट, इटहरी–१४ का वडासदस्य दुःखीलाल चौधरी, कार्यपालिका सदस्य गौरीमान परियार सदस्य सचिवमा दयाराम गौतमको समिति बनेको थियो ।
खोजियो तर रोकियो
एकः इटहरीस्थित नेपाल डिभिएम ग्लोबल एकेडेमी (नेपाल दयानन्द वैदिक मिसन) ले ऐलानी जग्गा मिचेको आरोपमा इटहरी उपमहानगरपालिकाले छानबिन गर्दा ऐलानी जग्गा ५० कठ्ठा मिचिएको भेटियो तर अहिलेसम्म कारबाही गर्ने र जग्गा स्वामित्वमा ल्याउन सकेको छैन ।
दुईः इटहरी–४ स्थित रोयल रिसोर्टले पैनी मिचेर संरचना बनाएको भन्दै भत्काउने उद्घोष उपमहानगरले एक वर्षअगाडि गरे पनि अहिले उक्त घटनामा उपमहानगर चुइँक्क बोल्न सकेको छैन । रिसोर्टले पैनीको जग्गा मिचेर पक्की संरचना बनाएको उपमहानगरपालिकाले दाबी थियो ।
तीनः इटहरी–४ स्थित चौधरी समुदायले प्रयोग गर्दै आएको पोखरीलाई पनि उपमहानगरपालिकाले आफ्नो स्वामित्वमा ल्याउन निकै कसरत ग¥यो तर, हालसम्म पनि ल्याउन सकेको छैन ।
चारः खेतीखोला मिचेर बनाएको संरचना भत्काउन थाले पनि केही ठूलाबडाको सम्पत्ति पर्ने भएपछि अभियान रोकियो ।

तपाईको प्रतिक्रिया