नेपालकै एकमात्र अर्ना हेर्न सकिने आरक्षको रुपमा कोशी टप्पु वन्यजन्तु आरक्ष क्षेत्रलाई लिईन्छ । नेपालमै एक मात्र अर्ना संरक्षण स्थलको रुपमा आरक्षलाई चिनिन्छ । अर्नाको संरक्षण क्षेत्र भनिएता पनि आरक्ष जैविक विविधताले भरिपूर्ण रहेको छ । वन्यजन्तु, विभिन्न प्रजातीका जलचर प्रजातीहरु, चराचुरुङ्गीहरुको समिश्रणको कोशी टप्पु वन्यजन्तु आरक्ष,कोशी नदिको दुवै किनारामा फैलिएर रहेको सुनसरी, सप्तरी र उदयपुर जिल्लामा फैलिएको आरक्ष क्षेत्र जल श्रोतको समेत धनी क्षेत्र हो । यो आरक्षमा नेपालकै फराकिलो नदि सप्तकोशीका साथै रामसार तथा सिमसार क्षेत्रमा सुचीकृत भएका क्षेत्रहरु समेत रहेका छन् ।

आरक्ष क्षेत्रमा पाईने विशेष जलचर तथा थलचर जनावार र चराचुरुङगीहरुको रोडम्याप ः

सुरु गरौँ प्रकाशपुर रेञ्जपोष्टबाट यो रेञ्चपोष्ट नजिकबाट हामीले ठेप्ले लाटाकोसेरा प्रजातीको चरा देख्न सकिन्छ । सोही रेञ्च पोष्टको सिधा लाटोकोसेरा बस्ने स्थल भन्दा पश्चिमतर्फ राज गिद्धको बसोवास रहेको पाईन्छ भने त्यसैको आसपासमा खर मयुर प्रजातीको चरा समेत देख्न सकिन्छ । प्रकासपुर रेञ्चपोष्ट देखि तल्लो रेञ्चपोष्ट मधुवन रेञ्चपोष्ट हो । यो रेञ्च पोष्टबाट भुडीफोर, लामो गरुड, सानो खर मयुर लगायतका चरा प्रजातीहरु अवलोकन गर्न सकिन्छ । अथवा भनौँ यि चरा प्रजाती हरुको वास स्थान मधुवन रेञ्चपोष्ट नजिक पर्ने गर्दछ । त्यो भन्दा तल्लो रेञ्चपोष्ट कुशाहा रेञ्चपोष्ट हो । यो रेञ्चपोष्टबाट तल्लो रेञ्चपोष्ट कुशाहा रेञ्चपोष्ट हो । यो रेञ्चपोष्टको नजिकैबाट लगुना क्षेत्रको नजिक सेतो स्टोर्क देख्न सकिन्छ । अर्कोतर्फ तित्रि गाछी रेञ्चपोष्टबाट भने आरक्षको परिचय बोकेको अर्ना हेर्न सकिन्छ । यदि अर्नाको अवलोकनका लागि आरक्ष जाने पर्यटकहरुले तित्रिगाछी रेञ्चपोष्ट जानु भएमा अर्ना हेर्न सहज हुनेछ । अर्ना बस्ने स्थानकै छेउमा रहेको सानो जंगल छ । त्यो जंगलमा मिस बाँज र काकाकुल प्रजातीको चरा अवलोकन गर्न सकिने छ । तित्रिगाछी देखि तल्लो रेञ्चपोष्ट हरिपुर रेञ्चपोष्ट हो । यो रेञ्चपोष्टको सिधाबाट हामीले कालो स्टोर्क, राज गरुड प्रजातीका चराहरु अवलोकन गर्न सकिन्छ । भेन्टाबारी रेञ्चपोष्ट हरिपुर भन्दा तल्लो रेञ्चपोष्ट हो । यहाँबाट निकै भित्र रहेको पटेर घारी क्षेत्रमा साँवरी, लालसर लगायतका प्रजातीहरु देख्न सकिन्छ । यो रेञ्चपोष्ट कोशी ब्यारेज क्षेत्रमा जोडिएको रेञ्चपोष्ट पनि हो । कोशी व्यारेजबाट पारीपट्टी सप्तरी जिल्लातर्फ भने हामीले रङ्गीन भुडीफोर देख्न सकिन्छ भने कोशी व्यारेजबाट दक्षिण (भारत तर्फ) कालो भुडीफोर देख्न सकिन्छ ।

दक्षिण्ी डुवान क्षेत्र भारदह क्षेत्रमा चम्चे टुडेल प्रजातीको चरा देख्न सकिन्छ । यता त्रियुगा नदिको आसपासमा सिम कुखुरा प्रजातीका चराहरुको वासस्थान रहेको छ । त्रियुगा नदि माथि चमेराहरुको वासस्थान रहेको छ । कमलपुर रेञ्चपोष्ट क्षेत्र नजिक कमल पटेर, जलकुम्भी लगायतका वनस्पती प्रजातीहरु कमल पोखरी क्षेत्रमा पाउन सकिन्छ । कमल पोखरी नजिकै त्रियुगा नदिको किनारमा लामो टुडे गिद्धको वासस्थान रहेको छ ।
बुढी सप्तकोशीको किनारमा रहेको जंगलमा हुच्चिल प्रजातीको चरा देख्न सकिन्छ । आरक्षको क्षेत्र भागलपुर रेञ्चपोष्टमा पुगेपछी सीमा समाप्त हुन्छ । यसरी अर्ना प्रजातीको संरक्षणका लागि स्थापना भएपनि आरक्ष क्षेत्रमा जलचर,थलचर,वनस्पती तथा चरा चुरुङ्गीहरुको साझा थलोको रुपमा विकास भएको छ । माथि उल्लेख गरिएका अलावा आरक्ष क्षेत्रमा हात्ती, माछा प्रजातीका गैंची बाम माछा लगायतमा माछाहरु, अजिंगर तथा विभिन्न सर्प प्रजातीहरु, मौषमी रुपमा साइवेरीया लगायत विश्वका विभिन्न स्थानबाट आउने चरा प्रजातीहरु समेत आरक्षमा अवलोकन गर्न सकिन्छ ।विश्वकै उत्कृष्ट मानिएको कोशी टप्पु वन्यजन्तु आरक्ष एउटा पर्यटकहरुको लागि तथा चराचुरुङगीको क्षेत्रमा अनुसन्धान गर्नेहरुका लागि पनि विशेष क्षेत्र रहेको छ ।

तपाईको प्रतिक्रिया