हरिवोल आचार्य

खोटाङ  ।  दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आर्थिक वर्ष २०७४÷०७५ मा सञ्चालित योजनामध्ये ९५ प्रतिशत योजना सम्पन्न गरेको जनाएको छ । नगरपालिकाले गत आर्थिक वर्षमा सञ्चालन गरेको साना–ठूलागरी २०५ वटा योजनामध्ये १९५ वटा योजना सम्पन्न भएको मंगलबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो ।

नगरपालिकाले ३० लाखभन्दा माथिका ३६, पाँच लाखभन्दामाथि तथा ३० लाखभन्दा मुनिका २७ वटा र पाँच लाखभन्दा मुनिका १४२ वटा विकासे योजना सञ्चालन गरेको थियो । नगरपालिकाले गत आर्थिक वर्षका लागि रु ६१ करोड बढी ५३ लाख २३ हजार बजेट बिनियोजन गरेको थियो ।

पन्ध्र वटा वडा रहेको नगरपालिकाले गत आर्थिक वर्षमा सबैभन्दा पहिलो प्राथमिकता सडकलाई दिएको थियो । उपभोक्ता समितिमार्फत निर्माण गरिएको सडकको काम ९८ प्रतिशत सम्पन्न भएको नगरपालिकाले मंगलबार पत्रकार सम्मेलन गरेर जाएको छ ।

नगरपालिकाद्धारा सञ्चालित सबै योजना समयमै सम्पन्न गर्ने लक्ष्य राखिएपनि प्राविधिक कारणले ९५ प्रतिशत मात्र सम्पन्न भएको नगर प्रमुख दिपनारायण रिजालले पत्रकार सम्मेलनमा बताउनुभयो । “अधिकांश योजना सम्पन्न भइसकेका छन् ।” उहाँले भन्नुभयो, “अबको केही दिनमै सबै योजना सम्पन्न हुनेछ ।

नगरपालिकाले वडा नम्बर–१५ बुइपालाई नगरको दोस्रो ठूलो व्यापारिक केन्द्र बनाउने लक्ष्यका साथ गत आर्थिक वर्षमा नगरपालिका र स्थानीयको श्रमदानगरि करीब दुई करोडको लगानीमा भौतिक संरचना निर्माण गरेको छ । नगरपालिकाको आर्थिक तथा प्राविधिक सहयोगमा बजारमा ६५ वटा स्टिल ट्रष्ट, शौचालय, बगैंचा, विद्युत, खानेपानी लगायतको व्यवस्था मिलाइएको छ ।

सडक अन्तरगत ३४ वटा कच्ची सडक निर्माण, २९ वटा सडकको चौडाई निर्माण, २४ वटा सडक स्तरोन्नति र नगर क्षेत्रभित्र पर्ने विभिन्न सडकको २५ किलोमिटर मर्मत गरिएको जनाइएको छ । सामाजिक विकास अन्तरगत पनि सोही अनुपातमा काम भएको नगर प्रमुख रिजालले बताउनुभयो ।

नगर विकासको दूर दृष्टिलाई ध्यानमा राखेर आवधिक नगर विकास योजना निर्माण, विभिन्न ऐन, नियमावली र कार्यविधि निर्माणगरी स्थानीय राजपत्रमा प्रकाशन लगायतका उल्लेख्य काम गरिएको जनाइएको छ । नगर प्रमुख रिजालका अनुसार छ वटा ऐन, तीन वटा नियमावली र पाँच वटा कार्यविधि निर्माण गरिएको छ ।

पर्यटन विकास अन्तरगत भुलभुले, मझुवागढी, नुनथलामा गुम्बा तथा महुरेगढीमा आँखा आकारको पोखरी निर्माणाधीन अवस्थामा रहेको जनाइएको छ । यस आर्थिक वर्षमा विकासे योजनालाई थप प्रभाकारी बनाउने उद्देश्यले वैशाख मसान्तभित्र सबै योजनाको सम्झौता सम्पन्न गर्ने नगर प्रमुख रिजालको भनाइ छ ।

नगरपालिकाको विकासलाई प्रभाकारी बनाउन यस आर्थिक वर्षमा पाँच लाखभन्दा मुनिका कुनै पनि योजना नराखिएको नगर प्रमुख रिजालले बताउनुभयो । “यो वर्ष ठूला योजना मात्र सञ्चालन हुनेछ ।” उहाँले भन्नुभयो, “साना र उपलब्धी नदेखिने योजना कुनै पनि सञ्चालन हुने छैन ।”

नगरपालिकाले यस आर्थिक वर्षको लागि रु ६८ करोड ६० लाख ९६ हजार बजेट पारित गरेको छ । नगरपालिकाको प्रथम आवधिक योजनाले निर्देशित गरेको लक्ष्यलाई मध्यनजर गर्दै स्थानीय प्राथमिकता र आवश्यकतालाई केन्द्रमा राखेर दोस्रो नगरसभाले वार्षिक नीति तथा कार्यक्रम पारित गरेको हो ।

तपाईको प्रतिक्रिया