नेपाल भ्रमण वर्ष २०२० प्रवर्द्धन गर्न संयुक्त अधिराज्यको वेल्समा हाइकिङ (पैदलयात्रा) आयोजना गरिने भएको छ।

भुइँचालोपछि थलिएको नेपालको पर्यटन प्रवर्द्धन लागि संयुक्त अधिराज्यको वेल्समा हाइकिङ (पैदलयात्रा) आयोजना गरिने भएको छ। ‘हाइक फर नेपाल’ कार्यक्रम मार्फत नेपाल भुइँचालोपछि पनि भ्रमण गर्न सुरक्षित छ भन्ने सन्देश दिने उद्देश्य रहेको आयोजक ‘वि विल राइज फाउन्डेसन’ले जनाएको छ।

बायाँबाटः तुलसी गुरुङ, थानेश्वर गुरागाई, पोखरेली मञ्च युकेका अध्यक्ष मान गुरुङ, फुर्वा तेन्जिङ शेर्पा, सुरज गुरुङ, निर्मल श्रेष्ठ र पोखरेली मञ्च युकेका उपाध्यक्ष बचस्पति रेग्मी।

हामी उठ्ने छौं अभियान अन्तर्गतको कार्यक्रम आयोजनामा ‘पोखरेली मञ्च, संयुक्त अधिराज्य’ को सहकार्य छ। अगस्ट ३ देखि सुरु हुने उक्त कार्यक्रम तीन दिनसम्म चल्नेछ। पैदलयात्रा अगस्ट ४ मा हुनेछ। यसमा नेपाल पर्यटन बोर्ड, गैर आवासीय नेपाली र लन्डनस्थित नेपाली दूतावास लगायतको पनि सहयोग छ।

वि विल राइज फाउन्डेसनको यस्तो खाले पैदलयात्रा कार्यक्रमको यो तेस्रो संस्करण हो। यसअघि हङकङमा दुई पटक भइसकेको छ। यो वर्ष वेल्समा हुने कार्यक्रमले ‘भिजिट नेपाल २०२०’ अभियानलाई टेवा पुर्याउने आशा रहेको फाउन्डेसनका फाउन्डर तुलसी गुरुङले बताएका छन्।

‘नेपालको पर्यटन प्रवर्द्धन निम्ति यहाँ बसोबास गरिरहेका धेरै नेपालीले आफ्नो यथाशक्य समय दिनुभएको छ,’ फाउन्डर गुरुङले भने, ‘नेपाल चिनाउन र पर्यटक बोलाउन हामी निरन्तर पहल गरिरहने छौं।’

पैदलयात्रा वेल्सको ‘ब्ल्याक माउन्टेन’ मा हुनेछ। पैदलयात्रासँगै साँस्कृतिक र मनोरञ्जनात्मक कार्यक्रम पनि गरिनेछ।

‘नेपालको लागि सँगसँगै पाइला चालौं’ नारासहित आयोजना हुने कार्यक्रममा करिब नेपाली र विदेशी गरी १५० जनाभन्दा बढीको सहभागीता रहने अनुमान गरिएको छ।

उक्त पैदलयात्रामा सहभागी हुन नेपालबाट तेह्रपटक सगरमाथा आरोहण गरिसकेका कीर्तिमानी आरोही फुर्वा तेन्जिङ शेर्पा, १६ वटा विधामा गिनिज बुक अफ रेकर्डसमा नाम लेखाएका थानेश्वर गुरागाई, वि विल राइज फाउन्डेसन, नेपालका निर्देशक निर्मल श्रेष्ठ र सोही फाउन्डेसनका हङकङ निर्देशक सुरज गुरुङ वेल्स पुगिसेकका छन्।

कार्यक्रममा नेपाली राजदूत, नेपाल तथा हङकङका गायक, स्थानीय सांसदहरू, मेयरहरू लगायतको सहभागीता रहने आशा गरिएको आयोजकले जनाएको छ।

भुइँचालोपछि थलिएको नेपालको पर्यटन क्षेत्र उकास्न वि विल राइज फाउन्डेसनले यस्ता कार्यक्रम आयोजना गर्दै आएको छ।

तपाईको प्रतिक्रिया