काठमाडौं: काठमाडौंको फोहोर समयमै नउठ्दा दिन प्रतिदिन दुर्गन्ध फैलीन थालेको छ । काठमाडौं महानगरपालिकाले विगत केहि हप्ता देखि फोहोर नउठाउँदा सर्वसाधारणको घर  तथा सडक वरपर फोहोर थुप्रिएको छ । घर भित्र फोहोर राख्ने ठाउँ नभएपछि टोलका विभिन्न स्थानमा स्थानीयले फोहोरका थुपार्न थालेका छन् । बाटोमा नै थुपारिएको फोहोर पानी परेका कारण गल्ने तथा सड्ने गरेको हुँदा त्यसबाट रोग उत्पन्न भइ सङ्क्रमण हुने सम्भावना बढ्दै गैरहेको छ । समाजमा भयावय अवस्था निम्त्याउन सक्ने यस्तो संवेदनशील विषयमा समेत सरकार तथा जिम्मेवार निकाय मौन रहेका छन् ।

काठमाडौं उपत्यकामा दैनिक १ हजार ५ सय टनभन्दा बढी फोहोर जम्मा हुने गरेको छ ।

। जसमध्दे अहिले करीब ८ देखि ९ हजार टनको हाराहारीमा फोहोर उठ्न बाँकी नै रहेको छ । काठमाडौं महानगरपालिकाले यसरी जम्मा भएको फोहोरलाई नुवाकोटको ओखरपौवास्थित सिसडोलमा लगेर व्यवस्थापन गर्ने गरेको छ । काठमाडौं महानगरपालिकाले विगत केहि दिन देखिको अविरल वर्षाले ल्याण्डफिल्ड साइड नजिकैको बाटोमा पहिरो गई सडक बिग्रिएकाले समयमै फोहोर उठाउन नसकिएको जनाएको थियो । महानगरपालिकाले फोहोर व्यवस्थानको वैकल्पिक योजना बनाउन नसक्दा हरेक वर्ष उपत्यकावासीले यस समस्या झेल्दै आउनु परेको छ ।फोहोर व्यवस्थापनको वैकल्पिक योजनाबाट पन्छीदै जिम्मेवार निकाय

१० वर्षअघि फोहोर व्यवस्थापनको दिर्घकालिन समाधानका लागि निर्माण थालिएको आधुनिक फोहोर व्यवस्थापनस्थल बन्चरेडाँडामा हालसम्म १० प्रतिशत मात्रै पूर्वाधार बनेको छ । बन्चरेडाँडा नुवाकोटस्थित ककनी गाउँपालिका २ ओखरपौवा क्षेत्रमा पर्छ । महानगरपालिकाले भने फोहोर व्यवस्था गर्ने ठाउँ अन्य जिल्ला (नुवाकोट) मा भएकाले यसको जिम्मेवारी महानगरको नभई संघीय सरकारको भएको जनाएको छ  । महानगरले फोहोर संकलन र ढुवानी मात्रै आफ्नो जिम्मेवारी भएको र  स्थानको व्यवस्थापन महानगरको नभएको जनाएको छ । संघीय मन्त्रालय, लगानी बोर्ड र काठमाडौं महानगरपालिका तीनै निकायले बन्चरेडाँडाको विकल्प नभएको बताए पनि जिम्मेवार निकायहरु एक-अर्कालाई दोषी ठहर गर्दै पन्छिने गरेका छन् ।

फोहोरको असर
अव्यवस्थित फोहोर चाडैं गल्ने र सड्ने हुँदा यस बाट विभिन्न रोग फैलन सक्ने सम्भावना रहन्छ । फोहोरबाट फैलने रोग हावाबाट संक्रमित हुने हुँदा यसले थोरै समयमा धेरै मानिसलाई असर गर्छ र यसलाई नियन्त्रण गर्न झनै कठिन हुन्छ । फोहोर थुपारिएको स्थानमा भएका सिसाका झुर्का वा मसिना कण छाला छेडेर शरीरभित्र पस्यो भने रगतमा हुने अक्सिजनको मात्रा घटाएर शरीरबाट कार्बनअक्साइड निष्कासन हुन अवरोध समेत पर्दछ । त्यसो हुँदा श्वास–प्रश्वासमा समस्या आउँछ । मानिसको स्वास्थ्य मात्र नभई यसले वातावरणमा समेत नकारात्मक असर पार्दछ । फोहोरबाट वायु प्रदूषण हुन्छ भने प्लास्टिकले माटोको उर्बर शक्तिमा ह्रास गर्दछ ।

यस बाहेक पनि फोहोरका कारण हाम्रो वातावरणमा गम्भीर असर समेत परिरहेको छ । फोहोरबाट उत्पन्न हुने  ‘अर्बन हिट बबल’ ले पृथ्वीको नै तापक्रम वृद्धि हुँदै गएको छ । फलस्वरूप खण्डवृष्टि, अम्लीय वर्षा, अति वर्षा जस्ता समस्या देखा परिरहेका छन् । फोहोरको समुचित व्यवस्थापन गर्न नसक्दाका वातावरण प्रदूषित तथा दुर्गन्धित हुने, सहर अव्यवस्थित तथा पिछडिएको देखिने, समग्र देशको प्रतिष्ठामा आँच पुग्ने लगायत परिणति हुने गर्दछ ।

फोहोर व्यवस्थापन हुन नसक्नु प्रमुख कारणहरु

जनचेतनाको अभावलाई फोहोर व्यवस्थापनको मुख्य समस्याका रुपमा मानिन्छ । फोहोर व्यवस्थापन सम्बन्धि अहिले सम्म प्रभावकारी रुपमा कुनै जनचेतनामुलक कार्यक्रम भएका छैनन् । घरायसी तथा औधोगिक फोहोरमैलाहरुलाई वर्गीकरण गरि व्यवस्थापन गर्ने तर्फ पनि कुनै पहल गरिएको छैन । फोहोर व्यवस्थानको एक मुख्य समाधान भनेको प्रसोधन र पुन: प्रयोग हो । तर प्रसोधन र पुन: प्रयोग गर्ने प्रविधिलाई अँगाल्न नसक्दा फोहोर व्यवस्थापन झन् बढी कठिन हुँदै गएको छ । यस्तै अव्यवस्थित फोहोर फ्याल्ने र गर्नेलाई कडा कारबाहीको दायरामा ल्याउन नसक्दा समेत फोहोर व्यवस्थापनमा चुनौती थपिएको छ । अन्तराष्ट्रिय स्थलमा अपनाएको फोहोर व्यवस्थापनको अभ्यास प्रति अनुसन्धानको कमीले फोहोर व्यवस्थापन सहज रुपमा हुन सकेको छैन । यस्तै फोहोर व्यवस्थापनको जिम्मेवारी निकाय प्रष्ट रुपमा नतोकिएको हुँदा समेत समस्या आएको छ । यी मात्र नभई जिम्मेवार निकायको लापरवाही, फोहोर व्यवस्थापनलाई प्राथमिकतामा नराखिनु र निर्मानधीन फोहोर व्यवस्थापनस्थलको प्रगति न्यून हुँदा समेत फोहोर व्यवस्थापनको समस्या बढ्दै गएको हो  ।

फोहोर व्यवस्थापनको उपाय

फोहोर व्यवस्थापन गर्न सरकारी तह, औधोगिक र स्थानीय तहले आ-आफ्नो स्थानबाट विभिन्न भूमिका निभाउन जरुरी छ । फोहोर व्यवस्थापनलाई आम्दानीको स्रोतमा समेत परिवर्तन गर्न सकिन्छ । यसका लागि जिम्मेवार निकायले जनचेतनामुलक कार्यक्रम संचालन गरी स्थानीयलाई फोहोर व्यवस्थापन सम्बधि प्रशिक्षण दिन जरुरी छ ।

घरायसी प्रयोगबाट निस्कने फोहोर व्यवस्थापन गर्न सामान्य तरिका अपनाउन सक्दा केही आर्थिक उपार्जन गर्न सकिन्छ । फोहोरको प्रशोधन र पुनः प्रयोग गर्ने हो भने फोहोरलाई  आम्दानी र ऊर्जाको स्रोतमा परिणत गर्न सकिन्छ । जैविक फोहोरलाई कम्पोस्ट मल बनाएर तरकारी र फूल खेतीमा प्रयोग गर्न सकिन्छ । यसले फोहोर उत्पादन घटाउनुका साथै विषादी रहित ताजा तरकारी खान पाइन्छ भने यसबाट पैसाको पनि बचत/फाइदा हुनेछ । त्यस्तै, स्टिल, फलाम तथा प्लास्टिकजन्य वस्तुका टुक्रा लगायतका फोहोर कवाडीलाई बिक्री गरे सानोतिनो आम्दानी पनि गर्न सकिन्छ ।

सहरी विकास मन्त्रालय अन्तर्गतको फोहोरमैला व्यवस्थापन प्राविधिक सहयोग केन्द्रका अनुसार ९३ प्रतिशत फोहोर पुनः प्रयोग गर्न सकिन्छ । औधगिक क्षेत्रबाट फोहोरको पुनःप्रयोग गरी ग्यास तथा बिजुली  उत्पादन गर्न सक्छन । हालै राजधानीको वीर अस्पतालले दैनिक ७५० किलोग्राम फोहोरको पुनःप्रयोग गरेर मासिक ५० हजार रुपैयाँ आर्जनका साथै ६ सिलिन्डर ग्यास उत्पादन समेत गर्दै आएको छ । अस्पतालले कागज, धातु, रबर, कपडा आदि छुट्याएर निर्मलीकरण गरी बिक्री गर्ने गरेको छ । साथै अस्पतालले गरेको फोहोर व्यवस्थापनले नेपाल एअरलाइन्स कर्पोरेसन (एनएसी) र खुलामञ्चमा पनि जथाभावी फालिने फोहोर व्यवस्थापन भएको छ । वीर अस्पतालको उदाहरणीय कामलाई पछ्याउने हो भने पनि फोहोर व्यवस्थापन गर्न मद्दत मिल्नेछ ।

फोहोरबाट ऊर्जा

काठमाडौं उपत्यकामा दैनिक एक हजार मेट्रिक टन फोहोर उत्पादन हुने गरेको काठमाडौं महानगरपालिकाले जनाएको छ । काठमाडौं र ललितपुरबाट निस्कने फोहोरबाट १६ मेगावाट बिजुली उत्पादन गर्न सकिने प्रारम्भिक अध्ययनले देखाएको छ । भारतको राजधानी नयाँ दिल्लीमा दैनिक निस्कने १ हजार ३ सय टन फोहोरबाट २५ मेगावाट विद्युत् उत्पादन हुँदै आएको छ ।

नवलपरासी, स्याङ्जा लगायत देशको विभिन्न स्थानमा अहिले फोहोरबाट बिजुली तथा बायो ग्यास उत्पादन हुने प्रविधि जडान गरिएको छ । वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रको सहकार्यमा देशका विभिन्न स्थानमा उक्त प्रविधि जडान हुँदै आएका छन् । यसलाई निरन्तरता दिएर उपत्यका लगायत देशका विभिन्न क्षेत्रलाई केन्द्रित गरि फोहोरबाट बिजुली निकाल्ने प्रविधि जडान गरे यसले फोहोर व्यवस्थापनमा ठूलो मद्धत पुग्नुका साथसाथै आय आर्जनको बाटो समेत खुल्नेछ । फोहोरबाट एकै साथ बिजुली, बायो ग्यास र मल निकाल्न सक्ने हुँदा यसले वातावरण लगायत आर्थिक क्षेत्रमा समेत फाइदा पुर्याउनेछ ।

यसरी निकाल्न सकिन्छ फोहोरबाट बिजुली

फोहोरबाट बिजुली २ तरिकाबाट निकाल्न सकिन्छ । एउटा फोहोरलाई बाली ताप उत्पादन गरेर विद्युत शक्तिमा रुपान्तरण गरिन्छ भने अर्को चाहिँ फोहोरलाई कुहाएर ग्यास निकाली विद्युत शक्तिमा रुपमान्तरण गरिन्छ ।

फोहोर बालेर बिजुली बनाउने तरिका

फोहोरलाई बालेर त्यसलाई इन्सिनिरेसन (फोहोर बालेर पानी तताउने र पानीबाट निस्कने वाफको माध्यामबाट टरवाइन घुमाउने) प्रक्रियाबाट शक्ति उत्पन्न हुन्छ त्यस शक्तिलाई विद्युत शक्तिमा रुपान्तरण गरिन्छ ।

ठूलो आगो बाल्ने ठाउँ हुन्छ त्यसमा फोहोर राखेर आगो बालिन्छ । बलेको आगोको तापमा पानी तताइन्छ । पानी तताएपछि वाफ उत्पन्न हुन्छ उक्त वाफको चापले टरवाइन घुमाइदिन्छ । टरवाइन घुमेपछि ऊर्जा उत्पन्न हुन्छ ।

उत्पन्न भएको ऊर्जालाई विद्युत्मा रुपान्तरण गरी प्रसारण लाइनमा जोडेर वितरण गरिन्छ । यो प्रक्रियाबाट लगभग ५०० मेट्रिक टन फोहोरलाई बालेर ४३ मेगावाट बिजुली निकाल्न सकिन्छ ।

फोहोरलाई कुहाएर बिजुली बनाउने तरिका

यो विधिमा कुहिने प्रकृतिको फोहोरलाई कुहाएर ग्यास निकालिन्छ र उक्त ग्यासबाट बत्ती बाल्न सकिन्छ । यस विधिमा फोहोरलाई कुहाइन्छ कुहाएको फोहोरबाट मिथेन ग्यास निस्किन्छ । मिथेन ग्यासलाई पाइप मार्फत वितरण गरेर बल्न सकिन्छ भने सिलिण्डरमा जम्मा गरि वितरण गर्न पनि सकिन्छ ।

ग्यासलाई विद्युतमा रुपान्तरण गरी बत्ती बाल्ने काम पनि गर्न सकिन्छ । अर्गानिकको मात्राका आधारमा ग्यास उत्पादन हुन्छ । बढी आर्गानिक फाहोर भयोभने धेरै बायोग्यास निस्किन्छ भने कम आर्गानिक फोहोर भयो भने कम बायोग्यास निस्किन्छ ।

मयाङ्क घिमिरे

तपाईको प्रतिक्रिया