भोटराज राई
उदयपुर । उयदपुरको लिम्चुङबुङ गाउँपालिका पर्यटकीय सडक निर्माणमा जुटेको छ । समुन्द्रदेखि सगरमाथासम्मको पर्यटनलाई जोड्ने उद्देश्यले उदयपुरको सदरमुकाम गाईघाटदेखि पूर्वको पशुपती भनेर परिचित खोटाङको हलेसीधामसम्मको सडक निर्माणमा जुटेको हो ।
करिब ८० किलोमिटर दुरीको उक्त सडक तराईबाट हलेसीधाम जाने तिर्थालुका लागि सबैभन्दा सोझो, छिटो र सहज सडक हो । उक्त सडक सञ्चालन पश्चात तराईबाट एकैदिनमा हलेसीको दर्शन गरी फर्कन्छु भन्नेका लागि पनि सम्भव रहन्छ ।
बर्षेनी विभिन्न सडक प्रयोग गर्दै देश तथा विदेशका लाखौ दर्शनार्थीहरु हलेसीधाम जाने गर्दछन् । अहिले लिम्चुङबुङबाट सुरुवात गरिएपनि यस सडकलाई भविष्यमा समुन्द्रदेखि सगरमाथासम्मको पर्यटनलाई जोड्न खोजिएको लिम्चुङबुङ गाउँपालिकाका अध्यक्ष मेजरकुमार राइले बताए ।
समुन्द्रमा पानीजहाजबाट भारतसम्म आएका पर्यटकहरु सगरमाथासम्म पुग्न सजिलो मार्ग यहि नै बन्ने दाबी गरिएको छ ।
प्रशस्त पर्यटकीय सम्भावना बोकेको सो गाउँपालिकाले विकासको आधारको रुपमा पूर्वाधार विकास तर्फ पर्यटकीय सडक निर्माणमा जोड दिएको हो । हलेसीलाई मुटु र गाईघाटलाई टाउकोको रुपमा चित्रण गरेको गाउँपालिकाले उक्त सडकको पूर्ण सर्भे गतसाल नै गरिसकेको छ । पुरा सर्भे (डिपिआर) बाट २ अरब ९६ करोड लागत देखिएको छ भने बीचमा जोड्ने सप्तकोशीमा पुलको लागि ५४ करोड लागत देखिएको छ ।
उदयपुरको सदरमुकाम गाईघाटदेखि रौतामाई गाउँपालिका हुदै लिम्चुङबुङ पुगेर सप्तकोशी पारहुदै खोटाङको हलेसी पुग्ने उक्त सडकको ट्रयाक खन्ने काम पहिले नै भईसकेको छ । गाउँपालिका, प्रदेश तथा केन्द्रिय सांसदको पहलबाट दुई ल्याण्डमा स्तरोन्नती गर्नेगरी सडक र बीचमा सप्तकोशीमा पुल निर्माणको कार्य राष्ट्रिय योजनामा परेकाले निर्माण कार्य छिट्टै हुने आशा स्थानीय जनताको छ ।
समुन्द्रदेखि सगरमाथासम्म सडक जोडेर विश्व पर्यटनलाई नै जोड्न सकिने र असुरक्षित बन्दै गएको वायु मार्गको विकल्पको रुपमासमेत गाउँपालिकाले यस मार्गलाई लिएको प्रमुख प्रशासकीय अधिकृत भक्त राइले जानकारी दिए ।
सडक सञ्चालनबाट आन्तरिक तथा बाह्य धार्मीक पर्यटक आकर्षित हुने मात्र हैन अन्य पर्यटकका लागि विभिन्न रमणीय स्थलको भ्रमण, तराईका फाँट र हिमश्रृङ्खलाको मनमोहक दृष्यावलोकनको उपयुक्त गन्तब्य बन्नेछ । स्वच्छ हावा–पानीको अनुभूती गर्दै प्याराग्लाईडिङ, सप्तकोशीमा र्याप्mटिङ, बोटिङको आनन्द लिनेसमेतको व्यवस्था मिलाउन गाउँपालिका लागि परेको छ ।
लिम्चुङबुङ झर्ना, बन्न लागेको एभरेष्ट भ्यूटावर, मैसाखाडाँडा, आइटीपीक, मिनिहलेसी गुफा जस्ता पर्यटकीय क्षेत्रका धनी गाउँपालिकाले पर्यटन विकास र आप्mना पाँचवटै वडाको समृद्धि र विकासका लागि खानेपानी, विद्युत, सञ्चारको क्षेत्रमा पनि प्राथमिकताका साथ काम गरिरहेको छ ।

तपाईको प्रतिक्रिया