संखुवासभा  / रुद्राक्ष नेपालको मध्य पहाडी क्षेत्रमा उत्पादन हुन्छ । रुद्राक्षको एकै बोटमा एक पटक फल लाग्दा विभिन्न मुख, आकार र विभिन्न नापका दानाहरू फल्दछन् । रुद्राक्ष रहस्य नामक पुस्तकका अनुसार रुद्राक्ष २७ मुखीसम्म फल्छ भने हालैको खोज अनुसार संसार भरि ३८ मुखीसम्म रुद्राक्ष फलेको पाइएको खुलेको छ । तर सामान्यतः १ देखि १४ मुखीसम्म मात्र सर्वसुलभ उपलब्ध हुन्छन् । पश्चिम नेपालको कास्की, स्याङ्जा, पाल्पा, गुल्मी र पूर्वी नेपालको भोजपुर, संखुवासभा र धनकुटामा बढी पाइन्छ । यसमध्ये पनि बढी उत्पादनको रुपमा भोजपुर र संखुवासभालाई लिइन्छ । नेपाल लगायत भारत, मलेसिया, थाइल्याण्ड, इण्डोनेसिया तथा अस्ट्रेलियामा पनि रुद्राक्ष पाइन्छ । यी देशहरुमा रुद्राक्षको फरक प्रजाति र हावापानी अनुसार गुणस्तर समेत फरक हुन्छन् । विश्वभरमा १२३ प्रजातिका रुद्राक्ष पाइएका छन् ।
धार्मिक परम्परा अनुसार हिन्दु धर्मावलम्बीहरुले जपतपका रुपमा रुद्राक्ष अर्थात दानाको माला प्रयोग गर्दै आएको पाइन्छ । हिन्दु बाहेक बौद्ध धर्मीहरुले समेत मन्त्रोच्चारण र जपतपका बेला दानाको माला प्रयोग गर्छन् । हिन्दु धर्मका अनुसार रुद्र भनेको शिव भगवान र रुद्रको आँखाबाट खसेको आँशु पृथ्वीमा परेपछी उत्पती भएको वनस्पती भएकाले यसलाई रुद्राक्ष भनीएको हो । रुद्राक्ष देवताको बास भएको र शक्ति वृक्षको रुपमा लिइन्छ । त्यसैले टुनामुना गर्ने जादुगरहरुले समेत यसको प्रयोग गर्छन् । विद्वानहरुको भनाई अनुसार रुद्राक्षको माला धारण गर्नाले मानिसको शरीरमा प्राणको नियमन भै कैयौ प्रकारका शारीरिक तथा मानसिक विकारबाट रक्षा हुने गर्दछ । यस्को माला लगाउनाले हृदयविकार तथा रक्तचाप आदि रोगहरुमा विशेष लाभ हुन्छ । आयुर्वेद विज्ञानमा रुद्राक्षलाई महाऔषधिको रुपमा लिइन्छ । पुराणमा उल्लेख भएअनुसार सिद्धियोग परेको बिहीबारका दिन आकाशबाट परेको पानी रुद्राक्षको फूलमा परी तत्काल बन्द हुँदा त्यसबाट एकमुखे रुद्राक्ष फल्न सक्छ । लोकश्रुति अनुसार, एउटा बोटमा यस्तो रुद्राक्ष १२ वर्षमा तीनवटा मात्र फल्छन् भन्ने रुद्राक्षको रोचक तथ्य हो ।
रुद्राक्षको चैत्र महिना देखि फूल फुल्न सुरु हुन्छ । साउन अन्त्य देखि नै बेशीँ र फाँटीला क्षेत्रहरुमा यसको दाना छिप्पीएको हुन्छ, अर्थात् बिक्रिका लागि योग्य बन्छ । तर चिस्यानी तथा लेकाली क्षेत्रहरुमा केही महिना ढिलो छिप्पीने गर्छ । भाद्र महिनादेखि मंसिर महिनामा रुद्राक्ष पाक्छ । यसरी हेर्दा ६ महिनामा बेच्नका लागि योग्य रुद्राक्ष बन्छ भने करिब १० महिनामा पाकेर झरिसकेको हुन्छ । रुद्राक्षको बाह्रै महिना बिक्रि वितरण भएपनि उत्पादनको हिसाबले साउनदेखि मंसिर अर्थात् पाँच महिना यसको बिक्रि वितरण धेरै हुने गरेको छ । बिरुवा रोपेको करिब पाँच वर्ष पछि यस्ले रुद्राक्ष उत्पादन गर्छ ।
रुद्राक्षको पहिचान कसरी र कहाँ भयो भन्ने यकिन नभएपनि नेपालमा पहिलो पटक धरानको पिण्डेश्वर क्षेत्रबाट रुद्राक्षको बिस्तार भएको शिव पुराणमा उल्लेख गरिएको छ । तर बालागुरु षडानन्दले भारतबाट बिरुवा ल्याएर भोजपुर जिल्लाको दिङ्लामा नेपालमा पहिलो पटक रुद्राक्षको बिरुवा उत्पादन गरेको बताइन्छ । उनले लगाएका १०८ वनस्पति बगैंचामा रुद्राक्षको समेत बोट रहेको रुद्राक्षको अनुसन्धान कर्ता र बालागुरुको जीवनी लेखन कर्ताहरुले पुस्तकमा उल्लेख गरेका छन् ।

नेपालमा पहाडी जिल्लाहरुबाट उत्पादन सुरु गरिएको रुद्राक्ष विक्रि वितरण कहिले देखि भयो भन्ने यकिन छैन । पहिले धार्मिक आस्थाका आधारमा मन्दिर, बिहार, गुम्बा लगायतमा यसको माला बनाएर चढाउने चलन थियो । विभिन्न जपतपका लागि पनि यसको प्रयोग गरिन्छ । रुद्राक्षको विषयमा जानकारहरुका अनुसार १ देखि ३ र ७ भन्दा धेरै मुख भएको मुखिदार दाना थोरै मूल्यमा किनबेच हुन थाल्यो । १–३ र ७–१५ मुखि रुद्राक्षको थोरै मूल्यमा विक्रि वितरण सुरु भयो । यो भन्दा धेरै मुखीका रुद्राक्ष अलि धेरै मूल्यमा बिक्रि हुने गरेको बताइन्छ । जुन बेला खरिद गरिएका र बिक्रि गरिका रुद्राक्षहरु पशुपति क्षेत्र, बराह क्षेत्र, अर्जुन धारा लगायतका धाममा बस्ने पुजारी, साधु, सन्त, जादुगर र धनी व्यक्तिहरुले माला र ध्यान जपमा प्रयोग गरेको बताइन्छ । नेपालमा उत्पादीत मुखदार रुद्राक्ष छिमेकी मुलुक भारततर्फ विक्रि हुन थाले पछी यसको मूल्य पनि बृद्धी हुन थाल्यो । सुरुमा धेरै मूल्य नतोकिए पनि कम उत्पादनका कारण क्रमश मूल्य बढेको हो । प्राय ४, ५ र ६ मुखी रुद्राक्ष धेरै उत्पादन हुने भएकाले विक्रिका लागि चल्ती मानिएका मुखिदार कम उत्पादन भएकाले यसको परिमाण थोरै रहेको थियो । जुनबेला रुद्राक्षका ब्यापारीहरु समेत सिमित थिए ।

करिब ७ वर्ष अघिदेखि छिमेकी मुलुक चीनले समेत रुद्राक्ष खरिद गर्न थालेपछी यसको मूल्य आकासिएको हो । भारत र चीन दुवैले यसको खरिद गर्न थालेपछि रुद्राक्ष बहुमूल्य बन्यो । चीनले रुद्राक्षको व्यापार सुरु गरेदेखि झन्डै ४ वर्ष उत्पादन भए जति अर्थात भारतले खरिद नगर्ने ५, ६ र ७ मुखि समेत खरिद गरे । उत्पादन भए जति बिक्रि हुने भएपछि कृषकहरुले समेत यसबाट राम्रो आम्दानी पाए । भारतले खरिद नगरेका र कुहिएर खेरजाने रुद्राक्षको समेत प्रतिगोटाका दरले र प्रतिकेजीको हिसाबले रुद्राक्षको मूल्य पाएपछि कृषकहरुको मूख्य आम्दानीको स्रोत बनेको थियो । भने रुद्राक्ष व्यवसायिहरु पनि उसै गरी लाभाम्वित भए । तर चिनिया व्यापारी नै कृषकको घरघरमा पुगेर रुद्राक्ष खरिद गर्न थाले पछि स्थानीय व्यापारीहरुलाई समस्या भएको थियो । कृषकबाट खरिद गरेर चिनियाँ र भारतीय व्यापारीलाई बिक्रि गरेर स्थानीय व्यापारीहरुले नाफा कमाउने गरेका थिए । तर चिनियाँ र भारतीय व्यापारीहरुले कृषक सामु पुगेर रुद्राक्ष खरिद गरेपछी स्थानीय व्यापारीहरुको नाफा लिने ठाउँ नपाएपछि उनीहरुलाई गाउँगाउँ जानबाट रोक्न स्थानीय व्यापारीहरुले विरोध समेत गरेका थिए । तर स्थानीय व्यापारीले भन्दा धेरै मूल्य चिनियाँ र भारतिय व्यापारीहरुले थाले पछि कृषकहरु खुशि भएका थिए ।
सरकारलाई कर तिरेर व्यवसाय गरेका व्यापारीहरुले चिनियाँ र भातिय व्यापारीहरु कर नै नतिरी गाउँमा पुगेर रुद्राक्ष खरिद गरेपछी आफूहरुलाई समस्या भएको भन्दै स्थानीय व्यापारीहरुले विरोध गरेका थिए । विरोधपछि उनीहरुलाई गाउँगाउँ पुगेर रुद्राक्ष खरिद गर्न रोक लगाइएको थियो । उनीहरुका लागि सदरमुकाम खाँदबारी बजार खरिद केन्द्रका रुपमा तोकिएको थियो । जुन नेपालकै सबै भन्दा ठूलो रुद्राक्ष व्यापारी केन्द्र हो । यहाँ भोजपुर र संखुवासभामा उत्पादन भएका रुद्राक्ष बिक्रिका लागि खाँदबारी नै ल्याउने गरिन्छ । चिनियाँ तथा भारतीय व्यापारीहरुले खरिद गरी जम्मा गरेर तुम्लिङटार विमान स्थलदेखि काठमान्डौ पु¥याउने भएकाले सबै व्यापारी र रुद्राक्ष भेला गर्ने भएकाले पनि यो ठूलो व्यापारीक केन्द्र हो ।
रोपेपछी वर्षमा एकपटक मात्र फलको आश गर्नु पर्ने र अरु खेती व्यवसायमा जस्तो स्याहार गोडमेल गरिरहनु पर्ने नभएकाले कृषकहरु रुद्राक्ष व्यवसाय प्रति लाभाम्वित भएका हुन् । यसले गर्दा सजिलो र सरल व्यवसाय भएकाले कृषकहरु यसको खेती तर्फ आकर्षण भएका हन् । तर यसरी रुद्राक्षबाट मनग्य आम्दानी गरिरहेका कृषकहरुलाई रुद्राक्ष बिक्रि गर्दाको समयसम्म जोगाउन पनि उत्तिकै मुस्किल छ । रुद्राक्षको फूल खेल्न सुरु गरेदेखि करिब १० महिना कृषकहरुलाई निकै समस्या छ । ंचैत्र, वैशाखमा हावाहरी र असिना पानीले यसको फूल झार्ने र खडेरी पर्दा फूल सुक्ने समस्या हुन्छ । दाना छिप्पीएसंगै चोरीका घटना बढ्ने भएकाले किसानहरुलाई रुद्राक्ष जोगाउन निकै मुस्किल परेको बताउँछन् । यस्तो समस्या बढेकाले प्राय किसानहरु रुद्राक्ष व्यवसायिलाई ठेक्का दिने गर्छन् । रुद्राक्ष टिप्नलाई रुख चढेर जोखिममा पर्नु, चोरीबाट जोगाउनु, प्रतिकुल मौसमको मारमा पर्नु भन्दा ठेक्का लगाएपछी समस्या नपर्ने किसानहरु बताउँछन् । रुद्राक्षको बगान लागएका किसानहरुले मोटै रकम लिने गर्छन् भने सामान्य ४÷५ रुख भएकाहरुले ५० हजार भन्दा माथि रकम लिने गरेका छन् । यसमध्ये पनि गुणस्तरीय र मुखदार रुद्राक्ष फल्ने गरेकोमा लाखौँ रुपैंया ठेकेदारहरुले तिर्ने गरेका छन् । कतिपय ठेकेदारहरुले गुणस्तरीय रुद्राक्ष फल्ने बोटलाई ३ भन्दा धेरै वर्षका लागि ठेक्का लगाउने गरेका छन् ।

चिनियाँ व्यापारीले बोटमा फलेजति रुद्राक्ष खरिद गरेपछी यसरी ठेक्का लिएका ठकेदारहरुले राम्रै आम्दानी गरेका थिए भने किसानहरुले समेत रुद्राक्षलाई मूख्य आम्दानीको स्रोत बनाए । चिनीयाँ व्यापार बढेसंँगै किसानले गुणस्तरीय रुद्राक्ष फल्ने एक रुख बराबर एक करोड भन्दा धेरै लिएका थिए । चिनीयाँ व्यापारीले गुणस्तरीय रुद्राक्षको रुपमा चिल्लो, थेप्चे, मुडे, मदाने, कण्ठे र ठूलो आकारका रुद्राक्षलाई लिएका थिए । यस किसिमका रुद्राक्ष फल्ने बोट र रुद्राक्षलाई उनीहरुले महँगो मूल्य तिर्ने गरेका थिए ।
हालसम्म सबैभन्दा धेरै मुखदार रहेको २७ मुखे रुद्राक्ष भोजपुरमा फलेको रुद्राक्ष व्यवसायि संघ भोजपुरका अध्यक्ष सुरेश चाँपागाईँले बताए । तर भोजपुरमा वार्षिक कति उत्पादन हुन्छ र कति मूल्य बराबरको कारेबार हुन्छ भन्ने तथ्याङ्क कोही कसैसंग नभएको बताए । उनले भन्सारमा समेत यसको परिमाणको बारेमा तथ्याङक नभएको जनाए । संखुवासभामा पनि यसको परिमाण र आम्दानी रकमको विषयमा जानकारी नभएको रुद्राक्ष वयवसायि संघ संखुवासभाका अध्यक्ष चक्र विशुंकेले बताए ।
तत्कालिन जिल्ला विकास समितिले रुद्राक्ष खरिद बिक्रिका लागि २०७१ सालबाट लाइसेन्स वितरण सुरु ग¥योे । विक्रि वितरणका लागि क्षेत्राधिकार अनुसार क, ख र ग वर्गमा व्यवसायिलाई लाइसेन्स वितरण ग¥यो । ग वर्गका जिल्ला भित्र, ख बर्गका देशभर र क वर्गका अन्तराष्ट्रि व्यापार गर्न पाउने गरी लाइसेन्स वितरण गरिएको थियो । ग वर्ग लाइसेन्सका लागि तीन हजार, ख वर्गका लागि सात हजार र क वर्गका लागि १२ हजार शुल्क लिएर लाइसेन्स वितरण प्रक्रिया सुरु गरिएको थियो । नयाँ लाइसेन्सका लागि यसरी दररेट कायम गरिए पनि नवीकरणका लागि क वर्गलाई ८ हजार, ख बर्गलाई ४ हजार र ग वर्गलाई २ हजार तोकिएको थियो । जिल्ला समन्वय समितिमा लाइसेन्स वितरण गरेदेखिको सम्पूर्ण तथ्याङ्क नभए पनि २०७३÷०७४ मा १ सय २४ जना व्यवसायिले लाइसेन्स नवीकरण गरेका छन् । जसमा क बर्गका तीन जना, ख वर्गका ८१ जना र ग वर्गका ३९ जनाले लाइसेन्स नवीकरण गरेका थिए । यो वर्ष ५६ हजार ४ सय राजस्व जम्मा भएको थियो । २०७४÷०७५ मा ५५ जनाले मात्र नवीकरण गरेका थिए । जसमध्ये ५ जनाले नयाँ लाइसेन्स लिएका थिए । ०७३÷०७४ मा भन्दा ०७४÷०७५ मा लाइसेन्स नवीकरण गर्नेहरुको संख्या कम देखिनु रुद्राक्षको मूल्यमा गिरावट हुनु हो ।
अब रुद्राक्षको खरिद बिक्रिको सुरसार हुन लागेको छ तर अहिले जिल्ला समन्वय समितिले नवीकरण गर्नेकी स्थानीय तहले भन्नेमा अन्यौल देखिएको छ । जिल्लाका १० स्थानीय तहमध्ये पाँचखपन नगरपालिका रुद्राक्षको मूख्य उत्पादन क्षेत्र मानिन्छ । नगरपालिकाका मेयर विपिन राईका अनुसार यसै वर्षदेखि पाँचखपनले लाइसेन्स वितरण कार्य सुरु गर्नेछ । लाईसेन्स वितण नगरपालिकाको मूख्य राजस्व संकलन गर्ने स्रोत मानिएको छ ।
रुद्राक्ष बिक्रि वितरणको समय सुरु हुन लाग्दा समेत लाइसेन्स नवीकरणका लागि व्यवसायिहरुले चासो राखेका छैनन् । रुद्राक्षको मूल्य राम्रो भएका वर्षहरुमा यतिबेला व्यवसायिहरुको खाँदबारीमा ठूलै जमघट हुने गथ्र्यो । यतिबेलासम्म रुद्राक्षको मूल्य घट्ने या बढ्ने टुंगो नभएका कारण व्यवसायिहरु मौन छन् ।

माग भन्दा उत्पादन धेरै भएकाले रुद्राक्षमा ह्रास आएको व्यवसायिहरु बताउँछन् । रुद्राक्ष्को मूल्य बढेसंगै यसको खेती गर्नेहरुको संख्या पनि बृद्धी भएको हो । यसरी अध्याधिक उत्पादनले गर्दा मूल्यमा गिरावट आएको हो भने जलवायु परिवर्तनका कारण गुणस्तरीय उत्पादन नहुँदा समेत यसको मूल्य घटेको व्यवसायि चित्रबहादुर श्रेष्ठ बताउँछन् ।
नेपालमा उत्पादित रुद्राक्ष छिमेकी मुलुक चीन र भारतमा मात्र विक्रि वितरण हुने गरेको छ । जसमा ५ र ६ मुखे रुद्राक्ष चीन तर्फ विक्रि वितरण गरिन्छ भने अन्य ठूला मुखदारहरु भारत तर्फ निर्यात गरिन्छि । निश्चित बजारका कारण अन्य मुलुकमा निर्यात गर्न नसक्दा पनि मूल्य घटिरहेको व्यवसायिहरु बताउँछन् । ठूलो परिमाणमा रुद्राक्षको उत्पादन भएपनि यसको थोरै माग भएकाले मूल्यमा सुधार नभएको हो ।
रुद्राक्षको मूल्य बृद्धीहुँदा होटल व्यवसाय समेत फस्टाएको थियो । साना देखि ठूला होटलले यसबेला राम्रै आम्दानी गरेको होटल व्यवसायिहरु बताउाछन् । व्यापारीहरु खाँदबारी आउने र यहाँका होटलमा बसेर रुद्राक्ष मौल तौल गर्ने गर्दथे । होटलमा महिनौं बस्नु पर्ने भएकाले मोटो रकम होटलमा नै खर्च हुने गरेको थियो । तर अहिले रुद्राक्षको चहलपहल नहुँदा खाँदबारीमा होटल व्यवसाय धरापमा परेको छ ।
अहिले चिनियाँ व्यापारीहरु खाँदबारीमा नै रुद्राक्षका विभिन्न गहनाहरु बनाउन थालेका छन् । संखुवासभा र भोजपुरबाट संकलन गरेको रुद्राक्ष उनीहरुले खाँदबारीमा घर भाडामा लिएर कामदार सहित राखेर विभिन्न सजावटका सामान उत्पादन गरिरहेका छन् । पहिले नेपाली व्यापारीले चीनमा विक्रि वितरण गरिरहेको रुद्राक्ष अहिले चिनीयाँ व्यापारीले नै नेपालमा बिक्रि वितरण गरिरहेको छ । उनीहरुले रुद्राक्षबाट सजावटका सामाग्री, गहना, ब्याग, माला, ब्रास्लेट निर्माण गर्छन् र महँगो मूल्यमा नेपालमा नै बिक्रि गर्छन् । यसबाट अब हामी पनि केही सिक्नेकी ?

तपाईको प्रतिक्रिया