मञ्जु तिमसिना
इलाम । पूर्वी इलामका किसानले व्यवसायीक रुपमा काक्रा र इस्कुस खेतीबाट मनन्य आम्दानी गर्न थालेका छन् । सूर्योदय नगरपालिका र रोङ्ग गाउँपालिका क्षेत्रका किसानले अन्य खेती छोडेर काँक्रा र इस्कुस खेती गर्न थालेपछि उनीहरुको आम्दानीको स्रोत बढ्दै गएको छ ।
काँक्रा इस्कुस खेती गर्दा कम मेहनतमा राम्रो आम्दानी गर्न सकिने भएकाले यँहाका किसानले खाध्यबाली हुने क्षेत्रमा व्यवसायीक रुपमै काँक्रा खेती गर्न थालेका छन् । झापा र छिमेकी देश भारतका बजारमा सजिलै पठाउन सकिने भएकाले काँक्रा र इस्कुस खेती शुरु गरेको सूर्योदय नगरपालिका गहिरिगाउँका किसान तथा तरकारी संकलक मिठ्ठे प्रधानले बताउनुभयो ।
काँक्रा खेतीबाट मात्रै प्रति परिवारले २ लाख २५ हजार देखि ३ लाख रुपैंयाँसम्म किसानले आम्दानी गर्दै आएका छन् । काँक्रा खेतीबाट भएको आम्दानीले झण्डै एक वर्षको लागि खाद्यान्न किनेर केही रकम वचत गर्न सफल भएको किसानको भनाइ छ ।
भारतको पश्चिम बंगाल स्थित सिलिगुडि तथा दार्जिलिङ्ग र नेपालका बजारमा माग उच्च हुने भएकाले व्यापारीहरु किसानका घरघरमै काँक्रा र इस्कुस खरिदमा आउने गरेका छन् ।

तपाईको प्रतिक्रिया