इटहरी । सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिका–६ स्थित मुख्य चोक क्षेत्रमा विहान एउटा मोवाईल पसल र खेतीखोला नजिकै रहेको पशुपति रोड केरियरमा एकै पटक दुइ ठाँउमा चोरी भएको छ ।
इलाका प्रहरी कार्यालयदेखि ५ सय मिटर पश्चिम क्षेत्र भित्रमा पर्ने पसल र केरियर दुबै गरी कम्तिमा साढे १० लाख रुपियाँ बढिको सामान र नगद चोरी भएको पीडित ब्यवसायीहरुले बताएका छन् । पीडितमध्ये इटहरीको चोकैमा रहेको मेरो कम्युनिकेशन मोवाईल पसलका सञ्चालक दीपक कायस्थले आफ्नो मोवाईल पसलबाट कम्तिमा ८ लाख बढिको बढी मुल्यको मोवाईलहरु चोरी भएको बताए ।
पसलको सटरमा लगाएको ताला काटेर सटर झम्पलले च्यातेर पसलमा भित्र पसि महंगो ब्राण्डका मोवाईलहरुमात्र छानेर चोरी लगेको पनि पीडित ब्यवसायी कायस्थले जानकारी दिए । सो क्षेत्रका सुरक्षागार्डका रुपमा कार्यरत सिभिल सेक्युरिटीका एकराज रेग्मीले विहान ४ बजे घर गएपछी पसल चोरी भएको हुन सक्ने आशङ्का ब्यक्त गरे ।
सोही प्रकृति र प्रविधि प्रयोग गरी इटहरीकै खेतीखोला नजिकै रहेको पशुपति रोड केरियरको सटर फुटाई भित्र रहेको दराजमा राखिएको नगद दराज फोडेर दुई लाख पँचास हजार रुपियाँ लगेको केरियरका इन्चार्ज केशवप्रसाद गेलालले बताए । उक्त केरियरमा अरु सामान भने चोरी नभएको र नगदमात्र लगिएको पनि जानकारी दिए ।
चोरीको विषयमा ब्यापारीहरुले प्रहरी प्रशासनको कमजोरीकै कारणले चोरी भएको आरोप लगाएका छन । उता इलाका प्रहरी कार्यालय इटहरीले भने चोरीको घट्नाप्रति संवेदनशील हुँदै चोरको ब्यापाक रुपमा खोजतलास प्रारम्भ गरेको जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया