काठमाडौं।  ३३ किलो सुन र सनम हत्याकाण्डका मुख्य अभियुक्त चुडामणि उप्रेगी ‘गोरे’ काठमाण्डौबाट पक्राउ परेका छन् । विशेष अनुसन्धान टोलीले गोप्य सूचनाका आधारमा गोरेलाई काठमाडौं महानगरपालिका वडा नम्बर ८ गौरीघाट क्षेत्रबाट मंगलबार बिहान ५ बजेर ३४ मिनेटमा नियन्त्रणमा लिएको हो । मंगलबार गृहमन्त्रालयमा पत्रकार सम्मेलन गरी विशेष अनुसन्धान टोलीले गोरेलाई सार्वजनिक गर्दे गोप्य सूचनाको आधारमा पक्राउ गर्न सफल भएकोे जानकारी गराएको हो । मन्त्रिपरिषद्को चैत २० गते बसेको बैठकले गृहमन्त्रालयका सह सचिव इश्वरचन्द्र पौडेलको संयोजकत्वमा संगठित अपराध निवारण ऐन २०१२ बमोजिम विशेष अनुसन्धान टोली गठन गरेको थियो। सुरुमा अध्ययन अनुसन्धानका लागि ४५ दिनको समय पाएको यो समितिलाई सरकारले जेठ मसान्त सम्मको समय थप गरेको छ । यो टोलीले ३३ किलो सुन काण्डमा संलग्न भएका ६५ जना विरुद्ध २०७५ जेठ १९ गते मोरङ जिल्ला अदालतमा विभिन्न आपराधिक समूहको स्थापना लागायत संगठित अपराध ऐन अन्र्तगत आकर्षित हुने अभियोजन सहितको मुद्दा दर्ता गरिसकेको छ । टोलीले अनुसन्धानको दायरामा राखेकाका बारेमा पनि प्रारम्भिक सोधपुछका क्रममा गोरेबाट थप तथ्य र सूचना प्राप्त भएको जानकारी दिएपनि समितिले ती सूचना भने सार्वजनिक गरेको छैन । पत्रकार सम्मेलनमा समितिका संयोजक पौडेलले अनुसन्धान अत्यन्तै जटिल र गम्भीर प्रकृतिको भएकाले विषयलाई गम्भीरतापूर्वक लिन पनि आग्रह गरे। उनले गोरेलाई यथासक्य छिटो विराटनगर चलान गर्ने जानकारी गराए। यसघि प्रतिवादी बनाइएका यसै मुद्दाका ६५ मध्ये ३३ फरार र ३२ जनालाई अदालत समक्ष पठाइसकिएको छ। मुद्दाका मुख्य अभियुक्त मोरङ उर्लाबारी ४ घर भई काठमाण्डौको गौरीघाटमा बसोबास गर्दै आएका थिए । ३३ किलो सुनकाण्ड पनि उनी फरार सूचीमा थिए ।

तपाईको प्रतिक्रिया