सन्तोष न्यौपाने
झापा । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) पूर्वाञ्चलले बिहीबारदेखि बिर्तामोडमा शैक्षिक मेला सुरु गरेको छ । इक्यानले आयोजना गरेको यो पूर्वकै पहिलो शैक्षिक मेला हो । शैक्षिक मेलाको उद्घाटन बिर्तामोड नगरपालिकाका मेयर ध्रुवकुमार शिवाकोटीले गरे ।
उच्च शिक्षा अध्ययन गर्नका लागि विदेश जान चाहने विद्यार्थीले मेलाबाट उचित शैक्षिक परामर्श लिन सक्ने बताइएको छ ।
कक्षा १२ को परीक्षा दिएका तथा स्नातक गर्न विदेश जाने सोच बनाएका विद्यार्थीलाई एकै छानामुनि विश्वका उत्कृष्ट शैक्षिक प्रणाली भएका देश तथा विश्वविद्यालयका बारेमा विस्तृत जानकारी दिने उद्देश्यले शैक्षिक मेलाको आयोजना गरिएको इक्यान पूर्वाञ्चल अध्यक्ष रोशन निरौलाले बताए ।
शैक्षिक मेलामा शिक्षा मन्त्रालयबाट मान्यता पाएका ख्यातिप्राप्त शैक्षिक परामर्श संस्थाहरूको सहभागिता छ ।
मेलामा झापाका प्रतिष्ठित शैक्षिक परामर्श संस्थाका साथै काठमाडौँका नाम चलेका शैक्षिक परामर्शदाता संस्थाहरू फास्ट ट्रयाक एजुकेशन, कंगारू एजुकेशन फाउन्डेसन, एक्सपर्ट एजुकेसन भिजा सर्भिसेज, बोस्टन एजुकेसन,काठमाडौँ इन्फोसिस लगायत कन्सल्टेन्सीका स्टल रहेका छन् ।
शैक्षिक मेलाबाट विद्यार्थीले धेरै कन्सल्टेन्सीका बारेमा समेत जानकारी पाउने निरौलाले बताए ।
मेला अवलोकनका लागि आउने विद्यार्थीलाई विभिन्न देशको शैक्षिक अवस्था, त्यहाँका विश्वविद्यालय, कलेज, रहनसहन, भिजा प्रोसेसिङका प्रक्रिया साथै कसरी राम्रो अंक ल्याउने लगायत विषयमा समेत काउन्सिलिङ हुने बताइएको छ ।
मेलामा अस्ट्रेलिया, जापान, भारत, क्यानडा, अमेरिका, न्यूजिल्याण्ड, बेलायत, युरोप, बङ्गलादेश जस्ता प्रतिष्ठित शैक्षिक गन्तव्य भएका मुलुकका उत्कृष्ट विश्वविद्यालय र कलेजका प्रतिनिधीहरूको पनि सहभागिता छ ।
मेला बिर्तामोडमा तीन दिन र विराटनगरमा दुई दिनसम्म सञ्चालन हुने बताइएको छ । झन्डै ५ हजार विद्यार्थीले शैक्षिक मेलाको प्रत्यक्ष अवलोकन गर्ने आयोजकको दाबी छ ।
२९ वैशाखसम्म बिर्तामोडमा सञ्चालन हुने मेला विराटनगरमा ३० र ३१ वैशाखमा आयोजना हुँदैछ ।

तपाईको प्रतिक्रिया