तुम्लिङटार । बहुप्रतिक्षित अरुण तेस्रो जलविद्युत परियोजनाको प्रशासनिक भवनको कम्पाउन्ड वालमा वम विस्फोट भएको छ । खाँदबारी नगरपालिका ९ तुम्लिङटारमा रहेको अरुण तेस्रोको नव निर्मित प्रशासनिक भवनको दक्षिण पट्टीको कम्पाउन्ड वालमा शनिबार राती बम विस्फोट भएको हो । प्रहरीका अनुसार राती १२ बजे वम विस्फोट भएको हो । विस्फोटका कारण वालमा सामान्य क्षति पुगेको प्रहरी निरिक्षक वेदप्रसाद गौतमले बताए । घटनाको जिम्मा कसैले लिएको छैन । अनुसन्धान भइरहेको गौतमले बताए ।
यसअघि अरुण तेस्रोको पावरहाउस निर्माण स्थल चिचिला गाउँपालिका ३ पुखुवामा दुई पटक वम विस्फोट भइसकेको छ । गत माघ २७ गते शनिबार राती पावर हाउसको निर्माणाधिन स्थलमा रहेको भवनमा कुकर वम विस्फोट भएको थियो । विस्फोटका कारण भवनको २ कोठामा क्षति पुगेको थियो । एक वर्ष अघि पनि उक्त भवन निर्माणका बेला बम विस्फोट गराईको थियो । दुवै घटनाको जिम्मा विप्लव नेतृत्वको नेकपाले जिम्मा लिएको थियो । उनीहरुले अरुण तेस्रो आयोजना नेपालकै लगानीमा बन्नु पर्ने माग राख्दै आएका छन् ।
प्रधानमन्त्री केपी शर्माओली भारत भ्रमणका बेला हैदरावाद हाउसमा समकक्षी नरेन्द्र मोदीसँग अरुण तेस्रो आयोजनाको शिलान्यास गर्ने भनीए पनि नेपाल तर्फ प्राविधिक पक्ष कम्जोर भएका कारण शिलान्याश गर्न नसकिएको जानकारी दिइएको थियो । तर भारतीय प्रधानमन्त्री मोदी आसन्न नेपाल भ्रमणको अवसरमा यहीँ वैशाख २८ गते आयोजनाको शिलान्यास गर्ने कार्यक्रम रहेको छ । ९ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत आयोजना भारतीय सतलज कम्पनीले निर्माण गरिरहेको छ ।

तपाईको प्रतिक्रिया