मेघराज तामाङ

चैनपुर । प्रदेश १ नं. को स्थायी राजधानी सार्ने हल्ला निराधार रहेको मुख्यमन्त्री शेरधन राईले बताए । शनिबार संखुवासभाको चैनपुरमा आयोजित प्रथम मेयर गोल्ड कपको उद्घाटन गर्दै राईले स्थायी राजधानी इटहरी सार्ने हल्ला गलत रहेको बताए । उनले भने, पछिल्लो समय केही मिडियाहरुमा प्रदेशको राजधानी इटहरी सार्ने हल्ला निराधार भएकोले त्यसको पछि नलाग्न अनुरोध गरे । अहिले प्रदेशको राजधानी र नामाङ्कनको विषयमा केही छलफल भइरहे पनि औपचारीक छलफल हुन बाँकी रहेको राईले बताए ।
कतिपय मानिसहरुले स्वार्थको आधारमा राजधानी सार्ने कुरा प्रचारप्रसार गर्ने गरेको पाइएको बताउँदैै कस्ले कुन उद्देश्यको लागि त्यस्तो प्रचार गरेको हो, थाहा नभएको उनको भनाई छ । मुख्यमन्त्रीको हैसियतले प्रदेशको नामाङ्कन र स्थायी राजधानी तोक्ने सम्बन्धी सहजीकरण गर्ने भएपनि सर्वसहमतिबाट नै अन्तिम टुङ्गो लाग्ने स्पष्ट पारे ।
मेयर गोल्डकपको उद्घाटन गर्न आएका राईले प्रदेश नम्बर १ ले खेलकुदलाई प्राथमिकताका साथ लिएको जानकारी दिए । विगतमा नेपालको खेलकुद क्षेत्र राजनितिक दलदलमा फसेको बताउँदै अब त्यस्तो हुन नहुने बताए । राज्यले समेत खेलकुद क्षेत्रमा लगानी गर्न नसकेकाले खेल क्षेत्रको विकास हुन नसकेको बताउँदै त्यसबाट पाठ सिकेर प्रदेश १ ले खेलकुद क्षेत्रमा लगानी गर्ने जानकारी गराए ।
उच्च भुभागमा खेलाईने (हाई अल्टिच्युड) खेलहरुको पनि सम्भाव्यता अध्ययन गरी खेल सञ्चालन गरेर अन्तराष्ट्रिय खेल जगतको पनि ध्यानाकर्षण गरिने उनको भनाई छ । हाई अल्टिच्युडको खेल सञ्चालनको लागि प्रदेश नम्बर १ अत्यन्त सम्भावना बोकेको जिल्लाहरु रहेको बताए ।

तपाईको प्रतिक्रिया