इटहरी / मुख्यमन्त्री शेरधन राईलगायत एक टोलीले गोप्य रुपमा इटहरीमा निर्माण भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नवनिर्मित भवनको अवलोकन गरेका छन् ।

अख्तियारको सो कार्यालयमा मुख्यमन्त्रीको कार्यालय राख्ने योजना रहेको बताइन्छ । अख्तियार, रेशमखेती अनुसन्धान कार्यालयको ४५ विगाहा जमिनमा मुख्यमन्त्री कार्यालय राख्न आन्तरिक तयारी अघि बढेको छ । अख्तियारको नवनिर्मित अत्याधुनिक तीन वटा भवनमा गरेर ४५ बढी कोठाहरु छन् ।

पर्याप्त पार्किङ समेत रहेकोले यो भवन र ठाउँलाई प्रयोग गर्ने सल्लाह मुख्यमन्त्रीलाई इटहरीवासीले दिँदै आएका थिए । सोही क्रममा मुख्यमन्त्रीले कार्यालयको भवन र जग्गा हेरेको बताइन्छ ।

इटहरीमा पर्याप्त भौतिक पूर्वाधार
यता इटहरीलाई राजधानी बनाउन गठित संघर्ष समितिले इटहरीमा प्रदेशका सबै मन्त्रालय राख्न इटहरी चोक आसपासमै पर्याप्त भौतिक पूर्वाधार रहेको जनाएको छ । समितिका शैलेश विष्टले तरहराको कृषि फर्म, बिउ बिजन कार्यालय, राजस्व कार्यालय, खानेपानी डिभिजन कार्यालय, उद्योग वाणिज्य संघ लगायतको भवन उपयोग गर्न सकिने जनाएका छन् ।

‘इटहरीसँग सबै मन्त्रालय अटाउन पुग्ने भवन, नयाँ भवन बनाउनको लागि प्रशस्त जग्गा र पार्किङको लागि पनि जग्गा छन्,’ उनले भने, ‘इटहरी चोक आसपासमै सरकारी भवन र जग्गा भएको र पूर्वको चौरस्तामा पर्ने भएकोले इटहरी दावेदारी प्रस्तुत गर्छ ।

तपाईको प्रतिक्रिया