विनय प्रधान
धरान । आफ्नो संस्कृतिको जगेर्ना गर्दै पहिचानलाई स्थापित गराउन किरात राई यायोख्खाले आयोजना गर्दै आएको साकेला पर्व उभौली यस बर्ष पनि धुमधामका साथ मनाउने भएको छ ।
अन्नबाली लगाउने समय अर्थात वैसाखे पूर्णिमा उभौली र अन्य बाली थन्क्याउने समय अर्थात मंसिर पूर्णिमा उद्यौली साकेला पर्वको रुपमा बर्षमा दुई पटक साकेला पर्व मनाउदै आएका किरात राईहरुले यसपाली पनि विविध कार्यक्रमको आयोजना गरी साकेला पर्व उभौली मनाउन लागिएको किरात राई यायोख्खा सुनसरीले शनिवार धरानमा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको छ ।
वैसाख १७ गते किराती राजा हाङ बुद्धिकर्ण दरबारक्षेत्र विजयपुरमा विशेष पूजा आजा गरी शुरु गरिने साकेला उभौली पर्व जेष्ठ ५ गतेसम्म अर्थात १५ दिनसम्म विविध कार्यक्रमको आयोजना गरी मनाउन लागिएको सोकला पर्व उभौली २०७५का प्रचारप्रसार संयोजक उपेन्द्र चाम्लिङले बताउनुभयो ।
विगतमा परम्परागत रुपमा मनाउदै आएको यस पर्व २०४५ सालमा किरात राई यायोख्खा विधिवत रुपमा दर्ता भएपनि यसको जगेर्नाका लागि सामुहिक रुपमा मनाउन थालिएको हो । समय अनुसार फरक फरक स्लोगनका साथ मनाइने गरिएको यो पर्व यो बर्ष भने देशमा तीन चरणकै चुनाव सम्पन्न भई मुलुक स्थायित्वतर्फ उन्मुख भएको बेला किरातीहरुको बाहुल्य रहेको प्रदेश नंं १ लाई किरात राज्य बनाउनुपर्ने मागसहित मनाउन लागिएको आयोजकले जानकारी दिएका छन् ।
यसलाई व्यापक बनाउन सुनसरी जिल्लाका इटहरी, धरान, दुहवी, चक्ररघट्टी, इनरुवा तथा बांगेबजारमा साकेला सिलीको प्रतियोगितात्मक प्रदर्शन पछि आआफ्नो नाच स्थलको सरसफाई गर्दै यो बर्षको साकेला पर्व उभौली समापन गरिने आयोजकले जनाएको छ ।

तपाईको प्रतिक्रिया