विराटनगर÷ गोपाल पोखरेल÷ प्रतिक श्रेष्ठः युवराज खतिवडा अर्थमन्त्री भएपछि सरकारले भन्सार प्रयोजनका लागि चिनीको सन्दर्भ मूल्य सूची प्रति टन ४ सय ६० अमेरिकी डलर कायम गरेको छ । तर पैठारी भइरहेको चिनी प्रति टन ३ सय २० देखि ३ सय ६० डलर सम्म परेको व्यवसायीको दाबी छ । अर्थमन्त्री खतिवडाको ‘मुहान सफा गर्ने’ योजना र निर्देशनअन्तर्गत सबै भन्सार कार्यालय व्यापारिक मालसामानमा सन्दर्भ मूल्यसूची (रेफरेन्स भ्यालु)अनुसार भन्सार मूल्य कायम गरिरहेका छन् । चिनीको निकासीमा पाकिस्तानको सरकारले त्यहाँका व्यवसायीलाई प्रति टन १ सय १० देखि १ सय ३० डलर फ्रेट सुविधा दिएपछि त्यहाँबाट सस्तो मूल्यमा चिनी झिकाइएको थियो । यसबाहेक युएई, थाइल्यान्ड र ब्राजिल लगायतका मुलुकबाट पनि चिनीको पैठारी गरिएको छ । यो चिनी व्यवसायीले छुटाएनन् र यार्डको गोदाममै राखे भने ठुलो जटिलता उत्पन्न हुनसक्छ ।
सरकारले चिनीको भन्सार महसुललाई दोब्बर बढाएपछि उद्योग संगठन मोरङका अध्यक्ष मुकेश उपाध्यायले व्यवसायीले चिनीको कारोबार, मूल्य प्रति टन ३ सय २० देखि ३ सय ६० अमेरिकी डलर रहेको जानकारी दिँदै भन्सार प्रयोजनका लागि परल मूल्य कायम गरिदिन आग्रह गरे । उपाध्ययले त्यसको बरोध स्वरुप चिनी भन्सार गोदामबाट नछुटाउने र भन्सारको गोदाममै थन्क्याइदिने चेतावनी दिए । सरकारले कारोबार मूल्यलाई मान्यता नदिएसम्म चिनी नलैजाने बताए ।
उद्योगीहरुले चार–पाँच उद्योगलाई नाफामा लैजान चिनीको भन्सार महसुल र कारोबारमा मूल्य वृद्धि गरिनु दुर्भाग्यपूर्ण भएको टिप्पणी गरे ।यसबाट सर्वसाधारण उपभोक्ताको ढाड सेकिने र चिनीमा आधारित बिस्कुट, कन्फेक्सनरी, जुस, कोल्ड ड्रिङ्क्स लगायतका उद्योग सङ्कटमा पर्ने मोरङ व्यपार संघमा वरिष्ठ उपाध्यक्ष प्रकाश मुन्दडाको भनाई छ ।
चिनीको भन्सार महसुलमा वृद्धि भएको एक सातापछि विराटनगरमा चिनीको खुद्रा मूल्य प्रति किलोग्राम २ देखि ४ रुपैयाँले वृद्धि भएको छ । विराटनगर भन्सार कार्यालयका अनुसार गत आर्थिक वर्षको चैत मसान्त सम्ममा उक्त नाकाबाट १ करोड ७ लाख मूल्यको १ सय ६९ टन चिनी पैठारी गरिएको थियो । चालु आर्थिक वर्षको चैत मसान्त सम्ममा दुई अर्ब मूल्यको ४२ हजार ५ सय २४ मेट्रिक टन चिनी आयात गरिएको छ । गत आवको चैत मसान्त सम्ममा विराटनगर भन्सारले चिनीको आयातबाट २७ लाख राजस्व असुल गरेको थियो । चालु आवको सोही अवधिमा ६१ करोड असुल गरेको छ । सरकारले चिनी उद्योगलाई संरक्षण गर्नुपर्ने तर्क दिँदै भन्सार महसुल र मूल्याङ्कनमा वृद्धि हुनु माथिल्लो निकायको योजना भएको विराटनगर भन्सार कार्यलयले जनाएको छ ।
बाईट ः मिमांस अधिकारी ,भन्सार प्रमुख , विराटनगर भन्सार कार्यलय ,विराटनगर । विराटनगर भन्सारका कार्यलयले चिनी यार्डमा थन्क्याइएको पुष्टि गरको छ । हाल थन्क्याइएको १० कन्टेनर चिनी व्यवसायी दिनेश राठीको हो।

तपाईको प्रतिक्रिया