इटहरी, २ बैशाख । आर्थिक अनियमितता भ्रष्टाचार र गैर जिम्मेवार कार्यले थाङ्गथिलो बन्न थालेको बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जटिल रोगको उपचारमा आउने विरामी जाँचका लागि अत्यावश्यक मानिने एमआरआई उपकरण खरिद प्रकरणका कारण थप चर्चाको शिखरमा छ । प्रतिष्ठानले चिकित्सा विज्ञानको क्षेत्रमा सुपर स्पेसियालिटी सेवा थप गर्ने क्रममा पछिल्लो समयमा मुटु तथा क्यान्सर रोगको उपचारका लागि नयाँ थप दुई भवन बनाउने योजना अघि सारेर ४ अर्ब ५0 करोड को लगानीमा दुई दुई सय शैया गरी चार सय शैयाको भवन निर्माण प्रक्रिया अघि बढाई अन्तिम दुई घण्टा समय बाँकी रहँदा बोलपत्र नै रद्द गर्दै प्रतिष्ठानका जिम्मेवार पदाधिकारीले आर्थिक भ्रष्टाचारको जाले बुनेको खुलाशा हुँदै आएको छ । प्रतिष्ठानमा नयाँ नियुक्त भएर आउनु भएका उपकुलपति प्रोफेसर डा. राजकुमार रौनियारले कार्डियोलोजी र अङ्कलोजी अर्थात मुटु र क्यान्सर रोगको उपचारका लागि अस्पताल भवन निर्माणको बोलपत्र रद्द गर्दै उक्त अस्पताल भवन निर्माण गर्ने रकममध्ये १८ करोड रुपियाँ एमआरआई खरिदका लागि विदाको दिन अर्थात शनिवार एलसी खोलेर काठमाण्डौका आपुर्तीकर्तासँग सम्झौता गरेका थिए । काठमाण्डौका एमआरआई आपुर्तिकर्ता ब्यवसायी विशाल पण्डितसँग प्रतिष्ठानका उपकुलपति प्रोफेसर डा. रौनियारले उक्त विवादित खरिद प्रकरण कार्य अघि बढाएको विषयमा यही गएको चैत १८ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता सहसचिव दिर्घराज मैनालीले बयान लिनुभएपछि चैत १९ गते उक्त मेशिन खरिदको सम्झौता एकाएक रद्द गरिएको छ । एमआरआई मेशिन खरिद सम्झौता रद्द भएपछि प्रतिष्ठानको सुपर स्पेसियालिटी अभियान गर्भमा नै बच्चा तुहियो भने झै बन्दै गई रहेको छ । प्रतिष्ठानले अघि बढाएको मुटु तथा क्यान्सर रोग उपचार भवन निर्माणको बोलपत्र अन्तिम समयमा आएर रद्द गर्दै एमआरआई उपकरण खरिदका लागि ठूलो परिमाणमा आर्थिक अनियमितता गर्ने गरी भएको सम्झौता पनि रद्द भएपछि आपुर्तिकर्ता विशाल पण्डितले यही चैत अन्तिममा प्रतिष्ठान विरुद्ध सर्वोच्च अदालतमा मुद्दा हालपछि यो विषय सर्वत्र चर्चाको विषय बन्न पुगेको छ । एकातिर उच्च महत्व दिएर मुटु र क्यान्सर रोग उपचारका लागि भवन बनाउन स्वास्थ्य मन्त्रालय समेतको स्वीकृतिमा रकम समेत प्राप्त गरी भवन बनाउनु पर्नेमा त्यसो नगरी अन्यत्रै विषयमा रकमान्तर गरी आर्थिक अनियमितता गरेको विषय अख्तियार दुरुपयोग अनुसन्धान विभागले कडाईकासाथ हेरिरहेको छ । अर्कोतिर प्रतिष्ठानको भविष्यमाथि नै प्रश्न उब्जिने गरी प्रतिष्ठानको जिम्मेवार पदाधिकारीले गर्दै आएको चरम आर्थिक अनियमिताप्रति केही जिम्मेवार पदाधिकारीले असन्तुष्टि जनाउँदै आउनुभएको छ । यस विषयमा प्रतिष्ठानका रजिष्टार तुलबहादुर श्रेष्ठसँग गरिएको प्रश्नको संक्षिप्त उत्तर दिनुहुँदै उपकुलपति प्रोफेसर डा. रौनियारले गर्दै आउनु भएको मनपरिलाई रोक्नका लागि आर्थिक अनियमितता हुने गरी भएको निर्णय विरुद्ध नोट आफ डिसेन्ट अर्थात विमती जनाउँदै आएको बताउनुभयो । एकातिर प्रतिष्ठानको भविष्यमाथि चरम आर्थिक ब्ययभार थोपर्ने कार्य एकपछि अर्को थपिदै जाँदा प्रतिष्ठान धरासायी बन्दै गई रहेको छ भने साढे चार करोड रुपियाँको मुटु तथा क्यान्सर रोग उपचार भवन निर्माण अन्यौलमा पर्न गएको छ । अर्कोतिर अघिल्लो उपकुलपछि प्रोफेसर डा. बलभद्रप्रसाद दासको पालामा एक दशमलव पाँच प्रतिसत रुपियाँमा काम गर्दै आएको केजी कन्सल्टेण्टलाई सोही कार्यका लागि बर्तमान उपकुलपति प्रोफेसर डा. रौनियारले विश्वभर प्रचलनमा नै नरहेको दर ३ दशमलव ५ प्रतिसत मरामर्शदाता खर्च दिने कार्य गरेर अर्को चरम आर्थिक भ्रष्टाचार गर्दै आएको पनि एकपकिछ अर्को गर्दै खुलाशा हुँदै आएको छ । प्रतिष्ठानमा बढ्दै गएको आर्थिक अनियमितता भ्रष्टाचार र बेथितिप्रति प्रदेश एकका मुख्यमन्त्री शेरधन राईले पनि प्रतिष्ठानको बेथितिप्रति धेरै गुनासो बाहिर आई रहेकाले अव चाँडै प्रदेश सरकारले पनि अधिकार सम्पन्न समिति गठन गरेर प्रतिष्ठानका विषयमा उठेका गलत विषयको अध्ययन एवम छानविन थालिने सञ्चारकर्मीहरुलाई जानकारी दिनुभएको छ । उहाँले अस्वस्थ मानिसलाई स्वस्थ बनाउने थलो आफै आर्थिक रुपले चरम बेथितितिर चुलुम्म डुब्दै जानु दुःखद पक्ष भएको पनि टिप्पणी गर्नुभयो ।

तपाईको प्रतिक्रिया