इटहरी । जनताको मत पाएर जितेर आएपनि राज्यले काम नदिएका कारण बैठक बसेर भत्ता खाने बाहेको काम आफुहरुको नभएको जिल्ला समन्वय समिति सुनसरीका पदाधिकारीहरुले गुनासो गरेका छन ।

विगतमा जिल्ला विकास समितिले गर्दै आएका कामहरु झै काम हुने आशाले सर्वसाधारणहरु आउने गरेपनि आफुहरुसंग कुनै पनि कामको जिम्मेवारी नभएका कारण बैठक वस्ने र भत्ता खाने काममा सिमित भएको जिल्ला समन्वय समिति सुनसरीका अध्यक्ष गोपाल राजभण्डारी लगायतका पदाधिकारीहरुले गुनासो गरेका हुन ।

जिल्ला समन्वय समितिको कार्यालय इनरुवामा पत्रकार सम्मेलन गरी राज्यले जिल्ला समन्वय समितिलाई अनुगमनको जिम्मेवारी दिए पनि कारवाही गर्ने अधिकार नभएका कारण काम विहिन भएको पदाधिकारीहरुले गुनासो गरेका हुन । अनुगमनका जिम्मेवारी दिएपनि प्राविधिक कर्मचारीहरु नभएका कारण अनुगमनमा जान समेत समस्या भई रहेको अध्यक्ष राजभण्डारीले गुनासो गरे । त्यसै गरी जिल्ला समन्वय समितिका सदस्य शम्भु विश्वासले जिल्ला समन्वय समितिहरुलाई कामको जिम्मेवारी नदिएका कारण काम गर्न अपठ्यारो भई रहेको भन्दै गत माघ १० र ११ गते काठमाडौंमा सम्पन्न जिल्ला समन्वय समिति महासंघ नेपालको बैठकले विभिन्न माग अघि सारेको जानकारी दिए । पत्रकार सम्मेलनमा जिल्ला समन्वय समिति सुनसरीका उपाध्यक्ष चिरञ्जीवी बस्नेत र कृष्णकुमारी बिक लगायतले जिल्ला समन्वय समितिलाई समेत कामको जिम्मेवारी दिनु पर्ने माग राखेका थिए ।

तपाईको प्रतिक्रिया