सुनसरी– युवा सन्त श्रीनिवासाचार्यमाथि गए राती गोली प्रहार भयो । यो विषयलाई लिएर हिन्दु धर्मावलम्बिीहरुले विरोध जनाएका छन् ।

बिराटनगरको वडा नम्बर १४ जोतुवास्थित राम जानकी मन्दिरको धर्मशालामा आयोजना भएको पुराणमा सहभागि हुन आएका श्रीनिवासाचार्यलाई गएराति अज्ञात समुहले गोली प्रहार गरेको थियो ।  गएराति शौचालय जान निस्किएका श्रीनिवासाचार्यमाथि तीन राउण्ड गोली प्रहार भएको बताइएको छ ।

उनको बिराटनगरस्थित न्युरो हस्पिटलमा उपचार भैरहेको छ । नेपाललाई हिन्दु राष्ट्रका रुपमा नामाकरण गनुपर्ने उनको माग रहँदै आएको थियो । आक्रमणलाई लिएर धार्मिक क्षेत्रका गुरुहरुले विरोध जनाएका छन् ।

दीनबन्धु शास्त्री ले धार्मिक क्षेत्रका अगुवामाथि भएको आक्रमणलाई सरकारले गम्भिरतापूर्वक लिनुपर्ने बताएका छन् ।

घाइते भएका श्रीनिवासाचार्यले सुनसरीको प्रकाशपुरमा आफनै निवासमा केही दिनअघि पुराण लगाएका थिए । पुराणमा पूर्व राजा ज्ञानेन्द्र शाह समेत उपस्थित थिए ।

पूर्वराजा ज्ञानेन्द्रसँग उनको चैत्र २ गते भेट भएको थियो ।  शाह र श्रीनिवासाचार्यबीच हिन्दु घर्मको रक्षा र हिन्दु राष्ट्रका बिषयमा एक घण्टा गोप्य कुराकानी समेत भएको थियो ।

पूर्व राजा शाह र श्रीनिवासाचार्यवीच भेटघाट भएको केही दिन बित्न नपाउँदै गएराति उनलाई गोली प्रहार गरिएको घटनालाई लिएर बिरोध र्याली निकाल्ने तयारी भइरहेको छ ।

उनको अवस्था खतरामुक्त रहेको प्रहरीको भनाई छ । घटनास्थलमा गोलीका दुईवटा खोका भेटिएको मोरङका एसपी अरुणकुमार बीसीले जानकारी दिए । उनले गोली प्रहार गर्ने अज्ञात समुहको खोजीकार्य भइरहेको पनि बताएका छन् ।

गोली प्रहार भएकोस्थानमा चेतावनीयुक्त पर्चा भेटिएको छ । पर्चामा आदिवासी मंगोल समुदायलाई आचार्यले हेप्ने गरेको र हिन्दूवादी भएको भन्दै त्यसो नगर्न चेतावनी दिइएको उल्लेख छ ।

मनोज भुजेल

source – ratopati

तपाईको प्रतिक्रिया