गर्मी महिना शुरु भैसकेको छ । धेरै ब्यक्तिहरु गर्मी महिनामा जुत्ता लगाउदा मोजा नलगाउने स्वभावका हुन्छन् । कतिपयलाई मोजाले गर्मी गर्ने हुनाले पनि मोजा सकभर लगाउनै नपरोस् भन्ने हुन्छ ।

मोजा नलगाई जुत्ता लगाउनु भनेको स्वास्थको दृष्टिकोणले राम्रो मानिदैन । गर्मी महिनामा पैतालामा संक्रमण हुने सम्भावना बढी हुन्छ । बाहिरी तापक्रम र जुत्ता भित्रको तातो प्रत्यक्ष छालामा पर्दा मोजा नलगाउने ब्यक्तिहरुलाई बढी संक्रमण हुने सम्भावना देखिन्छ । त्यसैले सकभर गर्मी महिनामा पातलो किसिमको भएपनि मोजा लगाएर जुत्ता लगाउनु राम्रो मानिन्छ । गर्मी महिनामा तातोको कारण खुट्टामा विभिन्न किसिमको संक्रमण हुने सम्भावना बढी हुने हुनाले निम्न कुराहरुमा सावधानी अपनाउनु राम्रो हुन्छ ।

खुट्टाको सरसफाइ गर्ने:
आफुलाई धेरै ब्यस्त राख्ने क्रममा धेरैले आफ्नो खुट्टाको सफाईमा ध्यान दिन भ्याइरहेका हुदैनन् । तर तपाईहरुले दिनको न्यूनतम पनि दुई पटक खुट्टाको सफाइका लागि समय निकाल्नै पर्छ । गर्मी महिनामा जुत्तालाई लामो समय लगाउदा पसिनाले दुर्गन्ध हुनुका साथै खुट्टमा संक्रमण हुने सम्भावना पनि बढी हुन्छ । महिलाहरुले गर्मी महिनामा चप्पलको प्रयोग बढी गर्ने हुनाले खुट्टामा धेरै धुलो मौलो रहने गर्छ । यस्तो अवस्थामा औषधिजन्य साबुनको प्रयोग गरेर खुट्टा धुनु राम्रो हुन्छ ।

मोश्चराईजरको प्रयोग:
मोश्चराईजरको प्रयोगले खुट्टालाई नरम बनाउने गर्छ । त्यसैले दैनिक रुपमा सुत्न जानु भन्दा अगाडी खुट्टालाई राम्ररी सफा गरी पुछेर मोश्चराईजर क्रिम राम्ररी दल्ने गर्नु पर्छ । कतिपय ब्यक्तिहरुमा गर्मी महिनामा पनि खुट्टा फुट्ने समस्या रहेको हुन्छ । यस्तो अवस्थामा मोश्चराईजरको प्रयोगले खुट्टा फुट्ने समस्यालाई धेरै हदसम्म कम गरेर खुट्टामा हुने पिडालाई पनि कम गर्छ ।

खुट्टामा हुने इन्फेक्सन:
गर्मी महिनामा पानी पर्ने सम्भावना पनि बढी हुन्छ यस्तो अवस्थामा बढी हिड्डुल गर्ने ब्यक्तिको खुट्टामा फोहोरको मात्रा धेरै भएर बढी संक्रमण हुने सम्भावना रहन्छ । यस्तो अवस्थामा खुट्टाको औंलाको कापाको भाग बढी चिलाउने र सोही भागको छाला च्यातिने समस्या बढी देखिन्छ । यस्तो अवस्थामा बेलुका घरमा मनतातो नुनपानीमा खुट्टालाई केही बेर डुवाएर राख्ने । त्यसपछि सुख्खा कपडाले राम्ररी पुछेर पाउडर लगाउदा धेरै नै राहत हुन्छ ।

मोजा अनिवार्य रुपमा लगाउनु:
गर्मी महिना हो पैतला धेरै पोल्छ भनेर मोजा नलगाउने चलन बढी रहेको छ । तर तपाईको यो सोचाई गलत हो । गर्मी महिनामा तपाईले पातलो सुतीको मोजाको प्रयोग गर्नु राम्रो हुन्छ । यो वाहेक तपाई लामो समय जुत्ता लगाउनु पर्ने अवस्थामा हुनुहुन्छ भने हावा पस्ने किसिमको जुत्ता लगाउनु उपयुक्त हुन्छ ।

पेडिक्योर गर्ने:
खुट्टाको बिशेष सफाइ गर्न अहिले धेरै ब्यूटिपार्लरहरुमा पेडिक्योरका सेवाहरु पनि संचालनमा रहेका छन् । त्यसैले सातामा वा दुई सातामा एक पटक गएर खुट्टाको पेडिक्योर गर्दा खुट्टामा हुने धेरै किसिमको समस्याहरु कम हुदै जान्छ ।

तपाईको प्रतिक्रिया