आज विश्वभरी नै कुशल र सक्षम नागरिक निर्माणका लागि राज्यहरु जुटिरहेका छन् । चाहे ती विकसित, अल्पविकसित या अविकसित हुन् । यसरी राज्यहरु लागिपरिहँदा सक्षमताका मापनहरु समय सन्दर्भअनुसार फरक हुँदै आएका पनि छन् । कुनै जमाना थियो, सामान्य विजुलीबाट सञ्चालन हुनसक्ने साना–साना आविष्कारहरु महान् बन्थे र विश्व मख्ख पथ्र्यो ।

Buddhi magar

यस्तो पनि सम्भव छ र भनिन्थ्यो । अखिर अहिले त्यही आधारमा मानिसले मंगल ग्रहमा रहेको ठूला टावरहरुको खोजीमा जुटिरहेको छ । यस्ता प्रकारका हरेक प्रकारका ज्ञानका आविष्कारहरुमा केही अनिवार्य आधारभूत मानवीय आवश्यकताको सहजता पनि एउटा सवाल हो । विकास र समृद्धिको मुख्य आधारको रुपमा संसारलाई चिन्न सक्ने बनाउने आधारभूत शिक्षाको महत्वपूर्ण योगदान रहने गर्छ । हरेक राज्य तथा सरकारहरुले आफ्नो विकास र समृद्धिमा शिक्षा, स्वास्थ्य, रोजगारी तथा सक्षम मानवीय स्रोतलाई मेरुदण्डको रुपमा व्यवस्थापन गर्ने गरेका छन् । हरेक सवालहरुका आ–आफ्नै महत्व छन् । स्वस्थ भएर बाँच्न पाउनुपर्ने मानवअधिकारको कुरा हो । आफूलाई सबल र सक्षम बनाउनका लागि आधारभूत आवश्यकता आपूर्ति गर्न पाउनुपनि मानवअधिकारको कुरा नै हो । त्यसो त आफूलाई समाजमा चेतनशील प्राणीको रुपमा विकसित गर्न ा शिक्षित भएर रहन पाउनुपनि उत्तिकै महत्वपूर्ण सवाल हो । सुनौला हजार दिनभित्रको बालिका या बालकले गर्भदेखि कम्तिमा पाँच वर्षसम्म पोषणयुक्त खाना र सोही अनुरुपको लालनपालन पाउनु उसको जन्मसिद्ध अधिकार हो । जसको व्यवस्थापनको लागि राज्य, सरकार, परिवार तथा स्वयं नागरिक उत्तिकै जिम्मेवार रहन्छन् । जब उसले आफू स्वस्थ र पोषणयुक्त वातावरणमा हुर्कने, बढ्ने अवसर प्राप्त गर्छ, मानसिक रुपमा सबल तथा सक्षम नागरिक निर्माणका रुपमा आवश्यक पर्ने आधारभूत चेतना विकासका निम्ति केही सीपहरुको समेत जरुरत पर्ने हुन्छ ।

हरेक राज्य तथा सरकारहरुले शिक्षामा गुणस्तरीय परिणामका विषयहरुलाई निकै प्राथमिकतामा राखिरहेका छन् । गुणस्तरीय शिक्षामार्फत् कसरी देशकाल परिस्थिति सुहाउँदो मानवीय स्रोत निर्माण गर्ने भनेर विभिन्न खोज तथा अनुसन्धानहरु गरिरहेका छन् । विशेषगरी जान्ने र मान्ने भएपछि देखिने परिणामहरुको आधार भनेको नजान्दा या मान्ने नहुँदा अथवा आधारभूत अवस्थामा प्रदान गरिएका सीप र व्यवहारिक क्षमताहरुले प्रभाव पार्छन् । बाल्यकालको सिकाइ जीवनपर्यन्त मानवले देखाइरहेको हुन्छ । माथि भनिए जस्तो गुणस्तरीय परिणामका लागि पक्कै शिक्षा तथा सिकाइहरु पनि गुणस्तरीय नै हुन जरुरी छ । तसर्थ यही गुणस्तरीय शिक्षाका निमित्त धेरै राज्य तथा सरकारहरुले आफ्ना लगानीहरु केन्द्रित गरिरहेका छन् । विकसित मुलुकहरुको तुलनामा अल्पविकसीत तथा विकासोन्मुख राष्ट्रहरुमा प्रारम्भिक कक्षा पढाइमा जति मात्रामा सीपहरुको विकास हुनुपर्ने हो त्यो हुन सकिरहेको अवस्था छैन । त्यसमाथि पनि विशेष त दक्षिण अफ्रिकी तथा दक्षिण एसियाली मुलुकहरुका आधारभूत कक्षाहरुमा अध्ययन गर्ने बालबालिकाको पठन सीप तुलनात्मक रुपमा कमजोर रहेको तथ्य स्पष्ट छ ।

शिक्षालाई प्रक्रिया र जागिरेमुखी भन्दा पनि गुणात्मक र परिणाममुखी बनाउने चुनौती तेस्रो मुलुकका राज्य तथा सरकारहरुमाथि थपिएको छ । यस भूगोलमा रहेका बालबालिकाहरुको शैक्षिक गुणस्तर तथा पठन सीप विकासमा कमजोर रहनुमा विशेषतः सरकारी तथा गैरसरकारी निकायहरुले सञ्चालन गर्ने प्रक्रियामुखी शैक्षिक गतिविधिले सहयोगी भूमिका खेलेका छन् । राज्यले पनि शैक्षिक सेवालाई राज्यनियन्त्रित गराउनुको सट्टा शिक्षामा दोहोरो नीति अपनाइरहेको छ । जसले शिक्षालाई निजीकरण गर्न सहज वातावरण निर्माण गरिरहेको छ । यस्तो प्रकारको दोहोरो मापडण्डले शिक्षालाई बजारिया वस्तुसरह बिक्री–वितरण गरिराखिएको अवस्था छ । बजार र उपभोक्ताबीचको एउटा मानसिक सम्बन्ध रहन्छ । ‘जहाँ जति महङ्गो भयो, वस्तु त्यति राम्रो र गुणस्तरीय’ भन्ने मान्यताले स्थान पाइरहेको हुन्छ । यही मान्यता शैक्षिक व्यापारमा पनि हावी हुन गयो । जसको परिणाम निजी र सामुदायिक विद्यालयबीच रहेको शैक्षिक गुणस्तरमा अन्तर देखिन्छ/देखाइन्छ । शैक्षिक संस्थामा काम गर्ने कर्मचारीहरु हुन् या सामान्य अभिभावक, प्रायः सबैले आफ्नो बालबालिकाले सिकिरहेको र सिकनुपर्ने ज्ञानभन्दा पनि पैसा तिरेपछि गुणस्तर आउँछ भन्नेमा सहमत भइरहेका देखिन्छन् । वास्तवमा, यस्तो संरचनामा हुने पनि यही हो ।

सबैका लागि शिक्षा कार्यक्रम विश्वका पहिलो, दोस्रो तथा तेस्रो मुलुकका सरकारहरुले लागू गरिरहेका छन् । कार्यक्रमको मुख्य उद्देश्य शिक्षामा पहुँच र गुणस्तर नै रहेको छ । नेपालले पनि यो कार्यक्रमलाई अवलम्बन गरिरहेको छ । हाल नेपालको सन्दर्भमा ९६ प्रतिशतभन्दा बढी बालबालिकाहरु विद्यालयभित्र रहेको तथ्याङ्कहरु सार्वजनिक भएका छन् । विद्यालयमा विद्यार्थीहरुको संख्यामा आएको उत्साहाजनक सहभागिता अनुसारको गुणस्तर भने हामीले प्राप्त गरिरहेका छैनौं । यस्तो समस्याबाट नेपाल मात्रै नभएर अन्य तेस्रो मुलुकहरु पनि गुज्रिरहेका छन् । सबैका लागि शिक्षा कार्यक्रमले सन् २०१२ मा गरेको अनुसन्धान प्रतिवेदनले एसिया क्षेत्रमा हाल स्कूल गइरहेका बालबालिकाहरुमध्ये ४ वर्षसम्म नियमित रुपमा विद्यालय जाँदासमेत २० करोड बालबालिका न्युनतम सिकाइ उपलब्धिभन्दा तल रहेको देखाएको छ । उनीहरु साक्षरसमेत बन्न नसकेको अवस्था देखाइएको छ । नेपालमा सिकाइ उपलब्धिको मापन गर्ने स्तर कायम नभइरहेको सन्दर्भमा कक्षा ३ सम्म उक्लँदासमेत स्वर वर्ण चिन्न नसकेको, कक्षा २ का बालबालिकाले अक्षर नै नचिनेको अवस्था देखिएको अनुसन्धानले औंल्याएको छ । शैक्षिक गुणस्तरको अवस्था यस्तो रहँदारहँदै पनि राज्यले शिक्षामा गरेको लगानीको हिसाबकिताब गर्ने हो भने यस्तो परिणामको परिकल्पनासमेत गर्न सकिँदैन । तालिमप्राप्त शिक्षकहरुको निरन्तर सहभागिताको अगाडि आधारभूत कक्षाहरुमा अध्ययन गर्ने बालबालिकाको विकराल अवस्था आउनुमा जिम्मेवार को हो त ? यसका कारणहरु खोज्न जरुरी छ । वास्तवमै, बालबालिका र समुदायप्रति उत्तरदायी र जिम्मेवार शिक्षक तथा सम्बन्धित निकायहरु हामीले तयार पारिरेका छौं कि छैनौं होला ? यो नै पहिलो गम्भीर सवाल हो । विद्यालयको भवन निर्माणको सन्दर्भमा चलखेल गर्ने ठेकेदार, ठेक्का पार्नको लागि सक्रिय सम्बन्धित कार्यालयका कर्मचारीहरु, विद्यालय व्यवस्थापन समितिदेखि समुदायका अगुवाहरुले कहिल्यै बालबालिकाहरुले प्रारम्भिक कक्षादेखि उच्च कक्षासम्म प्राप्त गरिरहेका गुणस्तरीय परिणामतर्फ ध्यान दिएका छन्÷छैनन् ? कि भौतिक निर्माण तथा शिक्षक नियुक्तिबाट प्राप्त हुने सानातिना कमिसनमै गुणस्तर खोजिँदैछ ? यो तितो तर यथार्थ प्रश्न अहिले बनेको छ । हो, राज्यप्रति जिम्मेवार र वफादारी देखाउने हो भने सामुदायिक विद्यालयमा अध्ययन गर्ने अति विपन्न समुदायका बालबालिकाहरुको गुणस्तरीय सिकाइ उपलब्धिलाई व्यवस्थित र कार्यमुलक गराउन जरुरी छ । वास्तवमा, जागिर कसका लागि हो त ? व्यक्तिको व्यक्तिगत सुधारका लागि या लक्षित समुदायको अवस्था सुधार्नका निम्ति हो ? भन्ने बहस छेड्न जरुरी छ । कोही पनि शिक्षक कक्षाकोठामा जान लागेको ३० वर्ष पुगिसकेको छ भने बालबालिकाको गुणस्तरीय सिकाइका आधारमा समाजको आधारभूत संरचनालाई सोच्ने तरिकामा परिवर्तन आयो कि आएन होला ? तीसौं वर्षसम्म कपाल फुलाएको सेवालाई फर्केर हेर्दा त्यसले आत्मसम्मान दिन्छ या आत्मग्लानि ? आफू र आफूआबद्ध संस्थामा निहित ज्ञान र क्षमतामाथि समेत विश्वास देखिँदैन भने हामी कोमाथि पत्यार गर्छाैं ? परिणामतः हामी हाम्रा बालबालिकालाई महङ्गा निजी विद्यालयहरुमा अध्ययन गराउँछौं ।

 

शिक्षक सेवा आयोगदेखि विभिन्न सेवाकालीन तथा अन्य तालिमबाट खारिएको सीप र क्षमताभन्दा भनसुनमा दुई/चार दिनका लागि अध्यापन कार्यमा संलग्न पर्यटक शिक्षकहरुमाथि हाम्रो विश्वास किन ? पर्यटक शिक्षकहरुको क्षमतामाथि गुणस्तर देख्ने हामी झनै महापर्यटक त परेनौं ? गम्भीर छन् सवालहरु । हो, हामीले बनाएका शैक्षिक संरचनाहरुको सिकाइ गर्ने वातावरण तथा प्रणालीमा सुधार आउन सकेन होला । यसो भन्दैमा विश्व विकासमा देखिएका नमूनाहरुलाई समेत आफ्नै पहलमा लागू गर्न नसक्नु र गर्ने वातावरण तयार नपार्नु भनेको आफूले आफैंलाई ठग्नु नै हो । हाम्रा सिकाइहरु अहिले पुस्तक तथा विद्यालयका कक्षाकोठाहरुमा सिमित छन् । त्योभन्दा बाहिर हामीले शिक्षा र सिकाइ देख्न सकिरहेका छैनौं । विश्वविद्यालयका कक्षाकोठाहरुमा मात्रै ज्ञानको भण्डार देख्ने हाम्रो दुषित आँखा हामीले फेर्न सकिरहेका छैनौं । होइन भने किन हामीले साधारणभन्दा साधारण आनीबानी पनि सामुदायिक व्यवहारबाट सिक्न सकिरहेका छैनांै ? किन समुदायलाई सिकाइमैत्री बनाउन सकिरहेका छैनौं ? हिजो कुनै दिन निबन्ध लेख्दा राजा अथवा गाईबारे लेखिन्थ्यो । जो पाठ्यपुस्तकमा सिमित थियो । तर, हामीले निबन्ध जसको र जुन विषयमाथि लेख्दा पनि हुन्छ भन्ने अवधारणालाई विकास गर्न सक्यौं कि सकेनौं ? निबन्ध लेख्न सिक्ने न हो, जुनै विषयमा लेख्दा पनि हुने अवस्थालाई सिमित गराएर औपचारिक अवस्था र स्थानहरुमा मात्रै हामी खुम्चियौंै । जसले बालबालिकाहरुले आधाभूत तहदेखि नै सिक्ने दायरा अत्यन्तै सिमित हुन पुग्यो ।

 

हामीले खोजेको गुणस्तर तथा जो व्यवहारिक सिकाइसँग प्रत्यक्ष जोडिएको अनुभूति गर्न चाहन्छौं, हाम्रा सिकाइका आयामहरु त्यस्ता रहन सकेनन् । पाठ्यपुस्तकभन्दा बाहिर निस्केर नानी–बाबुहरुलाई सिकाउन सक्ने जुङ्गे शिक्षक हामीले निर्माण नै गर्न सकेनौं । कथा पढ्दा कालु र भालुको मात्रै पढ्नु र पढाउनु पर्छ भन्ने शिक्षक र विद्यार्थी उत्पादित भए । अरु पनि कथा छन् र तिनलाई पढ्दा पनि हुन्छ भनिएन । हामीले नियमित परीक्षालाई मात्र गुणस्तरीय सिकाइ उपलब्धि मापन गर्ने कसीको रुपमा हेरेका रहेछौं । जबकी, विद्यार्थीले आफ्नो जीवनमा के सिकिरहेको छ भन्ने पाटोलाई पूरै नजरअन्दाज गरिदिएका छौं । अब हामी जिम्मेवार बन्न जरुरी छ । पढ्ने र पढाउने भनेको जीवनलाई बुझ्ने र बुझाउने प्रक्रिया हो । जो प्रत्यक्ष रुपमा परिवार, समुदाय र समाजसँग अन्तर–सम्बन्धित छ । अब सिकाइको दायरालाई बढाउनु पर्छ । शिक्षाविद् विद्यानाथ कोइराला र विष्णु कार्कीको भाषामा भन्नुपर्दा पाठ्यक्रममा मात्रै ज्ञानलाई सिमित राख्नु हुँदैन, रुखबाट खनिमको डाली काट्दा गुरुत्वाकर्षणसम्बन्धी सिद्धान्त पढाउन सक्ने शिक्षक तयार गर्नुृ पर्छ ।

 

हामीले तत्कालै सिकाइको अवधारणामा परिर्वतन गर्न सकेनौं भने अवेर भइसकेको हुनेछ । पैसामा तुलना हुने गुणस्तरलाई हामीले अब सिकाइमा रुपान्तरित गराउन जरुरी छ । जसको लागि बालबालिकाहरुले आधारभूत कक्षा तथा समयमा सिक्ने सिकाइलाई संस्थागत गर्न जरुरी छ । यस्तो सिकाइलाई संस्थागत गर्ने भनेको, परिवार, समुदाय र समाजमा ज्ञान हासिल गर्ने वातावरण तयार पार्ने र पारिदिने नै हो । एउटा शिक्षक र व्यवस्थापन समितिलाई दोषारोपण गरेर सिङ्गो परिवार तथा समाज गैरजिम्मेवार बन्न मिल्दैन । त्यसैले, अब शिक्षाको गुणस्तर विद्यालयको चौघेरामा मात्रै होइन, समुदायमा पनि खोज्ने हो । त्यसको लागि आउँदा दिनहरुमा परिवार र समुदाय थप जिम्मेवार बन्न जरुरी छ ।

तपाईको प्रतिक्रिया