रातो चिटिक्क परेको पुस्तकालय । त्यसमा रङ्गीचङ्गी पुस्तकैपुस्तक । स्वाभाविक हो, पाठकहरु पढ्न पुस्तकालय धाउनुपर्छ । सामान्यतः यो अहिलेसम्मकै मान्यता र चलन हो । तर, यो भने बिल्कुल फरक छ । गजब कुरा त के छ भने यो पुस्तकालयचाहिँ पाठककहाँ धाउँछ । अर्थात्, ‘बुक बस ।’ एउटा यस्तो चिटिक्क परेको बस, त्यसभित्र छिर्दा गाडी चढेको अनुभव हुँदैन । फगत किताब छन् । सजाइएका किताब, देख्दै पढौं–पढौं लाग्ने । किताब पनि बालबालिकाका लागि साह्रै रुचिलाग्दा छन् । ज्ञानबर्द्धक, खोजबर्द्धक त हुने नै भयो, स्नातक तहसम्म पढ्नेले पनि यो बुक बसबाट लाभ लिन सक्छन् । सबै उमेर समूहलाई काम लाग्ने किताब यहाँ पाइन्छन् । त्यसो त, पुस्तकालयभित्र टेलिभिजन सेट पनि राखिएको छ जसमा विभिन्न ठाउँका शिक्षण सिकाइसम्बन्धी वृत्तचित्र हेर्न पाइन्छ ।
अहिले ठूलो र सानोगरी दुईवटा बुक बस छन् । ठूलोमा हजारभन्दा बढी किताब अट्छन् भने सानोमा सात सयदेखि आठ सयसम्म । यसलाई ‘मोवाइल लाइब्रेरी’ अर्थात् घुम्ति पुस्तकालय पनि भनिन्छ ।
यो अभियान थालेको पनि तीन वर्ष बितिसकेको छ । अमेरिकी राजदूतावासले सञ्चालन गरेको यो बुक बस कुनै विद्यालय वा समुदायले निवेदन दिएर बोलाउनेबित्तिकै त्यहाँ पुगिहाल्छ । अहिलेसम्म पोखरा, धनगढी, सुर्खेत र इलाममा यो पुस्तकालय पुगिसकेको छ । बुक बस कार्यक्रमकी संयोजक भेनिसा उदास भन्नुहुन्छ, ‘विद्यार्थीमा पढ्ने बानी बसाल्नु नै बुक बसको मूल उद्देश्य हो ।’
बुक बसमा केवल किताब पढ्नु पर्छ भन्ने छैन । यसले ल्याएको कार्यक्रम त्यत्तिकै महत्वपूर्ण छन् । पुस्तकालयबाट के कस्ता कार्यक्रम दिन सकिन्छ भनेर शिक्षकलाई पनि तालिम दिइने गरिएको उदास बताउनुहुन्छ । तालिमलाई ‘लिटरेसी थ्रु लिटरेचर’ को नाम दिइएको छ । यस्तो तालिममा एक वर्षकै प्याकेज हुन्छ ।
विद्यालयले बुक बस बोलाउन एक प्रकारको ‘इन्फर्मेसन’ फारम भर्नु पर्छ । त्यस फारममा दिइएको जानकारीका आधारमा एउटा विद्यालयमा बुक बस कति समय रहने भन्ने तय हुन्छ । ‘विद्यार्थी संख्या, समय अनुसार एक दिनदेखि एक हप्तासम्म पनि बस्न सक्छौं,’ कार्यक्रम संयोजक भेनिसा उदास भन्नुहुन्छ, ‘विद्यालयको माग, रुचि, वातावरण अनुसार समय तय हुने हो ।’ फारम भर्नुअघि बुक बसबारे विस्तृत जान्नुपरेमा यसको वेभ पेज www.qcbookshop.com हेर्न सकिन्छ ।
बुक बस कार्यक्रमले साझेदारहरुसँग पनि सहकार्य गर्दै आएको छ । विद्यार्थीलाई कविता लेख्न लगाउने, विज्ञान कार्यशाला आयोजना गर्नेलगायतका सिर्जनात्मक काम पनि यो कार्यक्रमले गराउँदै आएको छ ।