अहिले अधिकांश विद्यालयको अन्तिम परीक्षा चलिरहेको छ । बर्षभर विद्यार्थीले केकति जाने भनेर लेखाजोखा गर्ने परीक्षा यही हो । यो परीक्षा सम्पन्न भएसँगै विद्यार्थीहरुको प्रगति नतिजा आउँछ । त्यसपछि उनीहरु स्कुलमा भर्ना हुनेछन् ।

तर, परीक्षा सुरु नभई विद्यार्थी भर्नाको विज्ञापन सुरु भइसकेको छ । आकर्षक नारा र विज्ञापनले विद्यार्थी तान्ने होडबाजी सुरु भइसकेको छ । खासगरी प्रि(प्राइमरी एवं प्राथमिक तहमा विद्यार्थी भर्ना सुरु भइसकेको छ । धेरै विद्यालयले प्रवेश परीक्षाका लागि आवेदन माग समेत गरिसकेको छ ।

विद्यालय पठाउनुअघि वार्मअप

परीक्षा दिइरहेका विद्यार्थी होस् वा पहिलो पटक भर्नाका तयारी गरिरहका बच्चा, हतार नगरौं । बच्चालाई पहिलो पटक भर्ना गरिदिन लागेको हो भने अझ संयमित हुनुपर्छ ।

आफ्ना बच्चालाई विद्यालय पठाउनुअघि उनीहरुलाई कसरी तयार गर्ने भन्ने कुरामा ख्याल गरौं । धावकले दौडनुअघि जसरी ‘वार्मअप’ गर्छन् भने बच्चाले जीवनकै ठूलो रेस अर्थात दौड सुरु गर्नेवाला छन् । हामी बिहान उठेर मर्निङ वाकमा निस्कनुअघि पनि जिउ तन्काउने, मर्काउने गछौं । यस्तो पूर्व तयारी आवश्यक पनि छ । यो कुरा विद्यालयमा पहिलो पटक पाइला टेक्न लागेका बच्चाको हकमा पनि लागु हुन्छ ।

बच्चालाई पनि विद्यालय पठाउनुअघि पर्याप्त तयारी गरौं । उनीहरुलाई मानसिक एवं शारीरिक रुपले तयार गरेपछि मात्र विद्यालय पठाउनुपर्छ ।

विद्यालयलाई कुनै फन पार्क जस्तै रुपमा बुझाउने कोसिस गरौं, ताकि उनीहरु त्यहाँ खेल्न, उफ्रिन, रमाइलो गर्न जान लागेका हुन् । विद्यालयप्रति सकारात्मक भाव पैदा गर्नुपर्छ । विद्यालयमा पनि हामी खेल्न, रमाउन सक्छौं भन्ने किसिमको मनोविज्ञान विकास गराउन सकियो भने उनीहरुमा वितृष्णा जाग्दैन ।

आफै शिक्षक बनौं

आफ्नो आमाको काखमा रमाइरहेको बच्चा कुनैपनि कोठाभित्र थुनिएर घण्टौ विताउन सक्दैनन् । त्यो उनीहरुको निम्ति यातना हो । जहाँ यातना पाइन्छ, त्यहाँ कुनैपनि चेतनशिल प्राणी रमाउन सक्दैनन् । बच्चाले प्रारम्भिक अवस्थामै विद्यालयलाई यातनागृह जस्तो अनुभव गर्न नपरोस् ।

यसका लागि आमा वा बुवाले नै आफुलाई शिक्षकरशिक्षिकाको रुपमा रुपान्तरण गरौं । विद्यालय जाने, आफुपनि केही समय खेल्ने, रमाउने गरौं । यसले गर्दा उनीहरुलाई विद्यालय पनि घर जस्तै लाग्छ । विद्यालयमा उनीहरुले पारिवारिक वातावरण अनुभव गर्छन् ।

घरमा पनि उनीहरुलाई विद्यालयकै व्यवहारमा अभ्यस्त गराउने शैलीले भूमिका निर्वाह गरौं ।

केही समयअघि अभिनेत्री सञ्चिता लुइटेलले अनलाइनखबरसँग आफ्नो अनुभव सुनाउँदै भनेकी थिइन्, ‘सुरुमा बच्चालाई विद्यालय भर्ना गरिदिएपछि म आफै बच्चासँग विद्यालय जाने, आउने गरें । सुरुका दिनहरुमा मैले बच्चासँग खेल्दै क्लास रुममै समय विताएँ ।’

सञ्चिताले अनलाइनखबरसँग के कुरा पनि साझेदार गरेकी थिइन् भने, ‘विद्यालयमा मात्र होइन, घरमा पनि मैले बच्चा जस्तै हुन सिकें । उनीहरुसँग खेल्ने, रमाउने गरें । कार्टुन हेरें, केक खाएँ । यसरी घुलमिल भएपछि बच्चाहरुले एक्लो अनुभव गर्दैनन् ।’

यस किसिमको अभिभावकत्वले बच्चामा पढ्ने जाँगर चल्छ ।

तपाईको प्राथमिकता के हो

बच्चालाई विद्यालय पठाउन तयार गर्ने वा विद्यालयमा अभ्यस्त गराउने कुुरा त भयो । तर, कस्तो विद्यालयमा भर्ना गर्ने । कस्तो विद्यालय पठन पाठनको लागि उपयुक्त हुन्छ त, यो निर्णय लिनुअघि आफ्नो प्राथमिकता तयार गरौं ।

पहिलो कुरा, स्तरिय विद्यालय नै हो, जहाँ बच्चाले सहज र सरल ढंगले पठन पाठन गर्न सक्छन् ।

दोस्रो कुरा, विद्यालयको वातावरण, संरचना, शिक्षक शिक्षिका, सबैकुरा बालमैत्री छ र छैन ख्याल गरौं ।

तेस्रो कुरा, घरपायक हुनुपर्छ । बच्चा विद्यालय आउजाउ गर्दा लामो दुरी छिचोल्नु परेमा त्यो निकै झन्झटिलो हुन्छ । साथै बच्चाको रेखदेख पनि राम्ररी गर्न पाइदैन ।

चौथो कुरा, आफ्नो बजेटले धान्ने किसिमको हो । होइन अहिले अति महंगादेखि सामान्य स्तरका विद्यालयहरु छन् । आफ्नो खल्ती अनुसार विद्यालयको छनौट गर्दा अनावश्यक व्यायभार बोक्नुपर्दैन । हु्न त धेरैजसोले बच्चाको पढाईको लागि अतिरिक्त खर्च जोगाएका हुन्छन् । यस्तो अवस्थामा चाहि आफुसँग विद्यालय छनौटका लागि धेरै विकल्प हुनसक्छन् ।

विद्यालयमा मात्र भर नपरौं

हामी के ठान्छौं भने छोराछोरीलाई विद्यालय भर्ना गराइदिएपछि उनीहरु जान्ने हुन्छन्, बुझ्ने हुन्छन् । सबै कुरा थाहा पाउँछन् । विद्यालयको जिम्मामा छाडेपछि आफुले केही गर्नै पर्दैन भन्ने सोच्छौं । यो गलत हो ।

विद्यालयले आधार मात्र तय गरिदिने हो । विद्यालय कुनै एप्लिकेसन होइन, जो बच्चाको दिमागमा घुसाएपछि अरु केही गर्नै नपर्ने । विद्यालयले त पाठ्यपुस्तकको पाठ मात्र पढाउने हो । हुन त, विद्यालयमा विद्यार्थीले पाठ्यपुस्तकमा लेखिएका कुरा मात्र सिक्दैनन् अरु थुप्रै कुरा सिक्छन् । अहिलको अवस्थामा एकल बच्चाहरुले त्यहाँ आफुजस्ता धेरै साथीभाई पाउँछन् । उनीहरुसँग खेल्न, रमाउन, बाँढीचुडी गर्न सिक्छन् ।

तर, विद्यालयले मात्र बच्चालाई सबै कुरा सिकाउँदैन । खासमा सिक्ने भनेको त घरमै हो । बच्चाले घरबाट व्यवहारिक एवं जीवनोपायोगी कुरा सिक्न सक्छन् । त्यसैले घरमा बच्चाका लागि आफु पनि शिक्षक र शिक्षिका जस्तै बन्नुपर्छ ।

तपाईको प्रतिक्रिया