सन्तोष न्यौपाने

झापा ।  महिला तथा बालबालिकामाथि भइरहेको यौन हिंसाविरुद्ध झापाका किशोरकिशोरी सडकमा उत्रिएका छन् । घरपरिवार र समाजमा असुरक्षा र भयको अवस्था आउनु विडम्वना भएको भन्दै उनीहरु आत्मरक्षाका लागि सडकमा उत्रिएका हुन् ।
किशोर किशोरी सहभागी र्यालीले विर्तामोडका विभिन्न भागको परिक्रमा गरेको थियो । बलात्कारमा संलग्नलाई कडा कार्वाही गर्नुपर्ने, पीडितको सुरक्षा र पुनस्र्थापनामा ध्यान दिनुपर्ने लगायतका नारा लेखिएका प्लेकार्ड उनीहरुले बोकेका थिए । उनीहरुको अभियानमा सघाउन विर्तामोड नगरपालिकाकी उपप्रमुख आफैँ पुगेकी थिइन् ।
अभियानमा सहभागीले विर्तामोडको मुक्तिचोकस्थित दुर्गा मन्दिर परिसरमा राखिएको व्यानरमा हिंसाविरुद्ध हस्ताक्षर गरेका छन् । समाजमा भय र असुरक्षाको अवस्था आएकोले खवरदारी गर्न आफू सडकमा उत्रिएको अभियानकी संयोजक प्रकृति न्यौपानेले बताइन् ।
‘हाम्रो सुरक्षाका लागि समाजलाई खबरदारी गर्ने अभियान हो यो’, उनले भनिन ‘यसमा सरोकारवाला सबैको साथ र समर्थनको खाँचो छ ।’ अभिभावकीय भूमिकामा बस्नेहरुबाट पनि बालिकाहरु असुरक्षित रहेको भन्दै न्यौपानेले उनीहरुको सुरक्षामा गम्भीर चनाखो हुनुपर्ने बेला आएको बताइन् ।
घरदेखि कार्यस्थलसम्म यौनहिंसाका घटना भइरहेको भन्दै नियन्त्रणका लागि प्रभावकारी पहलको खाँचो रहेको विर्तामोड नगरपालिकाकी उपप्रमुख पवित्रा महतारा प्रसाई बताउँछिन् । हिंसाको बदला हिंसाका घटना भइरहेको भन्दै उनले दण्ड सजायको व्यवस्थालाई पुनर्बिचार गर्नुपर्ने अवस्था आएको उल्लेख गरिन् ।
विर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराई महिला तथा बालबालिकाको सुरक्षामा सरकार संवेदनील हुनु पर्ने खाँचो औल्याउँछन् । उनले समाजका सचेत नागरिकको खवरदारीले मात्रै यौन हिंसाका घटनामा कमी नआउने बताए । ‘हिंसाविरुद्धको यो अभियानमा सबै पक्षको सहयोग चाहिन्छ’, अध्यक्ष भट्टराईले भने ।
बीरता लेडी जेसीजकी पूर्व अध्यक्ष नैनकला भट्टराईले आफ्नो सुरक्षामा महिलाहरु पनि सजग र सतर्क हुनुपर्ने बेला आएको बताइन् । ‘बालबालिकाको सुरक्षा अहिलको मुख्य चुनौति र चासो हो’, उनले भनिन्, ‘यसमा अभिभावकको सचेतनाको उत्तिकै खाँचो छ ।’ हिंसामा परेका महिलाको सुरक्षामा स्थानीय तहको भूमिका प्रभावकारी हुनुपर्ने उनको तर्क छ ।

तपाईको प्रतिक्रिया