सन्तोष न्यौपाने

झापा  । कुनै समय गाउँकै धनी र अथा जग्गा जमिनका मालिक थिए । साबिकको बिर्ताबजार हालको बिर्तामोड नगरपालिकामा बस्ने डोमालाल राजवंशी । तिनै डोमालाल राजवंशीले रंगशाला निमार्णका लागि देवी गुठीका नाममा १४ बिगाहा जग्गा दान गरेका थिए ।
उनकै नामबाट बिर्तामोड स्थित बिर्ताबजारमा रहेको रंगशालाको नामाकरण गरियो डोमलाल रंगशाला । त्यो रंगशाला डोमालाल राजवंशी रंगशालाका नाम बाट देशभरी प्रख्यात छ । तर तिनका परिवारको भने नामु निसान कतै सुन्न पाइंदैन । आज तिनै डोमलालका परिवार अहिले सुकुम्बासी भएर दयनीय जीवन बिताइरहेका छन ।
डोमालाल राजवंशीको योगदान झापाको खेलकुदको विकासका लागि अतुलनीय छ । उनले दिएको १४ बिगाहा जग्गामा रंगशाला त निर्माण भयो नै, यही रंगशालाले केही राष्ट्रिय खेलाडीहरु पनि उत्पादन गर्यो । तर जसले यत्रो योगदान दियो, तर यही मैदानमा राष्ट्रिय स्तरको फुटबल प्रतियोगिताहरु आयोजना भइरहँदा आयोजकले ती दानवीरका योगदान बिर्सिएका छन् । भर्खरै यही फागुन २८ गते मोफसलकै सर्वा्धिक पुरस्कार राशीको तेस्रो झापा गोल्डकप यही मैदानमा सम्पन्न भयो । गोल्डकप आयोजनाका लागि सहयोग गरेका व्यक्ति, पूर्व खेलाडीसहित दर्जनौँ सम्मानित भए । तर त्यो रंगशालाका दानबीर परिवारलाई आयोजकले सम्झीएन डोमलालका सन्तानको गुनासो छ ।
तिनै दानवीर डोमलालका परिवार अहिले सुकुम्बासी भएका छन् । रंगशालाको छेउमा डोमालालका नाति भिमबहादुर र छविलाल सानो घर बनाएर बसेका छन् । डोमालाल राजवंशीका दुई छोरा गजेन्द्र र दिपेन्द्रको मृत्यु भैसकेको छ । अनि डोमालालका नाति भिमबहादुर र छबिलाल अहिले बिर्तामोडमै दैनिक मजदुरी गरेर गुजारा चलाइरहेका छन् ।
भिमबहादुर आफ्नो परिवारको पेट पाल्न कालीगडको काम गर्छन् । कहिले दिनभरि भ्यान चलाएर कहिले दुई चार सय लिएर घर आउंछन् । परिवार चलाउन गाह्रो भएपछि भिमबहादुरकी श्रीमती नजिकैको बिर्ताबजारमा चप, ढुङरी, पकौडा बनाएर बेच्छिन् । दुई जनाको कमाईले खान लाउन पनि धौधौ हुने गरेको भिमबहादुरको श्रिमतीको भनाई छ ।
डोमालालका अर्का नाति छविलाल पनि अर्काका घरमा मजदुरी गरेरै गुजारा चलाउँछन् । छविलाललाई पनि छोराछोरी पढाउन र घर खर्च टार्न धौधौ नै पर्ने गरेको बताउँछन् । संचारकर्मी देख्न बित्तिकै छबिलाल रिसाए । खाली खिच्छन् मात्र हामीलाई कसैले केहि गर्दैन भन्दै उनी झोकिंए । उनी सरकारले स्थानिय निकाय र झापा फुटबलले ब्यवस्था गरेको भन्दै रिसाए ।
त्यो सम्मान कार्यक्रममा रंंगशालाका जग्गादाता दानवीरका परिवारको सम्मान त परैको कुरा नाम समेत लिन जरुरी ठानेनन् आयोजकले । जग्गा दाता स्वर्गीय डोमालाल राजवंशीका नाति भिमबहादुर आफ्नो बाजेले गरेको योगदानको कदर नहुँदा मन खिन्न हुँदो रहेछ ।
यहाँका स्थानीय निकाय, फुटबल आयोजक परिवार, अनि देवी गुठी जसको नाममा जग्गा छ उनीहरुले नै स्वर्गीय दानवीर डोमालाल राजवंशीको योगदान बिर्सिँदा दानवीर राजवंशीका परिवारसहित अन्य दानवीरको पनि अवमूल्यन भएको छ ।

तपाईको प्रतिक्रिया