इटहरी । प्रदेश नम्वर एक स्थित सुनसरीको सप्तकोशी नदीमा व्यावसायिकरुपमा जेटबोट संचालनमा आएको छ । बराहक्षेत्र जल यातायात तथा पर्यटन सेवा प्रालिले शनिबार परिक्षण सञ्चालन गरेको थियो ।
स्थानीय स्तरमा जल यातायातलाइ प्रबर्धन गरि आन्तरिक तथा बाह्य पर्यटकहरुलाई आकर्षित गर्नेका लागी जेटबोट संचालनमा ल्याएको कम्पनीका प्रबन्ध निर्देशक बिमलमान श्रेष्ठले बताए । चतराबाट जलमार्ग हुँदै भोजपुर, धनकुटा जिल्लासम्म छिटो पुग्न सकिने उनले बताए । स्थानियहरुलाई यातायातमा सहजता हुने मात्र नभई बराहक्षेत्र दर्शन गर्न आउने भक्तजनहरुलाई पनि सुविधा हुने उनले बताए ।
बोट ३ करोडको रुपैंया खर्च गरि भारतबाट ल्याईएको सञ्चालक समितिका अध्यक्ष सन्तोष भण्डारी बताए । एक पटकमा बोटमा ३० जना यात्रु र ३ जना क्रु मेम्बर (पाइलट र प्राविधिक) सवार हुनेछन् ।स्थानिय नवराज विष्टले भोजपुर धनकुटा सम्म मनोरन्जनात्मक तरिका बाट यात्रा गर्न पाउने भएकाले स्थानिय हरु हर्सित भएको बताए ।
अहिले बराहक्षेत्रबाट धनकुटा, भोजपुरसम्म जानको लागि पैदल यात्रा गर्नुपर्ने बाध्यता छ । भीर र पहाडमा निकै साँघुरो गोरेटो पछ्याउँदै हिड्ने सर्वसाधारणहरुलाई सहजता पुग्ने विश्वास लिइएको छ ।बराहक्षेत्रबाट उत्तर रहेको सिम्ले पुग्नको लागि झन्डै ६ घण्टा समय खर्चनुपर्ने बाध्यता छ । त्यती दुरी पार गर्दा एक जनाले एक हजार रुपैयासम्म खर्च गर्छन् । तर बोट सञ्चालनपछि ४ सय रुपैयामै सिम्ले पुगिने भण्डारीले बताए । उनले भने, ‘६ घण्टा समय लाग्ने ठाउँ १५ मिनेटमै पुगिनेछ ।’

तपाईको प्रतिक्रिया