सन्तोष न्यौपाने

झापा । सुनचाँदी व्यवसायी संघ झापाका सदस्य साजन मुखियाको हत्याको बिरोधमा झापा बिर्तामोडका ब्यवसायी आन्दोलित भएका छन् । उनीहरुले मुखियाको हत्याको बिरोधमा बिर्तामोड क्षेत्रका सम्पूर्ण पसल बन्द गरेका छन् ।
हत्यको बिरोध गर्दै ब्यवसायीहरुको जिउ धनको सुरक्षाको ग्यारेण्टी हुनु पर्ने माग राख्दै बिर्तामोडमा नारा जुलुस निकालेका छन् ।
मुखियाको धारिलो हतियार प्रयोग गरी हत्या गरेको अवस्थामा शव फेला परेपछि ब्यवसायी आन्दालित भएका हुन् ।
उनी फागुन २० गतेदेखि बेपत्ता थिए ।मुखियाको शव बोराभित्र कीरा परेर सड्न लागेको अवस्थामा सोमवार इलामको रोङ गाउँपालिका–३ कोल्बुङमा भेटिएको हो । विर्तामोड प्रहरीले पनि घटनाको पुष्टि गरेको छ । मेची राजमार्गको लसुने– अर्यालचोक सडकखण्डको जमुने डाँडामा सडकबाट करिब २० फिट तल जुटको बोरामा हालेर फालिएको अवस्थामा उनको शव फेला परेको हो ।
पछाडि हात बाँधिएको र अनुहार काटिएको अवस्थामा शव भेटिएको रोङ गाउँपालिकाका उपाध्यक्ष चन्द्रकला राईले जानकारी दिनुभयो । बिर्तामोडस्थित दावा ज्वयलर्स सुनचाँदी पसलका सञ्चालक मुृखिया फागुन २० गते श्रीमती रवीनालाई बजार जाने भन्दै घरबाट बाहिरिएका थिए । मुखियाको शव प्रकृति मुचुल्का पछि पोष्टमार्टमका लागि मेची अञ्चल अस्पताल भद्रपुरमा राखिएको छ ।

तपाईको प्रतिक्रिया