सन्तोष न्यौपाने

झापा । झिलझिले स्थित प्राविधिक शिक्षालय सञ्चालन गर्न जनस्तरबाट सहयोग जुटाउने लक्ष्यका साथ शिवसताक्षीको झिलझिलेमा भइरहेको श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञको पाँचौ दिन सम्ममा १ करोड १५ लाख संकलन भएको छ ।
पुराणमा मनकारी हातहरुबाट सहयोग रकम आइरहेको आयोजकले जनाएको छ । श्रीमद्भागवत महापुराणमा सहयोग जुट्ने क्रम जारी छ ।
फागुण २३ गतेदेखि कथा प्रारम्भ भएको पहिलो दिन वुधबार ११ लाख रुपैयाँ सङ्कलन भएको थियो । यसअघि सप्ताहको उद्घाटनका दिन मात्रै ३६ लाख ५२ हजार सङ्कलन भएको आयोजकले जानकारी दिएको छ ।
बजेट अभावमा कुनै योजना अघि नबढेपछि स्थानीयले जनस्तरबाटै भए पनि पहिलो योजनाका रूपमा प्राविधिक शिक्षालय बनाउन जुटेका हुन् । रकम जुटाउन प्रतिष्ठानले सप्ताहव्यापी पुराणको आयोजना गरेको हो ।
सय शैयाको अस्पताल, प्राविधिक शिक्षालय, १५ सय क्षमताको सभाहल र राष्ट्रियस्तरको रङ्गशाला निर्माण गर्ने उद्देश्यका साथ महापुराण आयोजना गरिएको गणेशमान सिंह अध्ययन प्रतिष्ठानका अध्यक्ष सन्तोषकुमार मेन्याङवोले बताए । शिक्षालय निर्माणकै लागि पुराणबाट साढे ३ करोड जुटाउने लक्ष्य राखेको प्रतिष्ठानका कोषाध्यक्ष गणेश प्रधानले जानकारी दिए । आइतबारसम्म १ करोड १५ लाख रुपैयाँ सहयोग जुटेको उनले बताए ।
आयोजक समितिका आर्थिक विभाग संयोजक गणेश प्रधानले दुई दिनमा ४६ लाख ६१ हजार दुई सय ६५ रुपैयाँ सङ्कलन भएको बताउनु भयो । अहिलेसम्म सवैभन्दा धेरै दान शिवसताक्षी–८ का सिन्धवहादुर प्रधानले दिएका छन् । सिन्धबहादुरले तीन लाख ३३ हजार तीन सय ३३ रुपैयाँ दान गरेको आर्थिक संयोजक प्रधानले वताउनु भयो ।
झिलझिले स्थित गणेशमान सिंह अध्ययन प्रतिष्ठानको स्वामित्तमा रहेको १० विगाह क्षेत्रमा अस्पताल, प्राविधिक धारको शिक्षालय , १५ सय क्षमताको सभाहल र राष्ट्रिय स्तरको रंगशाला निर्माण सहयोगार्थ श्रीमद् भागवत महापुराणको आयोजना गरेको हो । वाचन प्रविण दिनवन्धु पोख्रेलको प्रमुख वाचकत्वमा सप्ताह ज्ञान महायज्ञ भईरहेको छ ।
स्थानीय दृष्टिविहीन शिक्षक ओम तिम्सिनाले झापाजस्तै शिक्षित जिल्लामा प्राविधिक शिक्षालय नहुनु विडम्बना भएको औंल्यांदै तिम्सिनाले प्रतिष्ठानलाई १२ लाख मूल्यबराबरको जग्गा दानसमेत गरेका छन् । जिल्लामा प्राविधिक शिक्षालय नहुँदा यहाँबाट ठूलो रकम बाहिरिने गरेको भन्दै जग्गा दान गरिएको बताए ।

तपाईको प्रतिक्रिया