मेघराज तामाङ

संखुवासभा । संखुवासभाको खाँदबारी नगरपालिकाले अहेव तथा अनमीको करार पदपूर्तिका लागी सात दिने सूचना जारी गरेको छ । नगरपालिकाका विभिन्न स्वास्थ्य चौकीहरुमा ४ जना अनमी र १ जना अहेव करार पदपूर्तीका लागि सूचना जारी गरेको हो । तर नगरपालिकाले छनौट गर्ने स्वास्थ्यका कर्मचारीहरु अन्तरवार्ताका भरमा छनौट हुने सूचनामा जनाइएको छ ।
तर यसअघि कुनैपनि स्वास्थ्य चौकी या जिल्ला स्वास्थ्य कार्यालयले करार तथा दरबन्दीका कर्मचारी छनौट गर्दा लिखित तथा मौखिक दुवै परिक्षा गर्ने गरेको थियो । लिखित परिक्षाबाट नाम निकालेका परिक्षार्थीलाई अन्तरवार्ता गरेपछि छनौट हुने गथ्र्यो । तर यस पटक नगरपालिकाले गर्न लागेको कर्मचारी छनौटमा अन्तरवार्ता मात्र गर्ने भएकाले सेवाग्राहीहरु गुणस्तरीय सेवा प्रवाह नहुने होकी भन्नेमा शंका व्यक्त गरेका छन् । स्वास्थ्य जस्तो सम्वेदनशील क्षेत्रमा कर्मचारी छनौट गर्दा अन्तरवार्ता मात्र लिदा दक्ष कर्मचारी छनौट गर्न नसकिने खाँदबारीका मोहन लामाले बताए ।
तर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्ण कुमार निरौलाका अनुसार करारको छोटो अवधि भएकाले कर्मचारी छनौटमा अन्तरवार्ता मात्र गर्ने भएको हो । उनले भने छोटो समयका लागि मात्र भएकाले लिखित परिक्षा लिनु आवश्यक नभई अन्तरवार्ता मार्फत कर्मचारी छनौट गरिने छ । तर यसअघि जिल्ला स्वास्थ्य कार्यालयले करारमा कर्मचारी पदपुर्ति गर्दा लिखित तथा मौखिक दुबै परिक्षा लिएर कर्मचारी छनौट गरेको थियो । जिल्ला स्वास्थ्य कार्यालयले पुस १६ गते सुचना जारी गरेर २४ गते परिक्षा गराई ५ जना अनमी र ७ जना अहेवको पदपूर्ती गरेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया