म बसबाट ओर्लेपछी थाहा भयो कि मेरो पकेटबाट पैसा चोरिएको रहेछ । पकेटमा मैले आमालाई लेखेको चिट्ठी र ५०० रुपैँया थियो । चिट्ठीमा मैले लेखेको थिएँ- ‘आमा मेरो नोकरी छुट्यो अब केहि दिन तपाईंलाई पैसा पठाउन सक्दिनँ । यही ५०० ले काम चलाउदै गर्नु होला । नपुगेमा सापटी गरेर चलाउनु होला ।’

आमालाई अर्को चिट्ठी पठाउन सकेको थिइनँ । मेरो ५०० रुपैया गईसकेको थियो । हुन त ५०० रुपैँया ठुलो कुरो त होइन तर जागिर छुटेको मान्छेलाई त्यो ५०० पनि ५००० भन्दा कम हुँदैन ।

केहि दिन पछी मैले आमाको चिट्ठी पाएँ । चिट्ठी खोल्नुभन्दा पहिला मैले सोचेँ- पक्कै पनि पैसा पठाउन भनेर लेख्नु भयो होला। तर चिट्ठी पढ्दा म दङ्ग परेँ ।

चिट्ठीमा लेखेको थियो- ‘छोरा तैँले पठाएको १००० रुपैयाँ मेरो हात पर्‍यो । तैँले मेरो कती धेरै ख्याल राख्छस् है ।’

मेरो मनमा खुल्दुली हुन थाल्यो । आखिर कस्ले पठायो होला आमालाई पैसा?

केहि दिन पछी मलाई अर्को चिट्ठी हात पर्‍यो जसमा लेखेको थियो-

‘तिम्रो ५०० र मेरो ५०० रुपैयाँ गरेर १००० रुपैया तिम्रो आमालाई पठाएको छु । चिन्ता नगर । आमा त सबैको एउटै हुन्छिन् नि होईन र? आमा भोकै बसेको कसले हेर्न सक्छ र!

उही तिम्रो,
पकेटमार

 

 

(एजेन्सी)

तपाईको प्रतिक्रिया