इटहरी, २७ माघ । नेपाल राष्ट्रिय शिक्षक सङ्गठन सुनसरीको इटहरीमा आयोजित १२ औ जिल्ला अधिवेशनले राज्यको पछिल्लो संरचननाले शिक्षा सम्वन्धि ठोस नीति तर्जुमामा स्पष्ट धारणा किटान गर्न नसक्दा समस्या सिर्जना गर्दै गएको कुराप्रति चिन्ता उत्पन्न हुन थालेको औल्याएको छ ।
अधिवेशन उद्घाटन समारोहमा बक्ताहरुले शिक्षा क्षेत्रमा सम्लग्न शिक्षक कर्मचारीहरुलाई राजनीतिक आँखालेमात्र हेर्ने गलत दृष्टिकोण विकास भएर जाँदा शिक्षा क्षेत्र सुध्रनुकोसट्टा अन्यौलग्रस्त बन्न जाने पो हो कि भन्ने आम आशङ्का बढ्न थालेको पनि बक्ताहरुले गुनासो गर्नुभएको छ ।
शिक्षा मन्त्रालय र स्थानीय तहबीच एक आपसमा तालमेल र जिम्मेवारी किटान भई कार्य क्षेत्र तथा जिम्मेवारीको किटान भई नसकेकाले शिक्षा क्षेत्रमा कसले के गर्ने र शिक्षक नियुक्ती सरुवा वा बढुवा लगायतका क्षेत्रमा कसले कसरी काम गर्ने भन्ने अन्यौलका कारणले शिक्षा क्षेत्रमा अप्ठ्याराहरु आई रहेको पनि बक्ताहरुले गुनासो गरेका छन ।
शिक्षक सङ्गठनका केन्द्रिय उपाध्यक्ष भीम बस्नेत सुनसरीका जिल्ला शिक्षा अधिकारी खगेन्द्र सुवेदी नेकपा एमाले सुनसरी अध्यक्ष रमेशकुमार बस्नेत प्रदेश १ का पेशागत महासङ्घका इन्चार्ज राजकुमार गिरी नेकपा एमाले शिक्षा विभागका इन्चार्ज केशवप्रसाद तिम्सिना कालीप्रसाद सापकोटा बेणु सिटौला गोविन्द मिश्र र सत्यनारायण मेहेता लगायतले बोल्नु भएको थियो ।
शिक्षक सङ्गठनका सुनसरीका अध्यक्ष प्रभुनारायण चौधरीको अध्यक्षतामा भएको अधिवेशन उद्घाटन समारोहमा १ हजार ८६ जना शिक्षक शिक्षिका प्रतिनिधिहरुको सहभागिता रहेको तथा अधिवेशनले नयाँ नेतृत्वको समेत चयन गर्ने बताईएको छ ।