जनकपुर । उच्च अदालत जनकपरको आदेश यहाँस्थित सरकारी कार्यालय र प्रमुखहरुले अटेर गरेका छन् । एसियाली विकास बैंक (एडीबी) को ऋण सहयोग र जनकपुर उप–महानगरपालिकाको लगानीमा सञ्चालित एकीकृत सहरी विकास आयोजनाको प्रगति विवरण पेश गर्न गरेको आदेश यहाँको सरकारी कार्यालय र प्रमुखहरुले अटेर गरेका हुन् ।

०७४ भदौं ११ गते वादीहरु मुरली मनोहर मिश्र समेत ६ जनाले प्रतिवादीहरु जिल्ला प्रशासन कार्यालय धनुषा समेत १४ जनाविरुद्ध उच्च अदालतमा रिट निवेदन दायर गरेको थियो । उच्च अदालतले रिटमाथि सुनुवाइ गर्दै न्यायाधीशद्वय रमेशकुमार पोखरेल र खुसीप्रसाद थारुको संयुक्त इजलाशले ०७४ भदौ १९ गते आयोजनाको मासिक प्रगति विवरण पेश गर्न आदेश दिएको थियो ।

आदेशको जिल्ला प्रशासन कार्यालय र प्रमुख जिल्ला अधिकारी दिलीपकुमार चापागाई, सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय धनुषा र प्रमुख गंगा प्रसाद यादव तथा सार्वजनिक खरिद अनुगमन कार्यालय काठमाडौंको नाममा आदेश जारी गरे पनि मासिक प्रगति पेस नगरेर उच्च अदालत जनकपुरको आदेश धनुषाका सरकारी कार्यालय र प्रमुखहरुले नै नटेरेको अधिवक्ता राजकुमार महासेठले जानकारी दिए ।

आदेश जारी गरे पनि प्रगति विवरण नबुझाएका कारण जनकपुरका स्थानीयले पुनः उच्च अदालतमा मुद्दा दर्ता गराएको अधिवक्ता महासेठले बताए । अदालतको आदेशानुसार विपक्षीहरुले २ महिना प्रगति विवरण बुझाएको र पछि वेवास्ता गरेका कारण उच्च अदालतलाई पुनः प्रगति विवरण पेश गर्न दोश्रो पटक आदेश गरे पनि कुनै सुनवाई नभएको उनले बताए ।

निवेदन उपर सुनुवाइ गर्दै पुस १९ गते न्यायाधीश डा. रवि शर्मा आर्याल र माधवप्रसाद पोखरेलको संयुक्त इजलाशले ती कार्यालय र प्रमुखहरुको नाममा पुनः आदेश गरेको थियो ।

पूर्वआदेशानुसार प्रगति विवरण पेश गर्न विपक्षीको नाममा उच्च अदालतले पटक–पटक पत्राचार गरे पनि प्रगति विवरण पेश नगरेको देखिएको हुनाले पुनः अदालतलाई आदेश जारी गर्नुपरेको र सरकारी कार्यालय र प्रमुखहरुले आदेशको अवेहलना गरेको अधिवक्ता महासेठको भनाइ छ ।

९८ करोड ९८ लाख रुपैयाँको लागतमा जनकपुरमा सञ्चालित एकीकृत सहरी विकास आयोजनाको सम्झौता अवधि सकिन्न लागे पनि काम हुन सकेको छैन । योजनामा ३२ किलोमिटर नाला र ९.२९ किलोमिटर कालोपत्रे सडकको निर्माण कार्य यही फागुन महिनाभित्र सकिनुपर्ने सम्झौता भए पनि अहिले सम्म ३ किलोमिटर सडक र २६ किलोमिटर नालाको काम मात्र भएको आयोजनाका ई. वीरेन्द्र यादवले बताए । नाला निमार्ण र सडक निमार्णको लागि जनकपुरको बिभिन्न क्षेत्रमा सडकहरु भत्काइएको कारण स्थानीयहरु थप मार्कामा परेका छन् ।

तपाईको प्रतिक्रिया