इटहरी । गत श्रावण अन्तिम साता आएको बाढीका कारण ठुलो जनधनको क्षति व्यहोरेको सुनसरीको इटहरी उपमहानगरपालिकाले खोला क्षेत्रको अतिक्रमण हटाउने अभियान चलाउने भएको छ ।

उपमहानगरपालिका क्षेत्र भएर बग्ने खोलाहरु अतिक्रमण गरी बनाइएका भौतिक संरचनाहरु हटाएर खोलालाई सहज रुपमा बग्ने वनाउने अभियान सञ्चालन गर्न लागिएको हो । इटहरी उपमहानगरपालिका मेयर द्धारिकलाल चौधरीको नेतृत्वको टोलीले खोला क्षेत्रको जग्गा खोजी अभियान सुरु गरेको हो । पहिलो चरणमा खोलाको जग्गा खोजी गर्ने काम भई रहेको र कसैले अतिक्रमण गरेको पाइए अतिक्रमण गर्नेहरुलाई नै हटाउन आग्रह गरिएको उपमहानगरपालिकाकी उपप्रमुख लक्ष्मि गौतमले जानकारी दिइन । खोलाक्षेत्रको अतिक्रमणका कारणले इटहरीमा बाढीले ठुलो क्षति पुर्याएकाले अतिक्रमण हटाउने अभियानमा आफुहरु लागेको समेत उपप्रमुख गौतमले वताइन ।

इटहरी क्षेत्रमा खोला तथा खोला किनारा मिचेर भौतिक संरचना वनाउने क्रम नरोकिएको गुनासो वढी रहेको समयमा उपमहानगरपालिकाका प्रमुख लगायतले सक्रियता देखाएका छन । उपमहानगरपालिकाले जग्गा अतिक्रमण हटाउने अभियान सञ्चालन गरिनु राम्रो काम भएको नागरिक समाज इटहरीका पुर्व अध्यक्ष बोधराज नेपालले वताए ।
खोला क्षेत्रको जग्गा खोज्ने क्रममा धरान रोड तर्फबाट प्राविधिकहरू समेतको सहभागिता रहेको सो टोलिले खेती खोलाको जग्गा नाप्ने काम सुरु गरेको हो ।

तपाईको प्रतिक्रिया