इटहरी, माघ ८ गते । इटहरी रंगशालामा सञ्चालित अन्तराष्ट्रिय आमन्त्रण मदन भण्डारी स्मृती इटहरी गोल्डकप प्रतियोगिता अन्तरगत सोमबार भएको खेलमा त्रिभुवन आर्मी क्लब काठमाण्डौंले भुटानको डुृक युनाइटेड फुटबल क्लबलाइ शुन्यका विरुद्ध पाँच गोलको भारी अन्तरले पराजित गर्दै सेमीफाइनलमा प्रवेश गरेको छ । राष्ट्रिय जागृती क्लब इटहरीद्धारा आयोजित प्रतियोगिताको माघ १० गते हुने पहिलो सेमीफाइनल
खेलमा आजको विजेता आर्मीले थ्रि स्टार क्लब काठमाण्डौंसंग प्रतिस्पर्धा गर्नेछ

खेलको प्रारम्भदेखि नै विपक्षी भुटानका खेलाडीहरुमाथि आक्रमकरुपमा प्रस्तुत आर्मीका खेलाडीहरुले खेलमा आफ्नो दवदवा कायम राखेका थिए । त्यस क्रममा खेलको २०औ मिनेटमा आर्मीले गोल गर्दै अग्रता लिएको थियो । आर्मीका लागि पदम तामाङ्गले पहिलो आकर्षक गोल गरे । खेलको ४१ औ मिनेटमा पुन पदमले अर्को सानदार गोल गरेपछि आर्मीले २—० को अग्रता लियो । पदमले डिबक्स नजिकैबाट विपक्षी पोष्टमा प्रहार गरेका बल भुटानका गोलरक्षक छिरिङ्ग डेन्डुपले समातेपनि पुन फुस्किर गोलमा परिणत भएको थियो ।
पूर्वाद्धको तुलनामा उत्तराद्र्धको खेल रोचक र थप प्रतिस्पर्धात्मक बनेको थियो । उत्तराद्र्धको १६औ मिनेटमा आफु मैदानमा प्रवेश गरेको तेस्रो मिनेटमै दिनेश हेम्जामले आर्मीका लागि तेस्रो गोल गरेका थिए । त्यसै गरी आर्मीका टंक बस्नेतले विपक्षीको पोष्ट नजिकबाट प्रहार गरेको वल सो समूहका लागि चौथो गोलको रुपमा परिणत गरेको थिए । चार शून्यको भारी अन्तरले अग्रता लिको आर्मीका लागि दिनेश हेन्जामले पाँचौ गोल गरे ।
खेल अवधीमा पाएको आधा दर्जन कर्नर किक र फ्रि किकको अवसर सदुपयोग गर्न नसकेपछि भुटान भारी गोलको अन्तरले पराजय व्यहोर्दै प्रतियोगिताबाट विदा भयो । भुटानका खेलाडीहरु नदुङ्ग भुटिया, लेण्डुप दोर्जे, चुमान दार्जे लेप्चा लगायतले खेलमा राम्रो प्रदर्शन गरे पनि अन्यको आपसी तालमेल नहुदा फितलो प्रदर्शन भएको देखिन्थ्यो ।
खेलमा उत्कृष्ठ प्रर्दशन गर्ने आर्मीका दिनेशले “म्यान अफ द म्याच” घोषित भइ नगद दश हजार प्राप्त गर्नुभयो । मंगलबारको खेल आयोजक समूह र भारतको कोलकतास्थित
गरिफा स्पोर्टिङ्ग क्लबवीच हुनेछ ।

तपाईको प्रतिक्रिया