इटहरी रङ्गशालामा माघ ५ देखि ८ गतेसम्म सञ्चालन हुने राष्ट्रिय उसु खेल प्रतियोगिताका लागि खेलाडी छनौटका लागि यहाँ आयोजित पूर्वाञ्चल क्षेत्रीय प्रतिस्पर्धामा इलामले ७ स्वर्ण २ रजत र ३ कास्य पदक प्राप्त गर्दै जिल्ला प्रथम भएको छ ।

राखेपको आयोजना तथा पूर्वाञ्चल क्षेत्रीय खेलकुद विकास समितिको संयोजनमा पूर्वाञ्चलका विभिन्न जिल्लाका उसु खेलाडीहरुको सहभागिता रहेको प्रतिस्पर्धामा झापाले ५ स्वर्ण ४ रजत र ३ कास्य पदक प्राप्त गर्दैै दोस्रो बन्न सफल भयो भने मोरङ्ग जिल्लाले ३ स्वर्ण र ४ रजत पदक प्राप्त गरी तेस्रो भएको छ ।

प्रतियोगिताका विजेताहरुलाई राखेपका सदस्य सचिव केशवकुमार विष्टले पुरस्कार र पदक प्रदान गर्नुहुँदै राष्ट्रिय गौरवसँगै देशको नाम उच्च राख्नका लागि खेलाडीहरुले इमानदारितापूर्वक खेल कौशलका लागि जिम्मेवार भएर सक्रियता देखाउन जरुरी रहेको कुरामा जोड दिनुभयो ।

क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष रविन नगरकोटीको अध्यक्षतामा भएको उसु खेल अन्तर्गत सान्चौ र फाउलो तर्फ विभिन्न तौल समुह अन्तर्गतका खेलाडीहरुलाई प्रतिस्पर्धा गराई राष्ट्रिय प्रतियोगिताका लागि खेलाडी छनौट गरिएको बताईएको छ ।

तपाईको प्रतिक्रिया