इलाम २० पुस । पेट्रोलियम पदार्थको मूल्य बृद्धिको विरुद्धमा विद्यार्थी संगठनले आज इलाममा प्रधानमन्त्रीको पुत्ला दहन गरेका छन् । बाम गठबन्धनका संगठनले प्रधानमन्त्री सेरबहादुर देउबाको पुत्ला दहन गरेका हुन ।

अखिल नेपाल राष्ट्रिय विद्यार्थी युनियन र अखिल क्रान्तिकारी विद्यार्थी संगठनले काम चलाउँ देउवा सरकारले पेट्रोलियम पदार्थको मूल्य बृद्धि फिर्ता लिन माग गर्दै इलाम चोक बजारमा पुत्ला दहन गरे ।

ठूलो टुँडिखेलदेखि पुत्ला बोकेर शंख फूक्दै चोक बजार पुगेको विद्यार्थी संगठनले प्रधानमन्त्री देउबाको पुत्लालाई काम चलाउँ सरकारको अन्त्य भएको भन्दै चोकबजारमा पुत्ला दहन गरेका अखिल इलामका अध्यक्ष इश्वरी तामाङले बताए ।

पुत्ला दहन गर्न चोक बजार पुगेको ¥यालीलाई अखिल नेपाल राष्ट्रिय विद्यार्थी युनियन केन्द्रीय कमिटी सदस्य रविन्द्र सुवेदीले सम्बोधन गर्दै काम चलाउँ सरकारले राजीनामा दिएर मुलूकलाई निकास दिन माग समेत गरे ।

उनले निर्वाचनको समानुपतिक मतपरिणाम निर्वाचन आयोगलाई घोषणा गर्न रोक लगाएर देउवा सरकारले जनमतको विरुद्धमा काम गरेको बताउँदै मुलूकलाई राजनीतिक निकास दिन राजीनामा दिनुपर्ने बताए ।

सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाएर सरकारले सर्वसाधारण नागरिकको विरुद्धमा कदम चलाएको अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य सन्धीभक्त शंकरले बताए । उनले सरकारले मुलूकलाई निकास दिनुको सट्टा अन्योलता बढाएकोले मुलूकलाई निकास दिन राजीनामा दिनुपर्नेमा जोड दिए ।

पुत्ला दहन गर्न चोक बजार जाँदै गरेको ¥यालीलाई बाटैमा प्रहरीले प्रधानमन्त्रीको पुत्ला खोसाए पनि विद्यार्थीले अर्को पुत्ला चोक बजारमा ल्याएर दहन गरेका थिए ।

देउबा सरकार राजीनामा दे, समानुपातिक मत परिणाम घोषणा गर, पेट्रोलियम पदार्थको मूल्यबृद्धि फिर्ता गर लेखिएका प्ले कार्ड बोकेर हिजो पनि मूल्य बृद्धिको विरोधमा सिटी जुलूस निकालेको थियो ।

तपाईको प्रतिक्रिया