याम माबोहाङ लिम्बू
इलाम । इलामको पशुपतिनगर नाकाबाट मानव बेचबिखनका घटना बढ्दै गएको छ । गएको तीन वर्षयता यो वर्ष १० प्रतिशतले बढेको बताइएको छ । विभिन्न प्रलोभन देखाएर भारत तथा अन्य मूलुकमा महिला तथा बालबालिकाको तस्करी बढ्दै गएको पशुपतिनगर स्थीत माइती नेपालको कार्यालयले जनाएको छ ।

दलालले भारत लैजाँदै गरेका अवस्थामा गएको मंसिरसम्म एक सय ४४ महिलालाई नाकामा रोकेर नेपाल फर्काएको छ । उनिहरुलाई कुनै कागजात बिना आफूहरु कता जान लागेको थाहै नपाई भारत जाँन लागेको अवस्थामा नाकामा फेला पारी नेपालका आफन्तलाई जिम्मा लगाइएको बताइएको छ । बेचबिखनका लागि तस्करको फन्दामा पर्ने विशेष गरेर १३ वर्षदेखि ३० वर्षका युवती बढी हुने गरेको माइती नेपाल पशुपतिनगरका प्रमुख होम ढकालले जनाकारी गराए ।

यसै वर्ष भारतको पश्चिम बंगाल दार्जीलिङ स्थीत कालेबुङ, सिक्किम लगायतको विभिन्न ठाउँमा घरेलु कामदारका रुपमा काम गर्ने ७ जनालाई उद्दार गरिएको छ । उनिहरुलाई घर मालिकले शारीरिक र मानसिक यातना दिएको जानकारी पाएपछि उद्दार गरिएको माइती नेपाल पशुपतिनगर कार्यालयले जनाएको छ । यस्तै हराएको ३० जनाको खोजी गरिदिन आएको निवेदन मध्ये १० जनाको खोजी गरी आफन्तलाई जिम्मा लगाएको छ । नाकामा बिना जानकार आइपुगेको शंकास्पद ११ सय १२ जनालाई कानुनी अभिमुखिकरण गराइएकोे छ ।
गरिबीसँगै अशिक्षाले सबै भन्दा बढी महिला र बालबालिका बेचबिखनको फन्दामा पर्ने गरेको तथ्याङ्क छ । यस्तै बहुविवाह गरेर बैदेशिक रोजगारका लागि भारत हुँदै तेस्रो देश जानेलाई दलालको पासोमा पर्ने गरेको माइती नेपालको अनुभव छ । कार्यालय स्थापना भएको १७ वर्षमा बेचबिखनमा पर्नेको संख्या सबै भन्दा बढी जनजाति समुदायको भएको बताइएको छ ।

तपाईको प्रतिक्रिया