नविन कटुवाल

महामानव वीपी कोइरालाको विरासत बोकेको नेपालकै पुरानो ऐतिहासिक राजनीतिक दल नेपाली कांग्रेस प्रदेश तथा प्रतिनिधि सभा चुनावको परिणामले निरासा र बेचैनले आक्रान्त बन्न पुगेको छ । २०४६ सालपछि सबभन्दा बढी समयसम्म राज्य संचालनको बागडोर नेपाली काँग्रेसले नै सम्हालेको थियो । जुन समयमा सकारात्मक कार्यहरु पनि नभएका होइनन् ।

राम्रो कामको श्रेय उसैलाई जाला तर नकारात्मक राजनीतिक र आर्थिक गतिविधिको जिम्मा पनि उसैले लिनुपर्ने हुन्छ । समतामूलक समाज स्थापनाका लागि सामाजिक, आर्थिक, विकासको प्रक्रियामा तल्लो तहमा कष्टकर जीवन भोगिरहेका जनताका अधिकार र हितसँग रोजगारीका जनताका अधिकार र हितसँग रोजगारीका अवसर सहज गरेको समाजवादको परिकल्पनाले सार्थकता पाउन सक्दैन भन्ने सोच नेतृत्वले कहिल्यै राख्न सकेनन् ।

मर्यादित जीवनका पाँच आधार समतामूलक समाज निर्माणका लागि शिक्षा, स्वास्थ्य, आवास, खाद्य सुरक्षा र रोजगारीलाई मूल रुपमा अगाडि सारी लोकतन्त्र नै वी.पी.को समाजवाद थियो । समाजवाद विना लोकतन्त्रको रटाइले मात्र गरिब जनताको पेट भरिँदैन । शोषणरहित समाजको कल्पना साकार पार्न सकिँदैन । त्यसैले कांग्रेसले आर्थिक र सामाजिक रुपान्तरणको पक्षमा आफूलाई बलियोसँग प्रस्तुत हुन सक्नुपथ्र्यो जुन हुन सकेन ।

जमिनमा आधारित अर्थ व्यवस्था भएकाले जमिनदारी र विर्ता प्रथा उन्मूलन गर्नका लागि राष्ट्रियकरण गरी क्रान्तिकारी भूमि सुधारलाई समाजवादको रुपमा बुझ्ने गरेको भएपनि अब यसको परिभाषा पनि परिमार्जन गर्नुपर्ने बेला भएको देखिन्छ । सबभन्दा पहिला क्रान्तिकारी भूमि सुधारको माग गर्ने विर्ता प्रथाको उन्मूलन, छुवाछुत प्रथाको अन्त्यको लागि आवाज उठाउने जस्ता थुप्रै सामाजिक असमानताका विरुद्ध आन्दोलन गर्ने काँग्रेसले आफ्नो नीतिलाई जनतामा स्थापित गराउन नसक्नु उसको वीपीपछिक चेलाहरुको समान्तवादी सोच नै हो भनेर भन्ने गरिन्छ ।

पछिल्लो समयमा आएर काँग्रेसमा अवसरवाद सामन्तवादी सोच अनि नव–आगन्तुक पाहुनाहरुको बोलवाला बढ्दै जानु । पैसाले संगठन किन्ने अनि कार्यकर्ता नचिन्ने प्रवृत्ति हावी हुँदै जाने क्रम बढेकाले पुराना निष्ठावान् क्षमतावान् कार्यकर्ताहरु ओझेलमा परेका गुनासाहरु सुन्ने गरिन्छ । पुरानो शक्तिशाली पार्टी भएकाले कांग्रेसले हिजो राजनीतिक नेतृत्व गरी मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापित गरेपछि पनि मुलुकलाई आर्थिक समृद्धिको दिशामा हिँड्न ठोस नीति र कार्यक्रमका साथ अघि बढ्न सकिराखेको छैन ।

आर्थिक र सामाजिक विकासको बाटोमा देशलाई सँगसँगै अघि बढाउन नसक्नु पनि उसको विगतका कमी–कमजोरी नै हो, भन्न सकिन्छ । वास्तवमा लोकतान्त्रिक आर्थिक विकासको बाटोमा नै वीपीले देखाएको समाजवादी गन्तव्यमा पुग्न सकिन्छ । विगतमा लामो समयसम्म नीतिमुखी नभएर नेतामुखी बन्दै आएको कांग्रेस गणतन्त्र स्थापना पश्चात् मात्र नीतिमुखी बन्ने क्रम भर्खर अघि बढ्दै छ । लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्न शान्ति संविधान र संघीयताको मुद्दामा प्रष्ट कार्यदिशा लिएर विगतमा अगाडि बढ्न नसक्नु विगतमा उसको कमीकमजोरी हो भन्नेहरु पनि प्रशस्तै भेटिन्छन् ।

राजनीतिमा आफूलाई प्रजातान्त्रिक समाजवादी र साहित्यमा अराजकतावादी ठान्ने वीपीको राजनीतिक, साहित्यिक र सामाजिक व्यक्तित्वका तीन धारबाट नेपाली समाज सदा अनुप्रेरित छ । एउटा सम्भ्रान्त परिवारमा जन्मिएर पनि सँधै सादा जीवन र उच्च विचारका धनी वीपी कोइराला २० औँ शताब्दीका विश्व प्रसिद्ध व्यक्तित्व बन्न सफल भएका थिए । देशको माटो र एउटा गरिब किसानको तस्वीर अगाडि राखेर मनोवैज्ञानिक रुपमा देशको राजनीतिक भविष्यको खाका कोर्ने वीपीले उस बेलामा नै समाज रुपान्तरण अघि बढ्नुपर्ने वाचा गर्नुभएको थियो । राजनीतिक संकीर्णताको गन्ध वीपीमा थिएन ।

राजनीतिक पूर्वाग्रह  पनि काँहि भेटिंदैन । वीपीले योजना बनाउँदा एउटा गरिब किसानको तस्वीर हेरेर योजना बनाउनुपर्ने तर्क राख्दथे तर अहिलेका कांग्रेसले महासामन्त र पूँजीपतिको तस्वीर हेरेर बजेट निर्माण गरे जस्तो देखिन्छ, विगतमा । वीपीले परिकल्पना गरेको प्रजातान्त्रिक समाजवादको मूल मार्ग निर्देशक पथमा हिँडिरहेको छ त ? राजनीतिका विचार र सिद्धान्त एकातिर राजनीतिक दलका व्यवहार र कार्य योजना अर्कातिर हुने गतिविधिले सबै दललाई यतिबेला गाँजेको देखिन्छ ।

मुलुकको बिंग्रदो राजनीतिक परिस्थितिको सही मूल्याङ्कन गरी भावी कार्य योजनाको लागि ठोस राजनीतिक निर्णय गर्दै संक्रमणकालीन विश्लेषण सहित नयाँ राहतका कार्य योजना बजेट मार्फत् निकास आउने जनअपेक्षा पनि निरासामा परिणत भएको छ, यतिबेला । जतिबेला विश्व दुई ध्रुव पूँजीवादी र साम्यवादी राजनीतिले गाँजेको समयमा दुईवटै वादको सूक्ष्म अध्ययन पश्चात् तटस्थ रही कुनै पनि गुटमा नलागी दुवै वादको सकारात्मक पक्षलाई मात्र समेटेर बीचको मध्यमार्गी बाटो प्रजातान्त्रिक समाजवादको बाटो अंगालेर मात्र नेपालको सामाजिक र आर्थिक प्रगति हुन सक्छ भन्ने मूल मार्गनिर्देशक आदेशका साथ स्वर्गीय महामानव वीपीले कांग्रेस पार्टीको स्थापना गरेका हुन् ।

वीपीले सोचेको मार्गमा अहिले कांग्रेस पार्टी हिँडेको छ कि छैन ? भन्ने विषय यति बेला खोज्नुपर्ने देखिन्छ । चुनावी परिणामलाई नियाल्दा हिजो स्थानीय तहको चुनावी परिणामलाई विश्लेषण गरेर नियाल्दा पनि करिब करिब खस्किदो अनि गिर्दो अवस्थामा रहेको देखिन्छ । लोकतन्त्रको मेरुदण्ड भनेकै आवधिक निर्वाचन हो ।

लोकतान्त्रिक अभ्यासमा परिणाम अनि गणितीय जोड घटाउमा हार जीतलाई भने स्वाभाविक रुपमा लिनुपर्ने हुन्छ । भावी दिनहरुमा अरु बढी जनताको विश्वास जित्न सामाजिक सुधारका कार्यहरुमा बढी सक्रिय भई लागि परेमा परिणाम आफ्नो पक्षमा पार्न लामो समय पर्खनु पर्दैन । राजनीतिक क्षेत्रमा लागि परेका जोसुकै व्यक्ति विशेषले धैर्य, विश्वास अनि सँधै आशावादी भएर पराजलाई सहर्ष स्वीकार गरी कमी–कमजोरीलाई सुधार्न सके मात्र आगामी दिनमा पुनः सकारात्मक सोचका साथ लागेको खण्डमा जनताका माझ पक्कै बस्न सकिन्छ भन्ने कुरा आजैका दिनबाट बुझ्न जरुरी छ ।

समय परिवर्तनशील छ, जसले गर्दा बदलिँदो समाज अनि समयले रोजेको र खोजेको बमोजिम अघि बढ्ने चेष्टा राखी नेतृत्व गर्दछ । त्यही व्यक्तिहरु जनतामाझ पुग्ने सामाथ्र्य राख्ने छन् । वर्तमानमा भए गरेका कमीकमजोरीहरुको सही मूल्याङ्कन गरी आगामी दिनका लागि र्मा निर्देशक एजेण्डाका रुपमा त्यसलाई स्वीकार गरी अघि बढ्ने प्रणका साथ सबैबीच हातेमालो गरी अघि बढ्न सके मात्र दल, नेतृत्व र कार्यकर्ताले राजनीतिक भविष्य सुन्दर हुने देखिन्छ ।  जय नेपाल !

तपाईको प्रतिक्रिया