कृष्ण जुनेली/  मुलुकमा छोटो समयमा एक पछि अर्काे ठुला परिवर्तनहरु हुँदै आएका छन । मुलुकको शासन शैलीलाई लिएर भएका यस्ता परिवर्तनहरु आफैमा संस्थागत हुन नसक्दा मुलुक लामो समय देखि राजनैतिक अस्थिरताबाट गुज्रीदै आएको छ । वि.सं. २०४६ पछि मुलुकमा राजनैतिक स्थायीरता कायम भई सामाजिक आर्थिक विकासले गतिलिने जनताले अपेक्षा गरेका थिए । तर ४६सालपछि बनेका प्राय सरकार आफनो कार्यकाल पुरा गर्न नपाइ फेरीएका छन जसले गर्दा राजनैतिक दलहरुको ध्यान विकास निर्माण भन्दा पनि सरकार बनाउने र गिराउनेमा केन्द्रीत भएको हो कि जस्तो देखिन्छ । अस्थिर राजनिति प्रति चौतर्फी चासो र चिन्ता बढेको पाइन्छ । मुलुकमा विधमान अस्थिर राजनितिले सवारी चालक गुरुजी र सवारी मालिकहरुलाई समेत छोएको देखिन्छ । सडकमा गुड्ने सवारी साधनका पिठिँउमा लेखिएका अभिव्यक्तिहरुले प्रष्ट पार्दछन ।
सधैभरि चक्काजाम, बन्द अनि हड्ताल ।
ढुगां हान्ने ,कुर्सी तान्ने यही हो नयाँ नेपाल ?
न २ ख ९८६३
दोस्रो जनआन्दोलनको संख्या पाएको २०६२।६३को आन्दोलनपछि स्थापित गणतन्त्रात्मक शासन प्रणालीपछि विकास निर्माण र समृद्धि तर्फ मुलुकलाई अघि बढाई नयाँ नेपाल वनाउने भन्दै भाषणा ठोक्ने दलका नेताहरुलाई कटाक्ष गर्दै देखियो तिमी नयाँ नेपाल भनेर प्रश्नवाचक चिन्ह तेछ्याएका छन गुरुजीहरुले । समयसमयमा एकले अर्कालाई कटाक्ष गर्दा अपरिपक्क बालबालिकाले झै बोल्ने नेताहरुलाई त्यही शैलीमा गिज्याउन पनि पछि पर्दैन गुरुजीहरु ।
नेताज्यु, देखियो नयाँ नेपाल पनि । म त खाइरहन्छु नि !
ना ४ख ३३८२
राजनैतिक परिर्वतनपछि मुलुकमा अवसरहरु र्सिजना हुने र रोजगारी पाउने आशामा विदेसीएका युवाहरु फर्किएपनि मुलुकमा व्याप्त राजनैतिक अस्थिरताले गर्दा अवसरको खोजीमा पुनः विदेसीनु पर्ने अवस्थालाई समेत मार्मिक रुपमा सवारी साधनको पिठिँउमा उतार्ने काम गरेका छन गुरुजीहरुले ।
सुधारियो नेपाल भनी आ को हतारैहतारमा ।
पाइन्छ दुःख नजाऊ है अब
त्यो खाडी मुलुक साउदी र कतारमा
देखियो नयाँ नेपालको ताल पनि ।
ना४ख २४७०
भौगोलीक दृष्टिकोणले समेत धेरै संभावनाहरु भएको मुलुक भएपनि ती अवसरहरुलाई सहि सदुपयोग गर्न नसकेका कारण मुलुक पछि परेको निष्कर्ष सहित यसरी कटाक्ष गर्छन गुरुजीहरु ।
हिमाल छ , पहाड छ , विभिन्न ताल छ ।
वुद्ध जन्मेको देशमा बुद्धिको अनिकाल छ ।
ना ४ ख १६१०
मुलुकमा पहिलो पटक प्रादेसीक स्वरुपमा निर्वाचन सम्पन्न भई सकेको छ । अब अधिकार सम्पन्न प्रादेसहरुले अवसरहरु र्सिजना गर्दै समृद्धिको बाटोमा लम्कने अपेक्षाहरु समेत गुरुजीहरुले संगालेका छन । त्यसैले पछेउटे पनलाई छोडी विकास निर्माणमा अघि बढ्न खवरदारी गर्दै सुझाउछन गुरुजीहरु
मान्छे कहाँबाट कहाँ पुगिसक्यो ,
पिइसक्यो ब्रह्माण्ड नै तन्तनी ।
हामी नेपाली मक्ख छौं ,
समाई टुप्पी ,जनै अनि कन्दनी ।
न २ ख ५१५४
मुलुक नयाँ संरचना सहित अघि बढ्दै छ । जनताले धेरै आशा र अपेक्षा संगालेका छन ,अधिकार सम्पन्न स्थानीय तह , प्रदेससभा र प्रतिनिधिसभामा जनप्रतिनिधिहरु निर्वाचित भई सकेका छन । यिनीहरुसंगै नेपाल र नेपालीले समृद्धिको सपना देखि रहेका छन । त्यही भिडमा रहेका गुरुजी र सवारी मालिकहरु समेत रहेका छन । अव फेरी पनि गुरुजीहरुका गुनासो र आक्रोस मिश्रीत अभिव्यक्ति देखाउदै सडकमा पिठिँउ फर्काउदै सवारी साधन कुद्न बाध्य नहुन मेरो पनि कामना ।

तपाईको प्रतिक्रिया