इटहरी  । गणतन्त्र स्थापना भएपछि पहिलो पटक भएको प्रतिनिधिसभा तथा प्रदेससभामा मुलुकभर नेपाली काँग्रेस कम्जोर बनेपनि सुनसरीमा भने काँग्रेसले गुमाएको साख फिर्ता गर्न सफल भएको छ ।

पहिलो संविधानसभा भन्दा अगाडिका सवै संसदिय निर्वाचनमा नेपाली काँग्रेसले सुनसरीमा एक सिट बाहेक सवै जित्दै आएको थियो भने यस पटकको निर्वाचनमा पनि चार प्रतिनिधिसभा मध्ये तीन स्थानमा जित हात पार्दै गुमेको साख फिर्ता गर्न सफल भएको हो ।

नेपाली काँग्रेसका स्थापक नेता विपी कोइरालाको राजनैतिक कर्म थलोको रुपमा चर्चा पाएको सुनसरीमा एक दसक पछि काँग्रेसले आफ्नो गुमेको साख फिर्ता गर्न सफल भएको छ । काग्रेसका तत्कालिन सहमहामन्त्री विजयकुमार गच्छदार काँग्रेस छोडि मधेशी जनअधिकार फोरम नेपालमा प्रवेश गरेपछि सुनसरी काँग्रेस कम्जोर बन्न पुगेको थियो । २०६४सालको पहिलो संविधानसभामा ६ निर्वाचन क्षेत्र रहेको सुनसरीमा काँग्रेसले कुनै पनि स्थानमा विजय हासिल गर्न सकेको थिएन भने २०७०मा भएको दोस्रो संविधानसभाको निर्वाचनमा सुनसरी क्षेत्र नम्वर ४बाट नेपाली काँग्रेसका तर्फबाट सिताराम मेहताले मात्र बाजी मारेका थिए । सो समयमा गच्छदार मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका तर्फबाट सुनसरी ३ बाट विजयी भएका थिए । यस पटकको प्रतिनिधिसभाको निर्वाचन अघि विजयकुमार गच्छदार नेतृत्वको पाटी नेपाली काँग्रेसमा समायोजन भएपछि काँग्रेसले गुमेको साख फिर्ता गर्न सफल भएको हो । प्रतिनिधिसभाका ४ स्थान मध्ये यस पटकको निर्वाचनमा नेपाली काँग्रेसले क्षेत्र नम्वर २,३ र ४मा जित हात पारेको छ । क्षेत्र नम्वर २मा सिताराम मेहता , ३मा गच्छदार र ४मा ज्ञानेन्द्रबहादुर कार्कीले बाजी मारेका छन ।

तपाईको प्रतिक्रिया