सन्तोष न्यौपाने
झापा । झापामा पनि मतदाता शिक्षा कार्यक्रम प्रभावकारी हुन नसकेको समानुपातिकतर्फको मत बदरको अवस्थाले देखाएको छ ।
जिल्ला निर्वाचन कार्यालय झापाबाट प्राप्त विवरण अनुसार प्रतिनिधिसभा समानुपातिकतर्फ खसेको मतको झण्डै ११ प्रतिशत र समानुपातिकतर्फ खसेको मतको १७ प्रतिशतभन्दा बढी मत बदर भएको छ । सबैभनदा बढी मत झापा क्षेत्र नं ३ मा भएको छ । सबैभन्दा कम बदर क्षेत्र नं २ मा भएको छ ।
विवरण अनुसार प्रतिनिधिसभा समानुपातिकतर्फ झापा क्षेत्र नं १ मा ७५९८६ मत खसेकोमा ५५०३ मत अर्थात ७.८१ प्रतिशत, २ मा ८४६४९ मत खसेकोमा ५०१९ अर्थात ६.३०, क्षेत्र नं ३ मा ८३०९३ मत खसेकोमा ८१२५ अर्थात १०.८४, क्षेत्र नं ४ मा ७७२१५ मत खसेकोमा ६१२५ अर्थात ८.८२ र क्षेत्र नं ५ मा ९६०४४ मत खसेकोमा ६४८० मत अर्थात ७.२४ प्रतिशत मत बदर भएको छ । प्रत्यक्षतर्फको भन्दा समानुपातिकतर्फको मत बदर अनुपात झण्डै दोब्बर रहेको निर्वाचन कार्यालय प्रमुख गोपाल आचार्यले बताए ।
यसैगरी, प्रदेशसभातर्फ, क्षेत्र १ को १ मा ११.१६ र २ मा १२.२१, क्षेत्र नं २ को १ मा ९.४९ र २ मा १०.५३, क्षेत्र नं ३ को १ मा १७.२१ र २ मा १४.९४, क्षेत्र नं ४ को १ मा १३.२७ र २ मा १३.१९ तथा क्षेत्र नं ५ को १ मा १३.१९ र २ मा ८.९२ प्रतिशत मत बदर भएको छ ।
मतदाता शिक्षा प्रभावकारी हुन नसक्दा र झापामा तीन पार्टीबीचको गठबन्धनका कारण पनि समानुपातिकतर्फको मत बढी वदर भएको हुनसक्ने बताइएको छ ।
झापामा समानुपातिकतर्फ एमाले अगाडि
समानुपातिकतर्फको मत परिणाममा झापामा पनि नेकपा एमाले अगाडि देखिएको छ । देशभरको मतपरिणाममा नेपाली कांग्रेसभन्दा एक लाखको हाराहारीमा बढी मत ल्याएको एमालेले झापाबाट मात्रै कांग्रेसलाई लगभग ४० हजार मतले पछि पारेको छ । झापामा नेपाली कांग्रेसले १२१४८९ मत ल्याउँदा एमालेले १६०६३९ मत प्राप्त गरेको छ । तेस्रोमा नेकपा माओवादी केन्द्रले ३३३९९ मत ल्याउँदा चौथो स्थानमा रहेको राप्रपाले ३२८२० मत प्राप्त गरेको छ ।
क्षेत्र ३ मा कांग्रेस अगाडि जिल्लामा समानुपातिकतर्फ पनि नेकपा एमाले पहिलो स्थानमा रहँदा झापा क्षेत्र नं ३ मा भने नेपाली कांग्रेस अगाडि छ । यस क्षेत्रमा नेपाली कांग्रेसले एमालेभन्दा ६११४ मत बढी ल्याएको छ । एमालेले १९८२९ मत ल्याउँदा कांग्रेसको २५७१५ मत ल्याएको छ । क्षेत्र नं ३ मा राप्रपा तेस्रो स्थानमा छ । उसले १६१६८ मत ल्याउँदा माओवादी केन्द्रले ७४८६ मत ल्याएको छ ।
क्षेत्र नं १ मा एमालेको २९४२०, कांग्रेसको २४६७८, माओवादी केन्द्रको ७६३३ र राप्रपाको १६३३ मत आएको छ भने क्षेत्र नं २ मा एमालेको ३६८७८, कांग्रेसको २६३८५, माओवादी केन्द्र ५७०१ र राप्रपाको ३६४१ मत आएको । क्षेत्र नं ४ मा एमाले ३२२८७, कांग्रेस २२१३४, माओवादी केन्द्र ६२१९ र राप्रपाले २३१९ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र रहेको क्षेत्र नं ७ मा एमाले ४२२२५, कांग्रेस २२५८५, माओवादी केन्द्र ६३५२ र राप्रपाले ९०५९ मत ल्याएको छ । यस क्षेत्रमा पनि राप्रपाले माओवादी केन्द्रलाई उछिनेको छ ।

तपाईको प्रतिक्रिया